१९ जेष्ठ २०७७ सोमबार
समाज

‘हामीलाई घर जान देउ, नत्र मारिदेऊ’

दाङका इँटा उद्योगमा कार्यरत मजदुरको पीडा

घर जान पाउनुपर्ने भन्दै आन्दोलनमा उत्रिएका इँटा उद्योगमा कार्यरत भारतीय मजदुर । तस्बिरः नागरिक

२३ वैशाखमा दाङस्थित एक इँटा उद्योगमा कार्यरत १ सय बढी भारतीय मजदुर लुकिछिपी भारत पस्न खोज्दै थिए । इँटा उद्योगबाट पैदल हिँडेर देउखुरी लमही ९ स्थित जलकुण्डीको जंगलमा लुकेर बसेका उनीहरुका बारेमा स्थानीयले थाहा पाएलगत्तै प्रहरीलाई खवर गरे । स्थानीयको जानकारीपश्चात इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले १ सय १० जना उनीहरुलाई अघि बढ्न दिएन र त्यहीँबाट दाङ फिर्ता भए ।

केही दिनअघि दाङकै विभिन्न इँटा उद्योगबाट तीनवटा बसमा भारतीय मजदुर भारत जानका लागि हिँडे । नेपाल–भारत सीमाक्षेत्र रुपैडिहासम्म उनीहरु पुगे तर त्योभन्दा अगाडि बढ्न सकेनन् र फिर्ता भए । ‘सुरुमा अमिलियाबाट प्रहरीले फिर्ता गरायो, अनि तीनवटा बसमा भारतीय मजदुर जान खोज्दै थिए, उनीहरु पनि रुपैडिहाबाट फिर्ता भए,’ दाङ जिल्ला इँटा व्यवसायी समितिका अध्यक्ष रोम ओलीले भने ।  

लकडाउनका कारण जिल्लाका इँटा उद्योग ठप्प प्रायः छन् । उद्योगमा काम नभएपछि झण्डै दुई महिनासम्म उद्योगमा कार्यरत मजदुरहरु बेरोजगार बनेर बसेका छन् । ‘हामीहरु उद्योगमा काम गर्नका लागि भारतबाट आएका हौं, लकडाउनका कारण काम सबै ठप्प भयो,’ नारायणपुरस्थित एक इँटा उद्योगमा कार्यरत विश्वनाथ चौहानले भने, ‘न यहाँ काम छ, न खानका लागि जोहो गर्ने अरु उपाय नै छ ।’ आफूहरु भारतीय भएका कारण उनीहरुलाई बाहिर निस्केर अन्य काम गर्नसमेत सहज छैन । स्थानीयले उनीहरुलाई बाहिर ननिस्कन भनेका छन् । ‘लामो समय भैसक्यो काम नभएको, कामै नभएपछि हामीहरुको कमाइ हुने कुरै भएन,’ चौहानले भने, ‘यस्तो अवस्थामा हामीहरु भोकै मर्ने अवस्था आउन थालिसक्यो, हामीहरुलाई घर फर्कने व्यवस्था गरिदिए आनन्द मान्थ्यौँ ।’

लकडाउनका कारण ‘न काम, न माम’ को अवस्था जिल्लामा रहेका इँटा उद्योगमा कार्यरत भारतीय मजदुरले झेलिरहेका छन् ।  भारतस्थित घर जानका लागि पटकपटकका प्रयास पनि असफल भएपछि मजदुरहरुको आक्रोश चुलिएको छ । उनीहरु मंगलवार नाराबाजी गर्दै आफूहरुलाई घर फर्किने वातावरण निर्माण गरिदिन दबाब दिएका छन् । सैयौँको संख्यामा नाराबाजी गर्दै घोराही १२ बाट निस्किएका उनीहरु घोराही १० नारायणपुरसम्म पुगेका थिए तर प्रहरीले रोकेको थियो ।  

‘कि त हामीहरुलाई घर जान देऊ, नत्र गोली हानेर मारिदेऊ,’ मंगलवार आन्दोलन गरेका उनीहरुले भने, ‘हामीहरु घर फर्कन चाहन्छौं, जे जस्तो भए पनि घरमै पुगेर मर्छांै ।’ कामविहीनताको अवस्थामा आफूहरुको आयस्रोत  ठप्प भएको र साँझ बिहानसमेत छाक बसिसकेको उनिहरुले वताए । ‘हामीहरुको छाक बसिसक्यो,’  सुनिता चौहानले रुँदै भनिन्, ‘हामी मरे पनि घरमै पुगेर मर्छौ, हामीहरुलाई घर जान दिनुपर्यो ।’ उनिहरुले भारतबाट आउने नेपालीलाई सीमाक्षेत्रमा अवरोध नहुने तर आफूहरुलाई भारत पस्न किन नदिने भन्दै प्रश्नसमेत गरेका छन् । 

भारतीय क्षेत्रमा रोकिएका नेपालीहरुलाई जिल्लामा भित्र्याउनका लागि अहिले जिल्लाका सबै स्थानीय तहहरुले तयारी स्वरुप क्वारेन्टिनको व्यवस्थापन गरिरहेका छन् । ‘भारतको सीमाक्षेत्रमा अड्किएकालाई नेपाल आउन मिल्ने , तर हामीहरुलाई नेपालबाट आफ्नो घरमा किन जान नदिने ?’ घोराही १० स्थित मनकामना इँटा उद्योगमा कार्यरत भारत बाबागन्जका मजदुर शोभाराम चौहानले भने, ‘हामीहरु के मानिस हैनौँ?’ उनले आफ्नो छोरानको निधन हुँदासमेत घर जान नपाएको भन्दै दुखेसो पोखे । चैत अन्तिम साता उनको १० दिनको छोराको निधन भएको थियो ।  

इँटा व्यवसायी समितिका अनुसार एउटा उद्योगमा दुई सयभन्दा बढी मजदुर छन् । यीमध्ये अधिकांश भारतीय हुन् । लकडाउनका कारण उनीहरु घर जान पाएका छैनन् । उद्योगको कामसमेत रोकिएकाले दैनिक रोजिरोटीसमेत खोसिने अवस्थामा पुगिसकेको छ । ‘अहिलेसम्म हामीहरु आफैंले यी मजदुरको खानपानको व्यवस्थापन गरिरहेका छौँ,’ समितिका अध्यक्ष ओलीले भने ‘लम्बिँदो लकडाउनका कारण यति ठूलो संख्यामा रहेका मजदुरलाई खानपानको व्यवस्थापन गर्न हामीहरुलाई पनि ठूलो चुनौती बनिरहेको छ, यसर्थ मजदुरलाई जतिसक्यो चाँडो घर फर्कने व्यवस्थापन गरिदिए धेरै राम्रो हुने थियो ।’ उद्योगमा अलपत्र परेका यी मजदुरहरुलाई आफ्नै लगानीमा घर फर्काउने समेत व्यवसायीको भनाइ छ ।  

प्रकाशित: ७ जेष्ठ २०७७ ०८:२० बुधबार

खुशी 0%
दुखी 100%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App