coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लकडाउनका बेला निकालिए चार शिक्षक

दाङ- तलब खुवाउनका लागि आयस्रोत नरहेको भन्दै दाङको एक सामुदायिक विद्यालयले लकडाउनको अवधिमा चार शिक्षकलाई निष्काशन गरेको छ । सरकारले लकडाउनको अवधिमा जो कोही मजदुरलाई निष्काशन नगर्न भनिरहेका बेला दाङको एक विद्यालयले भने चार निजी शिक्षकलाई अवकाश दिएको हो । घोराही उपमहानगरपालिका–२ रामपुरस्थित गंगा माध्यमिक विद्यालयले दुईजना मावि र दुई जना प्रावि तहका निजी शिक्षकलाई वैशाख १ गतेदेखि लागु हुनेगरी निष्काशन गरेको हो ।  

यो विद्यालयमा मावि तहमा अध्यापन गराइरहेका पत्रकारिता विषयका शिक्षक सन्तोष सुवेदी, स्वास्थ्य विषयका बबिता रेग्मी, आधारभूत तहका पुष्पा चौधरी र होमा ढकाललाई सेवामुक्त गरिएको विद्यालयले जनाएको छ । ‘हामीहरूलाई पहिलेदेखि नै राम्रो व्यवहार गरिएको थिएन, पेलेरै जान खोजिएको थियो,’ निष्काशन गरिएकी शिक्षक बबिता रेग्मीले भनिन्, ‘एकाएक बर्खास्त गरियो, हामीलाई कुनै जानकारी नै दिइएन ।’ मावि तहका शिक्षक सुवेदी र रेग्मी मात्र निजी स्रोत शिक्षक होइनन् । मावि तहकै अर्का एक शिक्षकलाई भने कायमै राखेर दुईजनालाई मात्र निष्काशन गरिएको छ ।  

‘मावि तहका तीन जना शिक्षक निजी स्रोतमा थियौं, तर हामी दुई जनालाई मात्र निकालियो,’ उनले भनिन्, ‘अर्को एक जनालाई किन निकालिएन त ? यहीँबाटै प्रष्ट हुन्छ नि प्रतिशोध साँधेर हामीमाथि अन्याय गरियो ।’ पत्रकारिता विषयका शिक्षक सन्तोष सुवेदी उक्त विद्यालयमा १० वर्षदेखि कार्यरत थिए भने स्वास्थ्य विषयकी शिक्षक रेग्मी ६ वर्षदेखि कार्यरत थिइन् । रेग्मीका अनुसार घोराही उपमहानगरपालिकाका वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका पदेन सदस्य केशव आचार्यले उनीहरूमाथि प्रतिशोध साँध्दै आएका थिए । उनले पटक–पटक जागिरबाट निष्काशन गरिदिने भन्दै मानसिक तनाव दिँदै आएको रेग्मीले बताइन् । ‘कहिले पिरियड घटाइदिने, राम्रो काम भएन भनेर जागिरबाट हटाइदिने जस्ता मानसिक तनाव दिइँदै आइएको थियो,’ उनले भनिन्, ‘तथापि हामीहरूले जेनतेन काम गर्दै आएका थियौं ।’

विद्यालयका प्रधानाध्यापक शशिधर उपाध्यायले चार जना शिक्षकलाई निष्काशन गरिएको स्वीकार गरे । विद्यालय व्यवस्थापन समितिको बैठकले तलब खुवाउनका लागि आर्थिक स्रोत नभएको, दरबन्दी मिलानका क्रममा थप चार जना शिक्षक थपिएपछि निजी स्रोतमा रहेका उनीहरूलाई बिदाइ गर्ने निर्णय गरेको जानकारी दिए । ‘विद्यालयको आर्थिक स्रोत छैन, जग्गा जमिन छैन, कसरी उहाँहरूलाई तलब खुवाउने ?’ विद्यालयका प्रधानाध्यापक उपाध्यायले भने, ‘अनि उहाँहरूलाई बिदाइ गर्ने व्यवस्थापन समितिले निर्णय गरेको हो ।’  

यसैगरी घोराही नगर शिक्षा समितिले दरबन्दी मिलानका क्रममा चार शिक्षक विद्यालयमा थपिदिनु निष्काशनको अर्को कारण रहेको उनको भनाइ छ । तर, उनकै भनाइले नियतवश शिक्षक निष्काशन गरेको पुष्टि हुन्छ । उनले विषयगत शिक्षक निष्काशन गरेपछि सामाजिक तथा नेपाली विषयका शिक्षकहरूले पठनपाठन गर्ने बताए । पत्रकारिता विषयका शिक्षक सन्तोष सुवेदीलाई समेत निष्काशन भएपछि पत्रकारिता विषयको पठापाठन नेपाली वा सामाजिक विषयको शिक्षकले गर्नेगरी मिलाइने विद्यालयका प्रधानाध्यापक उपाध्यायले बताए ।

‘सरकारले दरबन्दी दिन्न, निजी स्रोतमा राखिएका शिक्षकलाई विद्यालयले तलब खुवाउन सक्ने अवस्था हुन्न,’ उनले भने, ‘पत्रकारिता विषयको पठनपाठन नेपाली वा सामाजिक विषयको शिक्षकबाट गर्नेगरी मिलाउँछौं ।’ फरक विषयको शिक्षकले गरेको पठनपाठन कत्तिको प्रभावकारी होला त ? प्रधानाध्यापक उपाध्यायले जवाफ भने, ‘एकपक्षीय प्रश्न नसोध्नुस्, फरक विषयको शिक्षकले पनि पढाउने वातावरण हामी मिलाउँछौं ।’

प्रधानाध्यापकले चार जना शिक्षक नगर शिक्षाबाट थपिएको बताए पनि उनीहरू प्रावि तहका हुन् । तर, यिनैलाई कारण देखाएर मावि तहका शिक्षकसमेत हटाइएको पीडित शिक्षकहरूले बताएका छन् । ‘थपिएका चार जना शिक्षक त प्रावि तहका हुन्,’ पीडित शिक्षक सुवेदीले भने, ‘हामी माविका दुई जनालाई निकाल्नुको कारण के हो त ? यसमा शतप्रतिशत राजनीतिकरण गरिएको हो ।’

 

 

 

प्रकाशित: ४ जेष्ठ २०७७ १४:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App