एकै दिन दुई कोरोना संक्रमित भेटिएपछि भक्तपुरमा अत्यावश्यकबाहेक व्यापार, व्यवसाय र उद्योग सञ्चालनमा रोक लगाउने निर्णय गरिएको छ। प्रजिअ हुमकला पाण्डेको अध्यक्षता बुधबार बसेको जिल्लास्तरीय विपद् व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा कोरोना संक्रमणको जोखिम र समुदायमा विस्तारको खतरा देखिएको हुँदा यस्तो निर्णय गर्नुपरेको जनाएको छ।
बैठकले जिल्लाबाट अन्यत्र जिल्लामा जाने गरी जारी गरिएको सबै सवारी पास खारेज गरेको छ। गृह मन्त्रालयको च.नं. ३७८४ को मंगलबारको सवारी पास सम्बन्धमा प्राप्त भएको निर्देशनअनुसार यस्तो निर्णय भएको जनाइएको छ। विभिन्न ६ वटा निर्णय गरेको बैठकले भक्तपुर जिल्लामा कोरोना संक्रमणको हालको अवस्थाको समीक्षा गरिनुका साथै हालसम्ममा बाहिरबाट आएका दुई व्यक्तिमा कोरोना पोजेटिभ देखिएको हुँदा ती व्यक्तिका यात्रा विवरणका आधारमा अविलम्ब कन्ट्याक्ट ट्रेसिङ गर्ने, निजहरूको बासस्थान सिल गर्ने, परिवारका सदस्यकोसमेत तुरुन्त परीक्षण गर्ने र आवश्यकताअनुसार आइसोलेसन/क्वारेन्टिनमा राख्ने व्यवस्था स्वास्थ्य कार्यालय र भक्तपुर अस्पतालले मिलाउने निर्णय गरेको छ।
भक्तपुर जिल्ला प्रवेश गर्ने र बाहिर जाने अति आवश्यकबाहेक व्यक्ति तथा सवारीसाधन निषेध गर्ने, भक्तपुर जिल्लास्थित क्वारेन्टिनहरू चुस्तदुरुस्त राख्ने, वडामार्फत आफ्नो क्षेत्रमा बाहिरबाट आएका व्यक्तिको लगत संकलन गर्ने, निगरानी गर्ने, कोरोना परीक्षण गराउने र त्यस्ता व्यक्तिलाई आवश्यकता अनुसार क्वारेन्टिनमा पठाउने काममा समन्वय गर्ने निर्णय गरिएको छ। साथै स्थानीय र सरोकारवाला निकायबाट खाद्यान्न तथा आपूर्तिको प्रभावकारी व्यवस्थापन तथा नियमनको काम गर्ने, विपन्न खाद्यान्न अभाव भएका व्यक्तिलाई राहत उपलब्ध गराउने निर्णय गरिएको छ।
यसैगरी भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बुधबार नै बसेको नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले जिल्लाको सीमा नाकामा प्रवेश निषेध गर्नुपर्ने र जिल्लामा उद्योग सञ्चालन गर्दा उपत्यकाबाहिरबाट भित्रिनेको संख्या बढ्न सक्ने भएकाले उद्योग र कारखाना बन्द गर्नुपर्ने जनाएको छ। बैठकले काठमाडौं उपत्यकाका सबै सीमा क्षेत्रमा अत्यावश्यकबाहेक कुनै व्यक्तिलाई प्रवेश निषेध गर्न सम्बन्धित निकायमा अनुरोध गर्ने, भारतबाट आउने फलफूल, माछामासु र तरकारी गाडीलाई यस नगरपालिकामा प्रवेश निषेध गर्ने व्यवस्थाका लागि सरकारसमक्ष आग्रह गर्ने, जिल्लामा कोही पनि व्यक्ति घर बाहिर निस्कन नपाउने व्यवस्था गरेको छ।
साथै अति आवश्यक बाहेक व्यापार, व्यवसाय र उद्योग सञ्चालनमा रोक लगाउन सम्बन्धित निकायलाई अनुरोध गर्ने, भक्तपुर नगरभित्र टेलिभिजन र मोबाइल पसलजस्ता विद्युतीय सामग्री पसल, चिया–खाजा पसल, सैलुन लगायत अन्य पसलहरू खुल्न थालिएको हुँदा ती पसललाई कडाइका साथ बन्द गर्न प्रहरी प्रशासनसँग समन्वय गरी अघि बढ्ने निर्णय गरेको छ। बैठकले जिल्ला बाहिरबाट आएका डेरा गरी बस्ने मानिसहरूलाई स्वास्थ्य परिक्षण नगराई आफ्नो घरमा नराख्न भक्तपुर नगरपालिकाले घरधनीहरूलाई आग्रह गर्ने, भक्तपुर नगरवासीमा आ–आफ्नो घरमा कोही व्यक्ति डेरामा बसेको छ भने घर धनीले सोको विवरण सम्बन्धित वडा कार्यालयमा बुझाउन अनुरोध गर्ने र सबै वडा कार्यालयले आफ्नो वडाभित्रको एकीकृत विवरण तयार गर्ने निर्णय गरेको छ।
बैठकले कोरोना भाइरस (कोभिड–१९) रोग संक्रमण रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारले २०७६ चैत्र ११ गतेदेखि लागू गरेको देशव्यापी लकडाउन कार्यान्वयन गर्ने क्रममा भक्तपुर नगरपािलका, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, नेपाल रेडक्रस सोसाइटी, भक्तपुर उद्योग वाणिज्य संघलगायतले गरेका गतिविधिको बैठकमा समीक्षा गरिएको थियो।
प्रकाशित: १ जेष्ठ २०७७ ०३:५० बिहीबार