८ वैशाख २०८१ शनिबार
समाज

बाँस र काठ तेर्साएर ‘नो इन्ट्री’

अहिले सरकारले सर्वसाधारणलाई घरभित्रै बस्न आग्रह गरेको छ । लकडाउनको अर्थ पनि बाहिर नहिँड्नु घरभित्रै सुरक्षित रहनु हो । कतिपयले सरकारले आह्वान गरेको लकडाउन पूर्ण पालना गरिरहेका छन् । तर, कतिपय भने बाहिर ओहोरदोहोर गर्ने गरेको पनि देखिन्छ । खासगरी अहिले समाज/सहरमा त्यस्तै मानिसदेखि त्रसित भइरहेको छ । जो मानिस घरबाहिर हिँडेको छ उसलाई यतिबेला कसैले राम्रो मान्दैनन् । बरु उल्टो संका र डर मान्न थाल्छन् ।  

उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा सरकारले उपत्यकाभित्र लकडाउन कडा पारेको छ । तर, उपत्यकाका भित्री गल्लीमा लकडाउनका बेला मानिसहरु बाहिर निस्कने क्रम जारी नै देखिन्छ । बेलुकी र बिहानको समयमा भित्री गल्लीमा किनमेल तथा बिहान–साँझ हिँड्ने बहानामा मानिसहरु बाहिर निस्किरहेका छन् । यसर्थ पनि कोरोना भाइरसका संक्रमित नजिकै देखा परे पनि उपत्यकावासीले पूर्णरूपले लकडाउन गरेको देखिन्न ।  

गल्लीगल्लीमा मानिसहरु पूर्णरूपले ओहोरदोहोर गर्न नछाडेका कारण स्थानीयस्तरमा भने उनीहरुलाई रोक्ने प्रयास अनौठा तरिकाका देखि थालेका छन् । ग्रामिण भेगमा रूख तेर्साएर बाहिर मानिसलाई रोक्ने जुक्त सहरका गल्लीमा पनि देखिएको छ । उपत्यकाका भित्री सहरहरुका स्थानीय बढी त्रसित छन् । उनीहरुले अहिले बाहिर मानिस प्रवेश नगरुन् भनेर बाँस र काठ तेर्साउने गरेका छन् । काठमाडौंको न्यूरोड, भक्तपुर र पाटन दरबार क्षेत्रमा अहिले स्थानीयले बाहिरका मानिसलाई आफ्नो टोल प्रवेश नदिन काठ र बाँसका छेकबार लगाएका छन् ।

जसका कारण मानिसहरु भित्रभित्रै पनि ओहोरदोहोर गर्न छाडेको स्थानीयको भनाइ छ । ‘यस्तो बेलामा हामीले अनेक जुक्ति अपनाएरै भए पनि सुरक्षित रहनुपर्छ, रातिको समयमा बाहिरका मानिसहरु आएको पनि सुनियो, त्यसकारण बाँस र अन्य काठ भित्री सडकमा तेर्साउन थालियो,’ बसन्तपुरका स्थानीय तथा सम्पदाप्रेमी गणपतिलाल श्रेष्ठले भने । उनका अनुसार अहिले पुराना सहरलाई बन्द गर्नका लागि पर्याप्त गेटहरु छैनन् । बाहिर मानिस गल्लीमा ओहोरदोहोर गर्ने क्रम नरोकिएपछि उनीहरुलाई निषेध गर्न यस्तो तरीका अपनाइएको हो ।  

काठमाडौं महानगरपालिका–२२ वडाका वडाध्यक्ष चिनिकाजी महर्जनले भित्री गल्लीलाई सुरक्षित बनाउन यसो गरिएको बताए । उनले यस्तो खालको तयारी क्षणिक समयको लागि राम्रो हुने जानकारी दिए । ‘यहाँका युवाहरुले सुरक्षित रहन यस्तो उपाय अपनाएका छन्, यसमा हाम्रो पनि समर्थन छ,’ उनले भने । उनका अनुसार युवा क्लब, टोल समिति, गुठीलगायत युवाहरुको समूहले टोललाई सुरक्षित राख्न नयाँनयाँ तरीका अपनाइरहेका छन् ।  

ललितपुर महानगरपालिका १६ का वडाध्यक्ष निर्मलरत्न शाक्यले पाटन क्षेत्रमा बाहिरी मानिसलाई आहोरदोहोर गर्न नदिइएको बताए । उनले बाहिर मानिस देखिनासाथ उनलाई निगरानी राखी क्वारेन्टाइनमा राखएिको जानकारी दिए । ‘उपत्यकाका भित्री गल्लीहरु अहिले झन् असुरक्षित भएका छन्, रातको समयमा मानिसहरु टोल छिरेको सुनिएपछि हामीले कडाइ गरेका छौं,’ उनले भने ।  

भक्तपुर दरबार स्क्वायर क्षेत्रमा पनि अहिले बाहिरी मानिसलाई छिर्न दिइएको छैन । कोही मानिस भित्री गल्लीबाट ओहोरदोहोर गर्ने डरमा टोलवासीले उच्च निगरानी राखेको संस्कृतिविद् ओम धौवडेलले जानकारी दिए । उनका अनुसार भक्तपुर दरबार क्षेत्रमा पनि काठ, फलाम र बासका छेकबार लगाएको देखिन्छ । मानिसको ओहोरदोहोर हुने क्षेत्रलाई पूर्ण निगरानी राखिएको उनको भनाइ छ । ‘भित्री सहरमा बाहिरी मानिसलाई प्रवेश दिएका छैनौं,’ उनले भने, ‘यसमा नगरपालिकाले पनि ख्याल राखेको छ ।’

प्रकाशित: ५ जेष्ठ २०७७ ०३:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App