coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कोरोना र ओपिडीका बिरामीको जम्काभेटको जोखिम

कोरोना परीक्षण हुने अस्पतालमा ओपिडी संचालन गर्दा संक्रमण फैलने त्रासः चिकित्सक

पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल। फाइल तस्बिरः नागरिक

सरकारले सबैखाले बिरामीको उपचार गर्नेगरि सबै अस्पताललाई बहिरंग सेवा (ओपिडी) संचालन गर्न निर्देशन दियो। निर्देशनसँगै यहाँका अस्पतालले पनि ओपिडी सेवा सुचारु गरे। तर, गण्डकी प्रदेशकै सबैभन्दा ठूलो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भने ओपिडी संचालन गर्दा कोरोना संक्रमणको जोखिम बढेको छ। 

किनकी ओपिडीमा परीक्षण गराउन पुगेका सर्वसाधारण र कोरोनाका सम्भावित बिरामीको अस्पतालमा प्रत्यक्ष भेटघाट हुने सम्भावना हुँदा संक्रमण फैलिने त्रास रहेको स्वास्थ्यकर्मीको भनाई छ। अहिलेसम्म कोरोनाका संक्रमित फेला नपरेपनि सबैखाले बिरामीको जमघट हुँदा जोखिम बढ्ने उनीहरुको भनाई छ। कोरोना परीक्षण गराउनकै लागि कतिपय व्यक्ति आफै पनि अस्पताल जाने गर्छन। त्यसबाहेक फिवर क्लिनिकमा पुगेका बिरामीको पनि स्वाब संकलन अस्पताल परिसरमै हुने गर्छ। 

‘उदयपुरबाट फर्केका एकबसका चारजना कामदार बुधबार गाडि नै लिएर अस्पतालमा नमूना परीक्षण गराउन आएका थिए,’ एकजना स्वास्थ्यकर्मीले भने, ‘उनीहरुको त्यही नमूना संकलन गरेर परीक्षण हुँदैछ। त्यसरी जो कोही पनि आउनसक्ने भएकोले संक्रमणको त्रास छ। क्वारेन्टाइटनमा बसेका व्यक्तिको सामुहिक रुपमा नमूना संकलन गरिएपनि फिवर क्लिनिकमा जचाउन आएका वा आफैलाई आशंका लागेर परीक्षण गराउन पनि आउन सक्छन्। त्यसले गर्दा जोखिम बढ्दो छ।’ ओपिडीमा परीक्षण गराउन र कोरोनाका सम्भावित बिरामीको एकैठाउँ भेट हुने अवस्था रहेको ती स्वास्थ्यकर्मीले बताए। 

अहिले अस्पतालकै प्रयोगशलामा कोरोना र अरु सर्वसाधारणको आवश्यक नमूना परीक्षण गर्न थालिएको छ। अस्पतालको प्रयोगशालाभित्र फरक ठाउँमा परीक्षण गरिएपनि संभावित बिरामीको भेटघाट हुने भएकोले जोखिम रहेको उनीहरुको भनाई छ। ‘ओपीडि खुलेसँगै अरु पनि बिरामी पुगेका छन्। ती बाहेक कोरोनाको परीक्षणका लागि पनि सम्भावि बिरामी आउँदा संक्रमणको जोखिम ज्यादा छ,’ ती स्वास्थ्यकर्मीले भने। 

पोखरा क्षेत्रमा संचालित अस्पतालमध्ये क्षेत्रीय अस्पतालको ओपिडीमा एकैदिनमा सबैभन्दा बढी बिरामी परीक्षणका लागि आउने गर्छन। अरुबेला दैनिक १४ सय जनासम्म बिरामी ओपिडीमा आउने गरेका थिए। कोरोका संक्रमणको कारण बन्द रहेको ओपिडीमा मंगलबारदेखि सेवा सुचारु भएपछि दैनिक ३ सयजनासम्म बिरामी परीक्षण गराउन पुगेका छन्। अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले ओपिडीमा जचाउन आएका सर्वसाधारण र कोरोनाका बिरामीको जम्काभेट हुने सम्भावना रहेको बताए। 

