८ वैशाख २०८१ शनिबार
समाज

क्वारेन्टिनबाटै संक्रमणको खतरा

कोरोना रोकथाम एवम् नियन्त्रणको लागि बाहिरबाट आएकाहरुलाई क्वारेन्टिनमा राखिन्छ तर तिनै क्वारेन्टिन व्यवस्थिति नहुँदा संक्रमणको जोखिम छ । क्वारेन्टिन भनेको संक्रमण अवधिभर आशंकितलाई छुट्टै राखेर रोगको निदान गर्ने परीक्षण विधि हो । तर यहाँ परीक्षण होइन, मानिसहरूलाई थुन्नका लागि राखिएको छ । क्वारेन्टिनमा पालना गर्नुपर्ने कुनै नियम पालना भएको छैन, जसले गर्दा संक्रमण नभएकालाई पनि संक्रमण हुने संभावना देखिएको हो ।

सुदूरपश्चिममा १२ जना क्यारेन्टिनमा
सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा विद्यालय, सामुदायिक भवन, खाली भवनहरुमा बाहिरबाट आएका नागरिकलाई क्वारेन्टिन गरिएको छ । सुदूरपश्चिम प्रदेशमा १० हजार दुई सय ९६ बेडको क्वारेन्टिन रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाएको छ । मंगलबार कैलाली ५ सय ६७, कञ्चनपुर ३ सय १० , डोटी ९, बैतडी २ सय ६१ बझाङ १ सय ४०, बाजुरा ७१, अछाम १ सय १३, डडेल्धुरा १ सय १९ र दार्चुला ८९ जना गरी १ हजार ६ सय ७९ जना क्वारेन्टिनमा बसेका छन् ।

कुनै स्थानीय तहले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र खाना बनाउन अलग्गै जनशक्ति परिचालन गरेको छ भने अधिकांश क्वारेन्टिनमा बसेकाहरुले पालैपालो खाना बनाउने गरेका छन् । अलगअलग ठाउँबाट आएका उनीहरु सँगै खाना खाँदा झन संक्रमित नभएको व्यक्तिलाई पनि संक्रमणको संभावना भएको बार एसोसिएसन बैतडीका सचिव अधिवक्ता लक्ष्मीदत्त पाण्डेय बताउँछन् ।

बैतडीका स्थानीय तहले निर्माण गरेका अधिकांश जिल्लाका क्वारेन्टिन मापदण्ड अनुसार छैनन् । एउटै शौचालय, एउटै धारा प्रयोग गर्दा क्वारेन्टिनबाट संक्रमणको जोखिम बढी देखिएको स्वास्थ्यकर्मी बताउँछन् । भारतले लकडाउन खुकुलो गर्दै घर फर्कनेलाई सजिलो बनाएपछि भारतका विभिन्न ठाउँमा काम गर्दै आएका नेपाली फर्कने क्रम दिनहुँ बढदै गएको छ । अझै गौरीफन्टा, पलिया, बनबासा, झुलाघाट, धार्चुला लगायतका सीमावर्ती क्षेत्रमा नेपाल फर्कने प्रतिक्षामा हजारौंको संख्यामा छन् ।  

भारतका रेडजोन एरियाबाट आएकाहरुबाट नेपालमा संक्रमण देखिएकाले सुदूरपश्चिममा पनि जोखिम बढ्दै गएको छ । धेरैलाई उद्धार गरी सम्बन्धित स्थानीय तहमा पठाइएको छ । धनगढीको त्रिनगर नाकाबाट ल्याइएका नेपालीहरुलाई सम्बन्धित पालिकाको समन्वयमा पठाउने गरिएको धनगढी उपमहानगरपालिकाका मेयर नृप वडले बताए । समन्वय हुन नसकेका ठाउँका नागरिकलाई यहाँकै क्वारेन्टिनमा राखेर स्वास्थ्य जाँचपछि पठाउने गरिएको उनले बताए ।  

सुदूरपश्चिममा पाँच जना कोरोना संक्रमित देखिएका थिए । कैलालीमा चार र कञ्चनपुरमा एक जना संक्रमित उपचारपपछि कोरोना जितेर घर फर्किका छन् । पछिल्लो समय सुदूरपश्चिममा कोरोना संक्रमित नदेखिए पनि विदेशबाट आउने बढ्दो क्रम र जाँचको दायरा बढाउँदा भेटिन सक्ने सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक गुणराज अवस्थी बताउँछन् ।

जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टिनमा एक रात ढोकामै प्रहरीले ताला लगाउनु पर्‍यो । क्वारेन्टिनमा बसेकाहरु भाग्ने धम्की दिन थालेपछि प्रहरीले सुरक्षाको लागि ताला नै लगायो । कतिपय क्वारेन्टिनका ढोका नै छैनन् भने ढोका भएका कोठामा चुकुल छैनन् । जंगली जनावर पस्ने खतरा एकातिर छ भने महिलाहरु माथि बलात्कारका घटना पनि हुन सक्ने नागरिक समाज बैतडीका अगुवा करन दयालले बताए ।

स्थानीय तहले व्यवस्थापन गरिएका क्वारेन्टिनमा बस्दा संक्रमणको खतार बढ्दै गएको छ । बैतडी जिल्ला प्रशासन कार्यालय स्थानीय तहमा बनेका क्वारेन्टाइन एकिकृत गरेर प्रत्येक स्थानीय तहमा एक सय बेडको क्वारेन्टिन बनाउने निर्णय गरिए पनि जिल्लामा अधिकांश स्थानीय तहले मापदण्ड अनुरुप व्यवस्थापन गर्न सकेनन् । नत एकिकृत क्वारेन्टिन नै बनाएका छन् । अलगअलग ठाउँमा अव्यवस्थित ढंगका क्वारेन्टिनले संक्रमणको जोखिम बढाएको छ । अव्यवस्थित क्वारेन्टिनमा बस्दा कोरोना भाइरसको जोखिम बढेको छ । अन्य जिल्लाबाट आएका र भारतबाट आएका एउटै क्वारेन्टिनमा राख्दा अझ जोखिम बढेको हो । एउटै शौचालय, एउटै धारा र साबुन, सेनिटाइजर प्रयाप्त नहुँदा जोखिम निम्ताउन थालेको छ ।

यदि एक जनामा संक्रमण देखियो भने सबैलाई सर्न सक्छ, ‘भारतबाट सुरक्षित आयौं,’ दशरथचन्द नगरपालिकाको क्वारेन्टिनमा बस्दै आएका छायाँनाथ रारा नगरपालिका–१२  मुगुका सागर रोकायाले भने, यहाँ सबै जनालाई एउटै ठाउँमा राखिएको छ । अब संक्रमण हुने डर छ ।’ क्वारेन्टिानमा बस्ने सद्दे मान्छे पनि बिरामी हुने खतरा बढेर गएको छ । क्वारेन्टिनमा सुत्ने, खाने, दिन बिताउने र मनोरन्जनका सामग्रीको अभाव मात्रै होइन, एउटै शौचालयमा भीड लगाएर जानुपर्ने बाध्यतासमेत छ ।

भारतबाट आएका पुर्चौडी नगरपालिकाका करिब ९ सय जना १४ दिन क्वारेन्टिनमा बसेर आरडिटी गर्दे घर पठायो । आरडिटी नेगिटिम आए पनि उनीहरु ढुक्क छैनन् । वडा नं. ४ को महादेव मावि, बागामा ६८ जनासँगै बसेका थिए । आरडिटी नेगिटिभ आए पनि सँगै बस्दा कतै अरुबाट संक्रमितको आशंकाले चैनसँगब बस्न नसेको दीपक धानुकले बताए । ‘सरसफाइका सामग्री, मास्क, सेनिटाइजर कुनै व्यवस्था थिएन्,’ उनले भने, ‘एक जनामा भेटिएको भए सबैलाई पक्कै सथ्र्यो ।’  

क्वारेन्टिनमा हुनुपर्ने न्यूनतम मापदण्डसमेत नहुँदा समस्या भएको छ । क्वारेन्टिनमा बसेकाहरूबीच सामाजिक दूरी पालना गरिएको छैन । अधिकांश क्वारेन्टिनमा एउटैै कोठामा कोचिएर बस्ने गर्छन । जिल्लाकाको कोरोना रोकथाम तथा नियन्त्रण समितिले क्वारेन्टिन अनुगमन गरेर सुधारको लागि सुझाव दिँदै आएको बैतडीका प्रजिअ आनन्द पौडेलले बताए । 

प्रकाशित: ६ जेष्ठ २०७७ १२:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App