१६ चैत्र २०८० शुक्रबार
समाज

स्वास्थ्यकर्मी संक्रमित भएपछि धनकुटा जिल्ला अस्पताल आसपास सिल

कोरोना संक्रमित भेटिएपछि सिल गरिएको धनकुटाको हुलाक टोल क्षेत्र । तस्बिर : नागरिक

स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि धनकुटा जिल्ला अस्पताल र आसपासको क्षेत्रलाई सिल गरिएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पिसिआर परीक्षणको रिपोर्टमा आइतबार धनकुटाकी एक स्वास्थ्यकर्मी संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि आइतबार राति संकट व्यवस्थापन समितिको आकस्मिक बैठकले संक्रमित क्षेत्रलाई सिल गर्ने निर्णय गरेको हो ।  

सोही निर्णय वमोजिम धनकुटाको संक्रमित क्षेत्रलाई चार किल्ला कायम गरेर मानिसहरुको आवातजावत निषेध गरिएको छ । सिल गरिएको क्षेत्रमा नेपाली सेनासहितको सुरक्षाकर्मी परिचालन गरिएको धनकुटा प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले जानकारी दिए । ‘चारकिल्ला कायम गरेर संक्रमित क्षेत्रलाई सिल गरिएको छ, र सुरक्षाकर्मी परिचालन गरिएको छ,’उनले भने ।

धनकुटामा पहिलो पटक कोरोना भाइरस (कोभिड-१९) संक्रमित भेटिएको हो । जिल्ला प्रशासनका अुनसार धनकुटाको वडा नं ७ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रदेखि बसपार्क, जिरो पोइन्ट, परिचय मोडे, यलम्बर चोक, सिनेमा हल, याक्चना घाट जाने त्रिवेणी चोकसम्मको चारकिल्ला कायम गरिएको छ । यो क्षेत्रलाई चारकिल्ला कायम गरेर अर्को आदेश नभएसम्म सिल गरिएको प्रजिअ विमलीले बताए ।  

संक्रमित स्वास्थ्यकर्मीलाई विराटनगर पठाइयो
जिल्ला अस्पताल धनुकटाकी कोरोना संक्रमित महिला स्वास्थ्यकर्मीलाई विराटनगर पठाइएको निमित्त मेडिकल सुपरिटेण्डेट डा.पुजन विश्वकर्माले जानकारी दिए । उनलाई विराटनगरस्थित कोभिड-१९ उपचार केन्द्रमा राखिनेछ ।

डा. विश्वकर्माका अनुसार संक्रमित स्वास्थ्यकर्मीको ट्राभल हिष्ट्री छैन । लकडाउन भएदेखि स्वास्थ्यकर्मीहरु बाहिर नगई नै नियमित अस्पतालमा उपचारमा खटिएकोले विरामीबाट नै कोरोना भाइरस सरेको प्रारम्भिक निष्कर्षमा पुगेको उनले बताए । ‘कोही पनि बाहिर गएको छैनौं, हामी चौबिसै घण्टा जसो सेवामा छौं,’उनले भने,‘त्यसैले कोही विरामीबाट नै कोरोना सरेको प्रारम्भिक निष्कर्षमा पुगेका छौं ।’ धनकुटामा बाहिरबाट धेरै मानिसहरुलाई ल्याइएको कारण पनि कोरोनाबाट संक्रमण भयो भन्ने पत्ता लगाउन निक्कै गाह्रो हुने उनले बताए ।  

५ सयको परीक्षण गरिने, भिटिएमको अभाव
निमित्त मेडिकल सुपरिटेण्डेट डा.विश्वकर्माका अनुसार जिल्ला अस्पतालमा कार्यरत ५५ स्वास्थ्यकर्मीसहित ५ सयको हाराहारीमा कोरोना परीक्षण गरिने भएको छ । अस्पताल क्षेत्र सिल भएदेखि अड्किएका र कन्ट्याक्ट ट्रेसिङ गर्दासहितको ५ सयको परीक्षण गर्नुपर्ने उनले बताए ।  

डा.विश्वकर्माका अनुसार अस्पतालमा स्वाब लिनको लागि भिटिएमको अभाव छ । तत्काल १० वटा मात्र भिटिएम रहेको उनले बताए । ‘हामीले ५ सय भिटिएम मागेका छौं, हामीसँग १० वटा मात्र छ,’उनले भने,‘प्रदेश र माथिल्लो निकायमा पहल गरेका छौं ।’

 

 

प्रकाशित: ५ जेष्ठ २०७७ ०६:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App