coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

प्रदेश २ मा बढ्दै संक्रमित, थपिँदै चुनौती

प्रदेश २ मा संक्रमित संख्या १३७ पुगेको छ।

धनुषाको जनकपुर उपमहानगरपालिकाका २ जनामा कोरोना पुष्टि भएसँगै प्रदेश २ मा संक्रमित संख्या १३७ पुगेको छ । सोमबार राति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनकपुरका दुईजनामा कोरोना संक्रमण पुष्टि गरेको हो ।  

भारतबाट फर्केका ती दुवैजना नगराइन नगरपालिकाको गंगुलीमा सञ्चालित प्रादेशिक क्वारेन्टिनमा बसेका थिए । जनकपुर उपमहानगरपालिका–६ स्थित चामल थोक बिक्री केन्द्रका सञ्चालक ४५ वर्षीया पुरुष वैशाख ३१ गते भारतको हरियानाबाट फर्केको क्वारेन्टिन संयोजक सन्तोषकुमार ठाकुरले बताए । जनकपुर–५ घर भएका उनी होलीको पर्सिपल्ट हरियाना गएर वैशाख ३१ मा फर्केका थिए । लकडाउनका कारण उनी हरियानाको होटलमा ४० दिन बसेका थिए । लकडाउन नखुल्ने देखेपछि उनी हरियानामै चामल खरिद गरी चामलसहितको ट्रकमा महोत्तरीको सीमानाका भिठामोड आएका थिए । भिठामोडबाट चामलको ट्रक मात्र प्रवेश गर्न पाएपछि उनी बथनाहा मौवाही नाकाबाट पैदल हिँडेर सीमा प्रवेश गरेका थिए । वैशाख ३१ गते घरमै बसेका उनी  जेठ १ मा छरछिमेकको दबाबमा क्वारेन्टिनमा भर्ना भएको संयोजक ठाकुरले बताए । जेठ २ मा उनको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।

संक्रमित अर्का २१ वर्षीय युवक जनकपुर–२१ निवासी हुन् । उनी चैत ९ गते भारत बिहार राज्यको बिहारीस्थित मामा घर गएका थिए । लकडाउन नखुल्ने देखेपछि उनी वैशाख ३१ मा चोरबाटोबाट गाउँ प्रवेश गरेका थिए । छरछिमेकको दबाबमा उनी जेठ १ गते प्रादेशिक क्वारेन्टिनमा भर्ना भएका थिए । जेठ २ गते उनको स्वाब संकलन गरी परीक्षणका लागि पठाएको थियो । दुवैको रिपोर्ट पोजेटिभ आएपछि कोभिड विशेष अस्पताल जनकपुरको आइसोलेसनमा उपचार भैहरेको छ ।

थपिँदै चुनौती

प्रदेश २ मा मंगलबारसम्म कोरोना संक्रमितको संख्या १३७ पुगेको छ । संक्रमित बढेसँगै अस्पतालमा उपचार उपकरण, सामग्री र जनशतिm अभाव खड्किन थालेको छ । यस प्रदेशमा १३ सय शड्ढयाका १३ वटा सरकारी अस्पताल छन् । जसमा ७० जना मात्र कन्सल्ट्यान्ट फिजिसियन छन् । चिकित्सकसँगै उपकरण अभावले प्रदेश २ मा कोरोनाविरुद्ध लडाइँ सजिलो देखिँदैन ।

मुख्यमन्त्री लालबाबु राउतले कोरोना संक्रमितको उपचारमा कुनै कमी हुन नदिने भनेर प्रदेशवासीलाई ढुक्क बनाएका छन् । तर उपचारका लागि आवश्यक जनशक्ति र उपकरण अभावले मुख्यमन्त्रीको ढाडसअनुसार काम हुनेमा प्रदेशवासी सशंकित छन् । स्वास्थ्य केन्द्रको भद्रगोल अवस्थाले सरकारकारलाई हैरान बनाएको छ ।

प्रदेश सरकारले नारायणी अस्पताल वीरगन्ज, प्रदेश २ कोभिड अस्पताल जनकपुर र गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराजलाई कोरोना संक्रमितको उपचारका लागि तयार गरेको छ । जसमध्ये प्रदेश कोभिड अस्पताल जनकपुरमा ८ आइसियू र ४२ वटा आइसोलेसन शड्ढया तथा नारायणी अस्पताल वीरगन्जमा ५ आइसियू र ७१ वटा आइसोलेसन शड्ढया छन् । गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा आइसियू सेवा छैन । त्यहाँ १८ वटा आइसोलेसन शड्ढया छन् ।  

