coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कोरोना भाइरस पत्ता लगाउन ‘पुलिङ टेष्ट’

परीक्षणको दायरा बढाउन किफायती विधि ‘पुलिङ टेष्ट’

लकडाउनसँगै सरकारले कोरोनाको परीक्षणको दायरा समेत बढाउनुपर्ने चिकित्सक र विज्ञहरुले बताउँदै आएका छन । परीक्षणको दयरा बढाउँदा आवश्यक उपकरण, रसायन र अन्य सामग्रीको खपत समते बढ्न जान्छ। परीक्षणका लागि आवश्यक सामग्रीको विश्वव्यापी अभाव भैरहेको बेला नेपालमा समेत अभाव छ। 

अभावकैबीच बढी भन्दा बढी मानिसको परीक्षण सम्भव बनाउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ‘पुलिङ टेष्ट’ सुरु गरिएको छ। कम भन्दा कम परीक्षण सामग्री खपत गरेर बढी भन्दा बढी मानिसको प्रयोगशाला परीक्षण गर्ने विधि हो, ‘पुलिङ टेष्ट’।  

बुद्यबार दिउँसोसम्म नेपालमा पीसीआर विधिबाट १८ हजार ९ सय ९० जना व्यक्तिको मात्र कोरोनाभाइरस परीक्षण गरिएको छ। जसमा संक्रमित संख्या २ सय १७ छ। ३३ जना निको भएका छन्।

मंगलबार र वुधबार गरी प्रदेश २ मा मात्र ९४ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। समुदायमा कोरोना संक्रमण फैलिएपछि परीक्षणको दायरालाई व्यापक बनाउनुपर्ने कोभिड–१९ अस्पताल जनकपुरका प्रमुख डा. जामुन प्रसाद सिंहले बताए। लकडाउनसँगै परीक्षणको दायरा व्यापक बनाउनुपर्छ उनले भने,‘ समुदायका बढी भन्दा बढी मानिसको स्वाब संकलन र परीक्षण गरेर जोखिमलाई न्युनीकरण गर्न सकिन्छ ।’

नारायणी अस्पताल वीरगञ्जका प्रमुख डा. मदन उपाध्यायले लकडाउनको सुविधामा परीक्षणको लाभ लिन नसकेको बताए। ‘हामीले लकडाउन गरेकै संक्रमणको जोखिम थाहा पाउनलाई हो’ उनले भने,‘संक्रमण समुदायमा फैलिन नदिन परीक्षण व्यापक बनाइनु पर्थ्यो, त्यो गर्न सकिएन।’  

कोरोना भाइरस (कोभिड–१९) संक्रमण पत्ता लगाउने प्रभावकारी विधि हो, पीसीआर (पोलिमराइज चेन रियाक्सन)। यसका साथै द्रुत परीक्षण गर्ने अर्को विधि हो, आरडिटि। यस विधिबाट कोरोना भाइरस विरुद्ध शरीरमा बनेको एन्टीबडी पत्ता लगाइन्छ । तर, आरडिटीको विश्वसनीयता र प्रभावकारितामाथि विश्वभर प्रश्न चिन्ह खडा भएको छ, कति ठाउँमा परीक्षण बन्द गरिएको छ । त्यसैले पिसिआर नै भरपर्दो परीक्षण विधि मानिएको छ। यो परीक्षण विधि खर्चिलो पनि उत्तिकै छ।

शंकास्पद व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) भए नभएको  परीक्षण गर्न प्रती व्यक्ति किट (आरएनए) आवश्यक पर्छ। यसले किटको खपत बढाउँछ। गरिब देश र संक्रमण धेरै नफैलिएको देशहरुमा किटको खपत कम गर्न ‘पुलिङ टेष्ट’ अर्थात किफायती परीक्षण विधि अपाइएको छ।  

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका कन्सल्टेण्ट माइक्रोबायोलोजिस्ट एवं सरुवा रोग विशेषज्ञ डा. रञ्जित शाहले तीन दिनदेखि यो विधि अन्तर्गत परीक्षणलाई द्रूत गति दिन थालेका छ। ‘किटको खपत कम गरेर पीसीआर परीक्षणको दायरा बढाउन हामीले ‘पुलिङ टेष्ट’ विधिलाई प्रयोगमा ल्याएका छौं’ डा.साहले नागरिकसँग भने,‘यो किफायती मात्र नभई भरपर्दो विधि पनि हो।’

‘हामीले पहिला आन्तरिक परीक्षण गरेर हेरिसकेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वीकृतीका लागि प्रस्ताव गरेका थियौं’ उनले भने,‘मन्त्रालयबाट स्वीकृति पाएपछि औपचारिक परीक्षण गर्न सुरु गरिएको छ।’ मन्त्रालयले ‘पुलिङ टेष्ट’ लाई बिहीबार स्वीकृति दिएको थियो।  

यस विधिबाट एउटै किटबाट (आरएनए) ५ जनाको एकै पटक कोरोना परीक्षण गर्न सकिने डा. शाहले बताए। शंकास्पद व्यक्तिको स्वाब झिकेर भाईरल ट्रान्सपोर्ट मिडियम (भिटिएम) मा राखिन्छ। त्यो भिटिएम स्वाबसहित प्रयोगशालामा पुर्याइन्छ। प्रयोगशालामा पाँच जना व्यक्तिको नमूना भिटिएमबाट निकालेर अर्को ट्युबमा राखिन्छ। 

अर्थात १५ मिलिलिटर स्वाब मध्ये ७ सय सय माइक्रो लिटर स्वाब मात्र ट्युबमा राखेर मिसाइन्छ। त्यसमध्ये १ सय ४० माइक्रोलिटर स्वाब निकालेर किटमा(आरएनए)राखेर प्रोसेस र एक्सट्रयाक्सन अर्थात परीक्षण गरीन्छ। यो विधिले पाँच जनाकोे परीक्षण एउटै किट (आरएनए) प्रयोग गरी सम्भव हुन्छ।  

यसरी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आए पाँचै जनाको रिपोर्ट नेगेटिभ पुष्टि हुन्छ। यस विधिले चार वटा किट बचत हुन्छ। तर रिपोर्ट पोजेटिभ आए फेरी पाँचै जनाको नमुना छुट्टाछुट्टै किटमार्फत  परीक्षण गर्नुपर्ने हुन्छ। ‘यो विधिबाट धेरै किट बचत गर्न सकिन्छ’ डा. शाहले भने,‘ साधन स्रोत सीमित भएको मुलुकलाई यो विधि किफायती र भरपर्दो सावित भइरहेको छ।

पुलिङ टेष्ट जर्मनी जस्तो विकसित मुलुकले पनि प्रयोग गरिसकेको छ।’ धेरै संक्रमण नदेखिएको मुलुकले यो विधिमार्फत परीक्षणको दायरा बढाउन सक्छन।

प्रकाशित: ३१ वैशाख २०७७ ०९:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App