coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आरुबोटे नरसंहार, विरक्तलाग्दो सम्झना

हत्या काण्ड भएको धनराज शेर्माको घर । यो घरमा अहिले कोही पनि बसेका छैनन् । तस्बिर : गिरिराज/नागरिक

दुई घरका नौजनाको बीभत्स हत्या भएको आरुबोटे नरसंहार भएको एक वर्ष पुगेको छ । अघिल्लो वर्षको जेठ ६ गते राति मिक्लाजुङ–३ आरुबोटेमा उक्त कहालीलाग्दो हत्याकाण्ड भएको भएको थियो ।

पाशविक रूपमा भएको हत्याले देशविदेशमा रहेका नेपालीलाई भावुक तुल्याएको थियो भने सुरक्षा निकायलाई अनुसन्धानमा निकै ठूलो चुनौती थियो । न्यून आर्थिक अवस्था भएको परिवारमा उक्त घटना भएको थियो । स्थानीयवासी विरक्तलाग्दो सम्झनाका रूपमा उक्त घटनालाई लिन्छन् । सामान्य जीवनमा फर्किसकेको भए पनि उक्त हत्याकाण्डले उत्पन्न गरेको विरक्तलाग्दो अवस्था सम्झना भइरहने गरेको स्थानीय जीवन फियाकले सुनाए ।

‘केही महिना मात्र भयो जस्तो लाग्थ्यो, एक वर्ष भएछ । नसम्झाँं भन्दा पनि त्यो घटना बेलाबेला सम्झना भइरन्छ,’उनले भने, ‘त्यस्तो हृदयविदार घटनाको असर त रहने नै भो नि ।’ साँझबिहान उक्त हत्याकाण्ड भएको बाटो भएर हिँड्दा डराउने अझै पनि रहेको उनले सुनाए । विभिन्न ठाउँमा पुग्दा आफ्नो घर आरुबोटे भएको सुनाउँदा धेरैले सोही घटनाबारे सोध्ने गरेको अनुभव उनीसँग छ । 

स्थानीय बमबहादुर फियाक र उनका ज्वाइँ धनराज शेर्माको घरमा हत्याकाण्ड भएको थियो । धनराजको घरमा हत्याकाण्ड भएपछि त्यहाँ कोही पनि बसेका छैनन् । बमबहादुरको घरमा बेलाबेला भतिज पर्ने बस्ने गरेको स्थानीयले बताए । बमबहादुरको घरमा उनीसहित पत्नी पुर्सीमाया, छोरी मनकुमारी र नातिनी (साइँली छोरीकी छोरी) १० वर्षीय आशिका खजुमको हत्या भएको थियो । यस्तै ज्वाइँ धनराजको घरमा उनीसहित पत्नी जस्मिता फियाक, १२ वर्षीय छोरी युहाना, १० वर्षीय मुना र भतिजी आठ वर्षीया इच्छाको हत्या भएको थियो । धनराजको परिवार नै सखाप भएको थियो । 

प्रहरीको ठूलो टोलीले निकै मेहनत गरेर घटनाको अनुसन्धान गरेको थियो । मिक्लाजुङ–७ का मनबहादुर माखिमले उक्त नरसंहार गरेको प्रहरी अनुसन्धानको निष्कर्ष छ । उनी बमबहादुरका कान्छा ज्वाइँ हुन् । हत्याको भोलिपल्ट झुन्डिएर आत्महत्या गरेको अवस्थामा उनको शव फेला परेको थियो । उनीहरूको पारिवारिक किचालो भएको खुल्न आएको थियो । ‘घटना अनुसन्धानमै छ । अहिलेसम्मको अनुसन्धानको निष्कर्षले हत्याका दोषी जो झुन्डिएर मरेको थियो, उही नै देखिएको छ,’पाँचथरका प्रहरी प्रमुख डिएसपि सिद्धराज न्यौपानेले भने । 

हत्याकाण्डमा जोगिएकी सिता खजुम सुनसरीमा अध्ययन गरिरहेकी छन् । नरसंहार भएको तीन महिनासम्म विद्यार्थी निक्कै डराए पनि त्यसपछि सामान्य अवस्थामा फर्किएको स्थानीय आरुबोटे माध्यमिक विद्यालयका प्रधानाध्यापक भवीन्द्र राईले बताए । अत्यन्त बीभत्स, भयानक घटनाका रूपमा सम्झनामा रहेको राई बताउँछन् । 

प्रकाशित: ५ जेष्ठ २०७७ २०:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App