प्रदेशका अन्य सरकारी अस्पतालमा ७ वटा भेन्टिलेटर भए पनि  चालू भने चारवटा मात्र छन् । प्रदेशमा भेन्टिलेटर सञ्चालन गर्न चाहिने जनशक्तिसमेत अभाव छ ।  

कोरोना संक्रमित बढ्दै गएसँगै उपचारका लागि आवश्यक डाक्टरसमेत अभाव हुने देखिएको छ । अभावपूर्तिका लागि प्रदेश सरकारले जनशक्ति माग गरेको छ । प्रदेश २ कोभिड अस्पतालका प्रमुख डा.जामुन सिंहका अनुसार सरकारले डाक्टर, नर्स माग गरेको छ । सरकारले शतप्रतिशत बोनस दिएर डाक्टर, स्वास्थ्यकर्मी र नर्स भर्ना गर्न लागेको उनले बताए ।

शड्ढया अभाव

प्रदेश २ मा कोरोना संक्रमितको संख्या थपिँदै गएसँगै व्यवस्थापन तथा उपचारमा जटिलता थपिएको छ । अस्पतालहरूमा शड्ढया अभाव हुन थालेपछि क्वारेन्टिनलाई आइसोलेसनमा परिणत गरिँदैछ ।

नारायणी अस्पतालका प्रमुख डा. मदन उपाध्यायका अनुसार अस्पतालका ७१ वटा आइसोलेसन बेड भरिएपछि बाँकी संक्रमितलाई  सिद्धार्थ स्कुलमा रहेको क्वारेन्टिनलाई आइसोलेसनमा परियात गरी व्यवस्थापन गरिएको छ । ‘अहिले आइसोलेसन बेडमा भर्ना भएका सबै लक्षणबिनाका संक्रमित छन् । ‘उनीहरूमा कुनै स्वास्थ्य समस्या देखिएको छैन’, डा. उपाध्यायले भने, ‘सरकारले अब लक्षणबिनाका संक्रमित र लक्षणसहितका संक्रमितको उपचारका लागि छुट्टै मापदण्ड बनाउनुपर्छ । लक्षणबिनाका संक्रमित अस्पतालको आइसोलेसन बेडमा भर्ना भएपछि स्वास्थ्य समस्या गम्भीर भएर आउने संक्रमितको उपचारमा समस्या आउँछ ।’  

नारायणी अस्पतालको आइसोलेसन कक्षमा रौतहट, बारा र पर्साका संक्रमित छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको डा. उपाध्यायले बताए ।  

नारायणी अस्पतालको क्षमताभन्दा बढी संक्रमित भएपछि प्रदेश सरकारले रौतहट र बारामा समेत आइसोलेसन कक्ष तयार गरी भर्ना लिन थालेको छ । रौतहटको गौर नर्सिङ इन्स्टिच्युटको आइसोलेसन कक्षमा १८ जना र बाराको कलैया अस्पतालको आइसोलेसन कक्षमा २ जना संक्रमित भर्ना भएको  सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताए । प्रदेश २ मा ९१ जना पर्साका, २२ जना रौतहटका, ८ जना धनुषाका, बाराका ४ जना, सर्लाही र महोत्तरीका ३÷३ जना, सिरहा र सप्तरीका १÷१ जना संक्रमित अस्पताल भर्ना छन् । दुई संक्रमित निको भएर घर फर्किसकेका छन् । धनुषा, रौतहटका चार संक्रमितको  काठमाडौंमा उपचार भइरहेको छण् ।  

गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालका प्रमुख डा. चुमनलाल दासका अनुसार अस्पतालको ओपिडी कक्ष अन्यत्र सारेर आइसोलेसन कक्ष विस्तार गरिएको छ । ‘धेरै गाह्रो भइरहेको छ,’ उनले भने, ‘एकैचोटी धेरै संक्रमित भेटिए राख्न ठाउँ अभाव हुन सक्छ । भारतबाट आउने क्रम जारी रहेकाले संक्रमितको संख्या बढ्दै जाने पक्का छ । अस्पतालमा आइसियू र भेन्टिलेटर भइदिए ढुक्कसँग संक्रमितको उपचार गर्न सकिन्थ्यो । भेन्टिलेटर मात्र भएर पनि हुँदैन, चलाउने जनशक्ति पनि चाहिन्छ ।’

प्रकाशित: ७ जेष्ठ २०७७ ०२:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App