coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

म्याग्दीमा भर्ना अभियान सुरु (अपडेट)

म्याग्दी- जिल्लाको एक गाउँपालिकाले विद्यालय भर्ना अभियान सुरु गरेको छ । सरकारले जारी गरेको लकडाउन लम्बिएपछि पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिकाले वार्षिक परीक्षाको नतिजा प्रकाशनसँगै सामाजिक दूरी कायम गरी विद्यालय भर्ना अभियान सुरु गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाभित्र रहेका विद्यालयले शैक्षिक सत्र २०७७ को भर्ना अभियानको सूचना जारी गरेका छन् । लामो लकडाउनले शैक्षिक क्यालेन्डरलाई असर गरेको अवस्थालाई मध्यनजर गरी गत वैशाख २४ गते गाउँपालिका अध्यक्ष थमसरा पुनमगर, उपाध्यक्ष रेशम छन्त्याललगायतको उपस्थितिमा वैशाख २८ गतेदेखि जेठ ५ गतेसम्म भर्ना अभियान सुरु गरिएको शिक्षा शाखाका स्रोत व्यक्ति गिरीप्रसाद छन्त्यालले बताए । ‘सामाजिक दूरी कायम गरी भर्ना अभियान सञ्चालन गर्नेछौं,’ छन्त्यालले भने, ‘किताब र पोसाकको व्यवस्थापन गरेपछि लकडाउनलगत्तै पढाइ सुरु हुन्छ ।’ लकडाउन खुकुलो हुन सक्ने आँकलन गर्दै भर्ना अभियान, पुस्तक व्यवस्थान अभियान सुरु गरिएको ताकम माविका प्रधानाध्यापक ओमकार पौडेलले बताए ।  

‘गाउँपालिकाको सूचनाअनुसार नै अगाडि बढेका छौं,’ प्रअ पौडेलले भने, ‘भर्ना अभियानको गृहकार्य सुरु भइसकेको छ ।’ अभियानका बारेमा सामाजिक सञ्जाल, फोन तथा म्यासेञ्जरबाट समेत जानकारी गराइएको छ । गाउँपालिकामा १० मावि, १८ आधारभूत तह गरी २८ वटा सामुदायिक विद्यालयमा गत वर्ष तीन हजार चार सय ५७ विद्यार्थी अध्ययनरत थिए । यता, शिक्षा विकास तथा समन्वय एकाइ म्याग्दीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्रअनुसार नयाँ शैक्षिक सत्रका लागि अहिले नै भर्ना नलिन आग्रह गरेको छ ।  

गत सोमबार मन्त्रीस्तरीय निर्णयले कोरोना भाइरस संक्रमितको संख्या वृद्धि भइरहेको र लकडाउनसमेत खुकुलो नभएको अवस्थामा भर्ना अभियान र नयाँ भर्ना लिने अवस्था नरहेको पत्र प्राप्त भएको प्रमुख दलबहादुर थापामगरले बताए । ‘अर्को सूचना जारी नहुञ्जेल नयाँ भर्ना नलिन सबै स्थानीय तहलाई पत्र पठाइएको छ,’ प्रमुख थापाले भने, ‘तत्काल भर्ना अभियानलाई प्राथमिकता दिनु हुँदैन ।’ जिल्लाका अन्य स्थानीय तहले भने अर्को सूचना जारी नहुँदासम्म भर्ना अभियान रोकेका छन् ।  

 

 

 

 

 

प्रकाशित: ३० वैशाख २०७७ १४:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App