एकै ठाउँमा कोरोना र ओपिडीका बिरामीको परीक्षण गर्दा जोखिमको त्रास छ। अन्यत्र कोरोनाका लागि भिन्दै अस्पताल बनाइएको छ। तर, पोखरामा भने बढी बिरामी आउने अस्पताललाई नै कोरोनाका लागि छुट्याइएको छ,’ आचार्यले भने, ‘कोरोनाका लागि भिन्दै अस्पताल बनाउनुपर्ने हो। तर, यहाँ बढी बिरामीको चाप हुने अस्पताललाई नै कोरोना बिशेष बनाइयो। त्यसले अस्पतालमा नियमित सेवा पाउने बिरामी मर्कामा परेका छन्।’

दुवैखाले परीक्षण एकै क्षेत्रमा गर्दा संक्रमणको त्रास रहेको उनले सुनाए। ‘एकै पसिरमा कोरोना र अरु बिरामीको परीक्षण गर्दा सम्भावित जोखिममा काम गर्न बाध्य भएका छौ। प्रदेश सरकारले यो बारेमा बेलैमा सोच्नुपर्ने हो,’ आचार्यले भने, ‘कोरोनाका लागि अन्यत्रै व्यवस्थाप गर्ने समय अझै पनि बाँकी छ। अहिलेसम्म कोरोनाका बिरामी फेला नपरेकोले मात्र सबैजना जोगिएका हुन्। तर, कोरोना पुष्टि हुनासाथ भागाभाग हुनसक्छ।’

क्षेत्रीय अस्पताललाई कोरोना बिशेष बनाएकोले संक्रमित पुष्टि भएर आइसोलेसनमा आएको खण्डमा नियमित उपचार गराईरहेका बिरामी मर्कामा पर्ने उनले बताए। आचार्यका अनुसार अहिले पनि ११० जना मृगौलाका बिरामीले नियमित रुपमा यही अस्पतालमा डाइलाईसिस गरिरहेका छन्। मृगौलाका ती बिरामीले सातामा दुईपटक डाईलाइसिस गर्नुपर्छ। त्यस्तै एचआईभी एड्सका नियमित औषधि सेवनकर्ता र आमा सुरक्षा कार्यक्रम समेत प्रभावित हुने उनले बताए। 

‘कोरोनाका लागि भिन्दै अस्पताल बनाउनुपर्ने हो। किनकी क्षेत्रीय अस्पताल सस्तोमा सेवा दिने निकाय हो,’ उनले भने, ‘हामीले सुरुदेखि नै कोरोना विशेष अस्पताल अन्यत्रै बनाऔं भनेका हौ। तर, सुनुवाई भएन। सबैखाले बिरामीको उपचार एकैठाउँमा हुनु राम्रो होईन। ओपिडी र कोरोनाको सेवा एकैठाउँ हुनु राम्रो होइन।’

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्माले भने क्षेत्रीय अस्पतालमा अहिले धेरैजसो कोरोनाको स्याम्पल बाहिरैबाट ल्याएर परीक्षण गराउने र कोही व्यक्ति आफै पुगेमा भौतिक दूरी कायम गरेर नमूना संकलन गरिएकोले उत्तिसारो जोखिम नरहेको बताए। ‘धेरैजसो नमूना बाहिरबाट प्याक गरेर आउँछन्। केहीगरि व्यक्ति आफै आएको खण्डमा भौतिक दूरी कायम गरेर नमूना संकलन गरिन्छ,’ शर्माले भने, ‘त्यसैले अहिले नै आत्तिनुपर्दैन।’

पोखरामा केहीगरि कोरोनाका बिरामीलाई उपचार गराउनुपर्ने अवस्था आएका अहिलेका लागि छुट्याईको १० शैयाको आईसोलेसनमा बिरामीलाई राखिनेछ। त्यो बेलासम्म ओपिडी पनि सुचारु हुने शर्माले बताए। केही गरि कोरोनाका बिरामी १० जना भन्दा बढी भेटिएमा ओपिडी नै बन्द गरेर सबै अस्पताल नै कोरोनाका लागि उपयोग गर्ने उनले बताए। ‘कोरोनाका बिरामी १० जना भन्दा बढी भेटिएमा सबै अस्पताललाई नै उपयोग गर्ने हो,’ उनले भने, ‘त्यो बेला अरु सेवा बन्द हुन्छ।’ 

 

प्रकाशित: ३१ वैशाख २०७७ १२:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App