६ वैशाख २०८१ बिहीबार
समाज

श्रीमतीको योजनामा प्रेमीसँग मिलेर हत्या

औषधि व्यवसायीे हत्या प्रकरण

शनिबार राति विराटनगरमा भएको एक औषधि व्यवसायीको हत्यामा संलग्नलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ । हत्याको मुख्य योजनाकार श्रीमतीसहित अन्य दुई जना पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

विराटनगर महानगरपालिका–१० मा देवी पाथीभरा फार्मेसी नामबाट थोक (डिलर)औषधि व्यवसाय गर्दै आएका ३३ वर्षीय देवीप्रसाद दुलालको हत्याका मुख्य योजनाकार ३३ वर्षीय श्रीमती मीना श्रेष्ठ (दुलाल)सहित प्रेमी ब्रह्मदेव साह र उनका सहयोगी सोनु साहलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई सोमबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको हो ।

दुलालको हत्यामा संलग्न श्रीमती मीना श्रेष्ठ (दुलाल) उनका प्रेमी सिरहाको लहान–११ का २१ वर्षीय ब्रह्मदेव साह र सहयोगी इटहरी–१२ का २० वर्षीय सोनु साहको संलग्नता देखिएकाले पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए । इटहरी–१२ स्थित खनार स्थायी घर भएका दुलालले विराटनगर–१० मा घर भाडामा लिएर औषधिको थोक व्यवसाय सञ्चालन गर्दै आएका थिए । उनीहरूबीच १० अघि विवाह भएको र ८ वर्षका छोरासमेत रहेको छ ।  

ब्रह्मदेव दुलालकै औषधिको डिलरमा चार वर्षदेखि काम गर्दै आएको र त्यस क्रममा श्रीमतीसँग हिमचिम बढेको थाहा पाएपछि र ०७६ माघ ३ गते उनलाई कामबाट निकालिदिएका थिए ।  

त्यसपछि ब्रह्मदेव विराटनगर–४ मा रहेको बुढाथोकी फार्मेसीमा काम गर्न थालेको थिए । दुलाल कहाँ काम नगरे पनि मीनासँगको ब्रह्मदेवको सम्पर्कले भने निरन्तरता धेरै इमोमा गफ गरेको भेटियो । उनीहरूबीचको इमो सम्वाद मेटाएकाले अहिले के गफ हुन्थ्यो थााहा नभएको प्रहरीले जनाएको छ ।  

उनीहरूको सम्बन्ध दुलालले थाहा पाएपछि श्रीमान र श्रीमतीबीच विवाद भएको प्रहरीको भनाइ छ । श्रीमानसँगको सम्बन्ध बिग्रँदै गएकाले मीनाले ‘सबक’ सिकाउनका लागि एक महिनादेखि योजना बनाउँदै आएको देखिएको एपसी अधिकारीले बताए । उनले भने, ‘श्रीमानलाई ‘सबक’ सिकाउनका लागि ब्रह्मदेवसँगको योजनामा दुलालको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ ।’  

शनिबार हत्या भएको साँझमा विराटनगरका औषधि व्यवसायीद्वय धनबहादुर काफ्ले र हरिमोहन श्रेष्ठसहित दुलालको कोठमासँगै मादक पदार्थ सेवन गरेर करिब ८/८ः३० बजेतिर फर्किएका थिए ।  

पूर्व योजनाअनुसार नै ब्रह्मदेवर र अर्का सोनु साह दुलालका साथी निस्किएपछि त्यहाँ पुगेका थिए । मीनाले श्रीमान नसुतेको संकेत गर्दै छतमा जान भनेपछि उनीहरू गएको एसपी अधिकारीले बताए । त्यसपछि राति ११ बजे श्रीमान सुतेपछि मीनाले साहद्वयलाई बोलाएर तीन जना मिली दुलालको हत्या गरेको प्रहरीले बताएको छ ।  

उनीहरूले हातमा पञ्जा लगाउँदै घाँटीमा प्लाष्टिकको डोरीले कसेर हत्या गरिएको प्रहरीले बताएको छ । ब्रह्मदेवले शरीर थिचेपछि श्रीमतीले घाँटीमा डोरी कसेको र सोनुले खुट्टा समाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको एपसी अधिकारीले बताए । घाँटी कसेको थाहा पाएर प्रतिकार गर्ने क्रममा डोरी चुटिएको र झ्यालमा ठोक्किएर देवीप्रसादको वायाँ आँखामा चोटसमेत लागेको प्रहरीको भनाइ छ । त्यसपछि दुलाल मरेको यकिन गर्न दुई जनाले उसको शरीरको विभिन्न भाग कुटपिटसमेत गरेको र उनको घाँटीमा डाम नदेखियोस भनेर पाउडरसमेत लगाएका थिए प्रहरीले भन्यो ।  

सुतेकै ओछ्यानमा बेहोस अवस्थामा भेटिएको भन्दै उनलाई उपचारका लागि आइतबार बिहान ३ बजे अस्पताल पु¥याइएको थियो । अस्पताल पु¥याउनसाथ मृत घोषित गर्दै चिकित्सकले मृत्युलाई स्वभाविक मान्न नसकिने जनाएपछि घटनाका बारेमा अनुसन्धान थालिएको एसपी अधिकारीले बताए ।  

दुलालको नाक, हात, घाँटी र वायाँ आँखाको डिलमा चोट लागेको र मुखबाट रगत पनि बगिरहेको अवस्थामा शव थियो । उनी सुतेको ओछ्यानमा रगत लतपतिएको थियो भने घाँटीमा डोरीले कसेको डाम थियो । प्रहरी नियन्त्रणमा रहेकी मीनाले सुरूमा भने श्रीमानलाई उच्च रक्तचापको समस्या रहेको र त्यही कारणले मृत्यु भएको हुन सक्ने भन्दै घटनाको वास्तविकता लुकाएर ढाँट्ने प्रयास गरेको प्रहरीले बताएको छ ।  

प्रहरीले घटनामा प्रयोग गरिएको ४ थान मोबायल, ८ थान सिम, १ बट्टा पाउडर, कपडाको ब्याण्डेज, नाइलनको डोरी २ थान, सर्जिकल पञ्जा ८ जोर र रगत लागेको बेडकभर फेला परेका थिए । 

प्रकाशित: ५ जेष्ठ २०७७ १५:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App