७ वैशाख २०८१ शुक्रबार
समाज

वन र निकुञ्जमा सुरक्षाकर्मीको गस्ती

कोरोना भाइरसको जोखिमबाट जोगिन र जोगाउन यार्सागुम्बा सङ्कलनमा रोक लगाएपछि डोल्पाका पाटनमा सुरक्षाकर्मीले गस्ती शुरु गरेका छन् । सामुदायिक वन समूहमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गस्ती गरिररहेका छन् ।

यार्सागुम्बालगायत अन्य बहुमूल्य जडिबुटीको चोरी निकासी रोक्नका लागि युद्धस्तरमा गएर गस्ती शुरु गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सुरक्षा नेपाली सेनाले गर्दै आएको छ । हप्ता दिनअघि यार्सागुम्बा चोरीका लागि उपल्लो डोल्पामा केही व्यक्ति फेला परेपछि गस्ती कार्यलाई थप कडाइ गरिएको छ ।

 जाजरकोट, डोल्पा, रुकुमपश्चिम र जुम्लालगायतका जिल्लाका स्थानीयवासी डोल्पामा यार्सागुम्बा सङ्कलनका लागि डोल्पा जाने गरेका थिए । यार्सागुम्बा रोक लगाएसँगै यहाँका सबै स्थानीयवासी रोकिएका छन् ।  

कोरोना भाइरसका कारण पहिलोपटक बन्द गरिएका डोल्पाका यार्सा पाटनमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरी सबै नाकासमेत बन्द गरिएको छ । बाहिर जिल्लाबाट र जिल्लाभित्रका मानिसले लुकीछिपी चोरी गर्ने भएकाले रोक्नका लागि पाटनमै नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको क्याम्प राखिएको प्रमुख जिल्ला अधिकारी सुनारले जानकारी दिए ।  

जिल्लामा रहेका डिभिजन वन कार्यालयअन्तर्गतका सामुदायिक वनमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको छ भने शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जअन्तर्गतका मध्यवर्ती क्षेत्रका वनमा नेपाली सेना र निकुञ्जका कर्मचारी परिचालन गरिएको छ । सामुदायिक वनमा जगदुल्ला गाउँपालिकामा १०, ठूलीभेरी नगरपालिकाको माझफालमा २०, छार्कामा २० र काइके गाउँपालिकाको ठाँगेमा १० गरी ६० सशस्त्र प्रहरी यार्सा पाटनमा पठाएको सशस्त्र प्रहरी बल ४६ नं गुल्मका प्रमुख प्रहरी नायब उपरीक्षक चेतसिंह थापाले जानकारी दिए।  

सामुदायिक वनमा पनि प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको समेत उनले जानकारी दिए । “हामीले स्थानीय सरकार र सामुदायिक वनका प्रतिनिधिसँगको सहकार्यमा यार्सा पाटनको सुरक्षा गर्नेछौँ, चोरीका कुनै पनि क्रियाकलाप हुने छैनन्, यसमा सुरक्षाकर्मीलाई स्थानीयवासीले पूर्णरुपमा साथ दिएका छन्”, उनले भने।  

त्यसैगरी नेपाल प्रहरीले पनि आफ्नो टोली यार्सागुम्बा पाटनमा परिचालन गरिसकेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए । रञ्जितकारले जिल्लाको माझफालमा १४, जगदुल्लामा ११, ठाँगेमा १०, नावरपानीमा १० र छार्काको तालपाटनमा १० जना गरी ५० प्रहरी सम्बन्धित क्षेत्रमा पुगेर नियमित गस्ती गरिरहेको उनको भनाइ छ । अन्य चौकीमा पनि प्रहरी पुगेकाले यार्सागुम्बा पाटनको सुरक्षामा कुनै कमी नभएको दाबी उनले गरे ।

 अघिल्ला वर्षहरुमा जेठको १० गतेपछि जिल्लाका सबै यार्सा पाटन खुला गर्ने गरिएको भए पनि यस वर्ष भने कोरोना भाइरसका कारण जिल्लाका सबै पाटन बन्द गरिएकाले नेपाली सेना, प्रहरी र स्थानीयवासीको पहलमा यार्सा पाटन चोरी गर्नबाट जोगाइरहेको प्रमुख जिल्ला अधिकारी सुनारले जानकारी दिए।

 शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जअन्तर्गतका सबै पाटनमा एक साता पहिलेदेखि नै नेपाली सेनाको टोलीले सुरक्षा दिइरहेको र थप सुरक्षा व्यवस्था बढाइरहेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिए ।

डोल्पामा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जअन्तर्गतका मध्यवर्ती क्षेत्रका वन र डिभिजन वन कार्यालयअन्तर्गतका सामुदायिक वन गरी दुई किसिमका वनमा यार्सागुम्बा पाइने गर्दछ । लकडाउनको मौका छोपी चोरी निकासी गर्ने कार्यसमेत रोकिएको उनको भनाइ छ । भूगोलका हिसाबले डोल्पा ठूलो जिल्ला हो । छिमेकी मुलुक चीनसँग सिमाना जोडिएको डोल्पा जाजरकोट, रुकुम र जुम्लासँग समेत सीमा जोडिएको छ ।

प्रकाशित: ७ जेष्ठ २०७७ ०४:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App