१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कोरोना संक्रमित युवालाई उपचारका लागि वीराटनगर पठाइयाे

खोटाङ

कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका २० वर्षीय युवालाई उपचारका लागि बिराटनगर पठाइएको छ । काठमाडौंबाट गत बैसाख १२ गते आएका युवालाई कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएपछि उनलाई मंगलबार उपचारका लागि बिराटनगरस्थित कोरोना अस्पताल पठाइएको हो । सोमबार साँझ कोरोना भाइरसको संक्रमण भएको पूष्टी भए पनि उनलाई मंगलबार पाँच बजे मात्र बिराटनगर पठाइएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । कोरोना भाइरसको संक्रमण भए÷नभएको यकिन गर्नका लागि नगरपालिकाबाट बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएका ३३ जनाको स्वावमध्ये उनको पिसिआर रिपोर्ट पोजिटिभ आएको थियो । संक्रमण भएको पुष्टी भएपछि उनलाई आइसोलेसनमा राखिएको थियो । कोरोना संक्रमित युवा फेला परेसँगै खोटाङ पनि ‘रेडजोन’ मा परेको छ ।  

संक्रमित युवा काठ्माण्डौंको पेप्सीकोला बस्दैआएका थिए । शहरमा बसिरहेको अवस्थामा लकडाउनको मारमा परेका स्थानीयलाई नगरपालिकाले उद्धार गरेर गाउँ ल्याउनेक्रममा उनी बा ४ ख २२११ नम्बरको बसमार्फत गाउँ आएका थिए । नगरपालिकाले सर्वदलीय निर्णय अनुशार १४ दिन होम क्वारेन्टाइनमा बस्ने शर्तमा लकडाउनको मारमा परेका १ हजार २६७ नागरिकलाई काठ्माण्डौंबाट नगरपालिका भित्र्याएको थियो । संक्रमित युवासँग नगरपालिका भित्रकै ३८ जनाले यात्रा गरेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । उनीसँगै एउटै सिटमा यात्रा गरेका व्यक्तीको पिसिआर रिपोर्ट भने नेगेटिभ देखिएको बताइएको छ ।  

पिसिआर टेष्टका लागि थप ४३ जनाको स्वाव पठाइए  

यसैबीच, कोरोना संक्रमित फेला परेसँगै हलेसी तुवाचुङ नगरपालिकाबाट पिसिआर टेष्टका लागि थप ४३ जनाको स्वाव संकलन गरेर पठाइएको छ । संक्रमित युवाको परिवारका आठ जना, उनी सँगै बसमा यात्रा गरेका व्यक्ती, उनको प्रत्यक्ष सम्पर्क र भेटघाटमा पुगिसकेका छिमेकी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको पिसिआर टेष्टका लागि स्वाव पठाइएको हो । संकलित स्वाव संक्रमित युवालाई बोकेकै एम्बूलेन्समा बिराटनगर पठाइएको नगरपालिकाका स्वास्थ्य शाखा सह–संयोजक प्रकाश घिमिरेले बताए । होम क्वारेन्टाइनमा बसेपछि उनी गाउँकै खानेपानी योजनाको काममा संलग्न भएकाले सो आयोजनाको काममा संलग्न व्यक्तीको पनि पिसिआर टेष्टका लागि स्वाव पठाइएको छ ।  

कोरोना संक्रमित फेला परेसँगै नगरपालिका सिल  

कोरोना संक्रमित फेला परेसँगै हलेसी तुवाचुङ नगरपालिकालाई सिल गरिएको छ । काठ्माण्डौंबाट आएका २० वर्षीय युवालाई कोरोना भाइरसको संक्रमण भएको पूष्टी भएपछि नगरपालिकालाई सिल गरिएको हो । संक्रमित फेला परेसँगै नगरपालिका प्रवेश गर्न र बाहिरिन रोक लगाइएको मेयर राईले बताए । नगरपालिकाभित्र सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ ।  

यस्तै, संक्रमित युवा भेटिएपछि महादेवस्थानको हलेसीबजारलाई पूर्णरुपमा सिल गरिएको छ । बिहान र बेलुका अत्यावश्यक सामग्री किनमेलका लागि हलेसीबजार खुला गर्ने गरिएको भए पनि मंगलबार बिहानदेखि पूर्णरुपमा ठप्प पारिएको नगरपालिकाले जनाएको छ । हलेसीमा हिँडडुल गर्न, सवारी साधन चलाउन पूर्णरुपमा रोक लगाइएको छ । यस्तै, संक्रमित युवाको घरलाई पनि सिल गरिएको उपमेयर बिमला राईले बताईन् ।  

प्रकाशित: ६ जेष्ठ २०७७ १२:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App