३० असार २०७७ मंगलबार
समाज

जसले लकडाउनमा दुई छाक पाए

इलाम- देशव्यापी लकडाउन भएपछि सर्वसाधारणको खाने–बस्ने बन्दोबस्त गर्न सरकारलाई सुरुदेखि निकै धौधौ भयो । र, अहिले पनि अवस्था झन्डै उस्तै छ । तर, फरक अवधारणा, चुस्त व्यवस्थापन र तत्परता हुने हो भने जस्तोसुकै कठिन बेलामा पनि विपन्नको हातमुख जोर्ने मेलो मिलाउन जटिल छैन भन्ने उदाहरण यहाँका केही ‘मनकारी’ युवाले देखाएका छन् ।  

गत चैत ११ देखि देशमा लकडाउन भएयता घर हुनेहरू घरभित्रै बसे । गाउँ अनि देशैबाहिर हुनेहरू पनि लर्केताँत लागेर घर फर्किए । तर, जसको घरै थिएन, परिवार थिएन, उनीहरू कहाँ गए ? के खाइरहेका छन् उनीहरू अहिले ? सहर–बजारका सडकमा दिनहुँ हुलका हुल भेटिने त्यस्ता (धेरैजसो मानसिक अवस्थासमेत ठीक नभएका ) व्यक्तिबारे लकडाउनको डेढ महिना बितिसक्दासम्म कसैले चासो राखेको छ ?  

इलाम सदरमुकाममा चाहिँ त्यसरी सडकमा डुल्नेहरूमात्र होइन, दिनहुँको रोजगारी गुमाएका, रोगी, असक्तसमेतलाई बिहान–बेलुकाको छाक टार्ने बाटो स्थानीय युवाले मिलाइदिएका छन् । १ युवकले सुरु गरेको अभियानको देशभित्र मात्र होइन, बाहिरसमेत चर्चा भएपछि अरूबेला सातामा १ पल्ट पनि भात खान नपाउने सडक मानवलाई अहिले दिनको २ छाक खाना जुरिरहेको छ । लकडाउन सुरु भएपछि यस्ता मानिसको दयनीय अवस्था देखेर ‘मन पग्लिएका’ युवक अहिले दिनहुँ सयजनाभन्दा धेरैले बिहान–बेलुका भरपेट खान पाउने व्यवस्था मिलाउन सफल भएका छन् ।

लडकडाउन सुरु भएको चौथो दिन अर्थात्, गत चैत १४ गते । अरूबेलाजस्तै इलाम सदरमुकामको ‘हाम्रो होटल’मा एक सडक मानव खानेकुरा माग्न आए । लकडाउनका कारण होटल बन्द थियो तर सञ्चालक देवी पौडेलले जसोतसो उनको त्यस दिनको भोक मेटाइदिए । तर, पौडेललाई त्यतिमै सन्तोष भएन । ‘भोलिपल्ट पनि उही अवस्था दोहोरिने त छँदैथियो, बजारमा देखिने यस्ता सयौं सडक मानवको हालत लकडाउनमा के होला भन्ने सोचेर ज्यादै मन पग्लियो,’ पौडेलले भने, ‘बरु, यस्ता सबै व्यक्तिलाई साझा किचनमा दिनैपिच्छे खाना खुवाउन के गर्नुपर्ला भनेर सोचें ।’  

उनले लकडाउन अवधिभर यस्ता व्यक्तिको भोक मेटाउने योजना बनाउँदा बनाउँदै आइपुगे अर्का समाजसेवी सुमन श्रेष्ठ । पौडेलको योजनामा सुमनले पनि साथ दिने भए । दुवैले भोलिपल्टदेखि यस्ता विपन्न व्यक्तिलाई दिनको दुई छाक खाना खुवाउने भए । र, भाँडाबर्तन जोहो गर्नतिर लागिहाले । इलाम बजारको ट्याक्सी स्टेन्डस्थित ‘निःशुल्क इलामेली किचन’मा चैत १५ गते पहिलो बिहानको खाना तयार हुँदानहुँदै पौडेल र श्रेष्ठको अभियानमा सहयोग गर्ने व्यक्ति/संस्थाको संख्या आधा दर्जन नाघिसकेको थियो । तर, उनीहरू दुवैले पहिले नै निर्णय गरिसकेका थिए– आएको जिन्सी सहयोगमात्र लिने, सहयोग कसैसँग नमाग्ने, नगद सहयोग त लिँदै नलिने ।  

