coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

‘घरबेटीले उपचारमा खटिनेलाई दुव्र्यवहार गरे कारबाही हुन्छ’

गृह मन्त्रालयले कोरोना भाइरस उपचारको अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि दुव्र्यवहार भए कडा कारबाही गर्ने चेतावनी दिएको छ । गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पछिल्लो समय कोरोनाको उपचारमा खटिने चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मी र सुरक्षा तथा उद्धारमा खटिएका सुरक्षाकर्मी जो भाडामा बस्छन्, उनीहरूमाथि घरधनीको दुव्र्यवहार हुने गरेको पाइएको भन्दै यस्तो देखिए कडा कारबाही गर्न निर्देशन दिएको हो ।  

मन्त्रालयले जिम्मेवारी पूरा गर्दै अहोरात्र खटिएका स्वास्थ्यकर्मीलाई घरबाट निकाल्ने, विभिन्न किसिमका दबाब दिने, दुव्र्यवहार गर्ने र कानुनविपरीत काम गरी मनोबल गिराउने गरिएको  पाइए कानुनबमोजिम कडा कारबाही गर्न निर्देशन दिएको हो । 

‘स्थानीय स्तरका केही व्यक्तिबाट स्वास्थ्य सुरक्षा सतर्कताको नाममा बाटो बन्द गर्ने, टोलमा प्रवेश निषेध गर्ने, आवागमनमा बाधा पुर्याउने, घरभाडामा बसिरहेका व्यक्तिलाई विनाकारण निकाल्नेलगायत अमानवीय कामप्रति मन्त्रालयको ध्यानाकर्षण भएको छ,’ मन्त्रालयका सहसचिव एवं प्रवक्ता केदारनाथ शर्माले भने, ‘संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिम जारी गरेको यस आदेशको कार्यान्वयन गर्न सरकारले देशभरका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको छ, जारी आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्याउने कानुनबमोजिम सजाय हुने प्रावधान रहेकाले मन्त्रालयको अनुरोधको अटेरी वा बेवास्ता गरी अवाञ्छित गतिविधिमा संग्लनलाई कानुनबमोजिम हदैसम्मको सजाय हुनेछ ।’ 

मन्त्रालयले विश्वव्यापी रूपमा फैलिएको महामारीविरुद्ध लड्न सबैले सामूहिक प्रयास गर्नुपर्नेमा एकआपसमै निषेधको बाटो अपनाउनु ठिक नभएको भन्दै यस्ता खालका अवाञ्छित गतिविधि नगर्न नगराउन अनुरोधसमेत गरेको छ ।  

यसअघि एउटा स्थानीय तहका जनप्रतिनिधि र स्वयंसेवकको नाममा एकठाउँबाट अर्काे ठाउँ प्रवेश निषेध गर्ने, उपचार गर्न नदिने, उपचार एवं सुरक्षामा खटिएकामाथि दुव्र्यवहार गरेका घटना सार्वजनिक भएका थिए । साथै कोरोना संक्रमणको बहाना बनाई उपचारमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मीलगायत भाडामा बस्नेलाई घरधनीले घर छोड्न बाध्य पारेका घटना सार्वजनिक हुन थालेपछि गृहले भाडामा बस्नेलाई घरबाट निकाल्न खोजेमा पनि घरधनीमाथि कारबाही हुने जनाएको छ ।

गत शुक्रबार बाग्मती प्रदेशको जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीमाथि केही युवाले चेकिङको नाममा दुव्र्यवहार गरेका थिए । कोरोना भाइरसको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको दुव्र्यवहारको सर्वत्र आलोचना भएपछि सरकारले यस्ता कार्य गरे जोकोहीलाई कारबाही गर्ने चेतावनी दिएको हो । निर्देशक कार्कीको जाहेरीपछि दुव्र्यवहारमा संग्लन भई पक्राउ परेका उत्तम कार्कीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार हिरासतमा राखी अनुसन्धान गर्न पाँच दिनको समय थप गरेको छ । 

प्रकाशित: ५ जेष्ठ २०७७ २१:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App