coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भोको पेट र अनिँदो आँखाले निरन्तर पहरा

सीमामा पहरा गरिरहेका सशस्त्र प्रहरी। तस्विरः मिथिलेश यादव/नागरिक

लहान - राम्ररी ननिँदाएको डेढ महिना भैसक्यो। न खाने समय छ न सुत्ने। रातभर फोनको घन्टी बजिरहन्छ। ‘सर, पारिबाट मान्छे छिर्न खोज्दै छन्।’ राति फोनआउँछ। अनि कुदिहाल्नु पर्छ।  सीमामा प्रवेश रोकथाम गर्न तैनाथ सशस्त्र प्रहरीकर्मीलाई फोनमा निर्देशन, ढाड्स दिँदै रात बितेको पत्तै हुँदैन सशस्त्र प्रहरी सिरहाका गणपति प्रवीण कडेंललाई।

सीमामा आउजाउ रोक्न खटिएका सशस्त्र प्रहरी राष्ट्रियता, साहस, अत्मबल र व्यवसायीक तालिमकै भरमा टिकेका छन्। उनीहरुलाई न सुत्ने सुविस्ता छ  न बस्ने–खानेको राम्रो प्रबन्ध। जनतालाई कोरोना संक्रमणबाट जोगाउन असुविधा झेल्दै दशगजा क्षेत्रमा टोली बनाएर चौबिसै घण्टा पहरा गरिरहेका छन्, सशस्त्र प्रहरी। ग्लोब–मास्क लगाएर राइफल तथा लठ्ठी बोकेर सीमामा पहरा गर्ने सशस्त्र प्रहरी राति गरी प्रायः चाउचाउ र पानीकै भरमा ड्युटी गरिरहेका छन्। 

गणपति कडेंलले भने,‘४८ किलोमिटर सीमाको ५७ स्थानमा पाल टाँगेर पहरा दिइरहेका छौं।’ ४८ किलोमिटर दूरीमा करिब चार सय सशस्त्र प्रहरी परिचालित छन्। सशस्त्र प्रहरी नायब उपरीक्षकहरु फिल्डमा अहोरात्र खटिएका छन्। 

सशस्त्र प्रहरी जवानहरुको मनोबल उच्च राख्न गणपति कडेंल आफैं पनि फिल्डमा खटिन्छन्। सहकर्मीहरुलाई सोध्छन्,‘गाहृो–सारो के छ ?’ सहकर्मीहरुको अँध्यारो अनुहारभित्रको मौन पीडा गणपपति कडेंलले सहजै पढ्छन्। उनी सहकर्मीहरुलाई ढाड्स दिन्छन्, ‘संक्रमणका बेला सीमा कष्ट सहेर जनता जोगाउन गरेको प्रयत्नको इतिहासले मूल्यकांन गर्छ।

त्यसैले साहस नहार्नुस, हरेश नखानुस, गणपति कडेंलले, सहकर्मीको हौसला बढाए।’ सीमामा खटिएका सुरक्षाकर्मीका लागि खाने–बस्ने प्रबन्ध व्यवस्थित बनाउनेमा लागिपरेको उनले बताए। ‘ठाउँ ठाउँमा सिसीटिभी क्यामेरा जडान गर्ने योजना छ’, उनले भने,‘हामी निगरानीलाई अझ सघन बनाउँदै लैजानेतर्फ काम गरिरहेका छौं।’

कोरोना भाइरसको संक्रमण विश्वव्यापी बढेपछि सरकारले चैत ९ गते सीमा सिलको घोषणा गरेलगत्तै दशगजामा सशस्त्र प्रहरीको तैनाथी बढाइएको थियो। नेपाल–भारत आउजाउ गर्नेलाई रोक्न करिब डेढ महिनादेखि दशगजामा निगरानी राखिरहेको सशस्त्र प्रहरीले भने घामपानी खप्दै पहरा दिइरहेका छन्।

प्रदेश २ मा भारतको ४ सय ६४ किलोमिटर सीमा जोडिएको छ। यस प्रदेशमा भारतसँग सीमा जोडिएका एक सय ३२ वडा(गाउँ) छन्। यस प्रदेशको आठ वटै जिल्लाको सीमामा करिब ५ सय मिटरको दूरीमा एक–अर्कालाई देखिनेगरी सशस्त्र प्रहरीको डिउटी मिलाइएको प्रदेश २ सशसत्र प्रहरी प्रमुख डिआजी राजु अर्यालले बताए।

प्रकाशित: २९ वैशाख २०७७ ०२:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App