नभन्दै, किचनलाई कसैले भाँडाबर्तन दिए, कसैले चामल र सागसब्जी । बजारका होटलमा खाना पकाउने÷बाँड्ने काम गरिरहेपनि लकडाउनले होटल बन्द हुँदा फुर्सदिला युवाले त्यही किचनमा खाना बनाउन सघाउने भए । सुरुको दिन १२ जना हाराहारीले खाना खाए । ‘अहिले यहाँ बिहान ६० देखि ७० र बेलुका ४० हाराहारीले निःशुल्क खाना खाइरहेका छन्,’ अभियन्ता पौडेल भन्छन्, ‘हामीले त सुरु मात्रै गरेका थियौं, इलाम र इलामबाहिर रहेका मनकारी समाजसेवीले अहिलेसम्म किचनमा केही अभाव हुन दिनुभएको छैन ।’

यहाँ सुरु–सुरुमा बजारका सडक मानव, जुत्ता सिलाउने, छाता, प्रेसर कुकर, ग्यास चुल्लो मर्मत गर्नेलगायत दैनिक रोजीरोटीले पेट पाल्ने व्यक्ति, खाना खान आउँथे । तर, केही दिनपछि इलाम अस्पतालमा बिरामी लिएर आएका कुरुवासमेत होटल नपाएर बिजोक खेप्नुपरेपछि यतै आउन थाले । ‘खाना खान नपाएर अभर परेका व्यक्तिलाई लक्षित गरी सामाजिक सञ्जालमार्फत् सूचना नै गर्‍यौं,’ पौडेलले सम्झिए, ‘हाम्रो सूचनापछि खाना खान आउनेको संख्यामात्रै बढेन, सहयोग गर्नेहरू पनि उसैगरी थपिँदै गए ।’ स्थानीयले आफूखुसी कम्तीमा ५ मुठा साग, १ किलो दालदेखि १० हजार रुपैयाँसम्मको खाद्यसामग्री दिएका छन् । अहिले दाताकै संख्या सय नाघिसकेको छ ।

यहाँ साकाहारी खानामात्र खुवाउने अभियन्ताको योजना थियो । तर, सदरमुकाम नै घर भएपनि युकेमा बसिरहेका जगत लामाले किचनमा दिनहुँ चाहिने मासु आफूले सहयोग गर्ने प्रस्ताव गरे । ‘व्यवस्थापन गर्न असजिलो थियो । तैपनि, साताको ३ छाक मासु खाना नै खुवायौं,’ श्रेष्ठले भने, ‘तर, मासुसहितको खानाभन्दा साकाहारी नै खुवाउने निर्णय भएपछि पुनः साकाहारीमै फर्केका छौं ।’

यहाँ चलिरहेको निःशुल्क किचनले मंगलबार ४५औं दिन पार गरेको छ । इलाम नगरपालिकाका मेयर, प्रमुख जिल्ला अधिकारीसहितको अनुगमन टोलीले अनुगमन गर्दा यहाँको खानाको गुणस्तर पनि राम्रो पाएको छ । ‘देश समस्यामा परेका बेला स्थानीय युवाले सुरु गरेको यो अभियान प्रशंसायोग्य छ,’ मेयर महेश बस्नेतले भने, ‘समस्यामा परेका व्यक्तिलाई यसरी दिनहुँ छाक टारिदिनु उदाहरणीय काम हो ।’  

निःशुल्क किचनमा दाताले दिनहुँ चामल, सागसब्जी, तेललगायतका सामग्री सहयोग गरिरहेका छन् । कसैले किचनमा खाना बनाउने, वितरण गर्नेहरूका लागि सुरक्षित रहनेखालको पोसाक (एप्रोन)समेत सहयोग गरेका छन् । पौडेलले भने, ‘धेरै दाताले देश÷विदेशबाट सहयोग गरिरहनुभएको छ, लकडाउन अवधिभर विपन्न व्यक्तिलाई भोकै नराखौं भन्ने पवित्र सोचाइले यो सम्भव भएको हो ।’

प्रकाशित: ३० वैशाख २०७७ १४:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App