coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

धनगढीमा रहेका प्रवासी नेपालीलाई पठाइयो

कैलाली बहुमुखी क्याम्पसको क्वारेन्टिनमा रहेकाहरु । तस्बिरः नागरिक

कैलाली- शुक्रबार र शनिबार राति धनगढी आइपुगेका प्रवासी नेपालीलाई सम्बन्धित जिल्लामा पठाइएको छ । धनगढीको कैलाली बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका २ सय १६ जनालाई सम्बन्धित जिल्लामा पठाइएको हो ।  

भारतको पलिया र लखिमपुरको क्वारेन्टिनमा विगत ४० दिनदेखि बस्दै आएका प्रवासी नेपालीहरु शुक्रबार र शनिबार धनगढी आइपुगेका थिए । धनगढी आएर कैलाली बहुमुखी क्याम्पसमा दुई दिन बसेकाहरुको आरडिटी परीक्षणपश्चात् परिणाम नेगेटिभ आएपछि उनीहरुलाई सम्बन्धित जिल्लामा पठाइएको कैलाली बहुमुखी क्याम्पस प्राध्यापक संघका सभापति लोकबहादुर बिष्टले जानकारी दिए । 

उनका अनुसार कैलाली बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका प्रदेश नम्बर २ र ३ का ४४ जनालाई काकडभिट्टाको गाडीमा, दाङ, चितवन क्षेत्रका ५० जनालाई पोखरा रुटको गाडीमा, दैलेख, रुकुम रोल्पा क्षेत्रका ४८ जनालाई सुर्खेत रुटको गाडीमा, बैतडीको पाटन रुटमा ३० जनालाई, बर्दियाका ११ जना, बाँकेका ४ जना, कञ्चनपुरका १६ जना, डोटीका ८ जना, बाजुराका ४ जना र अछामका १ जनालाई सम्बन्धित जिल्लामा पठाइएको छ ।  

जिल्ला प्रशासनले धनगढीमा रहेका दुई सय १६ जना प्रवासी नेपालीलाई आइतबार सम्बन्धित जिल्लामा पठाएको हो ।

सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर क्वारेन्टाइनमा रहेकाहरुलाई पठाइएको र सम्बन्धित जिल्लाका राजमार्गमा रहेका प्रहरी इकाईमा उनीहरुलाई बुझाइने जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले बताए । ‘दुई दिनदेखि धनगढीको क्वारेन्टिनमा बसेका प्रवासी नेपालीहरुलाई सम्बन्धित जिल्लाका प्रशासन कार्यालयसँगको समन्वयमा पठाइएकाले बसमा रहेकाहरुलाई सम्बन्धित जिल्लाको प्रहरी इकाईमा बुझाउँछौं,’ प्रशासकीय अधिकृत जोशीले भने, ‘प्रहरी कार्यालयबाट सम्बन्धित स्थानीय तहले बुझेर क्वारेन्टिनमा राख्ने र अरु सुरक्षाका कार्य गर्नेछन् ।’

क्वारेन्टिनमा रहेकाहरुलाई पुर्‍याउन मारवाडी सेवा समिति, कैलाली उद्योग वाणिज्य संघ, रोटरी क्लब धनगढी र श्याम तायलले एक÷एक बस उपलब्ध गराए । बसमा जानेहरुका लागि मारवाडी सेवा समितिले नास्ता र पानीको पनि व्यववस्था गरेको  मारवाडी सेवा समितिका उपाध्यक्ष अनिलकुमार भुजानियाले बताए । उनले भने,‘संकटको बेलामा मानवीय नाताले बसको व्यवस्था गरेर उनीहरुलाई सम्बन्धित जिल्लासम्म पठायौँ ।’

भारतको पलिया र लखिमपुर क्वारेन्टइनमा रहेका ७ सय ५८ जना प्रवासी नेपालीलाई शुक्रबार र शानिबार गौरीफन्टा नाकाबाट नेपाल भित्र्याइएको थियो । नेपाल भित्रिएका उनीहरु मध्य कैलालीका घर सम्बन्धित स्थानीय तहको सम्पर्कमा गइसेका छन् ।  

 

 

प्रकाशित: ४ जेष्ठ २०७७ १३:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App