७ वैशाख २०८१ शुक्रबार
समाज

कर्णाली नदी गाउँ पस्ने खतरा, स्थानीयद्वारा जैविक तटबन्धमार्फत रोक्ने प्रयास

नदी कटान रोक्न जैविक तटबन्ध गर्दै स्थानीय। तस्विरः योगेश रावल

टीकापुर - टीकापुर नगरपालिका–८ वनगाउँमा कर्णाली नदीले कटान तिब्र पारेको छ। नदीमा पानीको बहाव बढेसँगै भैरहेको तिब्र कटानी रोक्न स्थानीयले प्रयास गरिरहेका छन्। उनीहरुले जैविक तटबन्धका माध्यमबाट नदी कटान रोक्ने प्रयास गर्न थालेका हुन्। 

जैविक तटबन्धले अहिले तत्काल केही राहत भएपनि वर्षाको समयमा नदी कटान रोक्न सम्भव नरहेको वडाध्यक्ष दीर्घ ठकुल्ला बताउँछन्। उनले नदी नियन्त्रणका लागि कुनै अर्को उपायको खोजीमा रहेको बताए। ‘अहिले नदीमा खासै पानी छैन। हामी आफैले पनि थामथुम गर्न सक्छौं। तर असार÷साउनमा नदी कटान रोक्ने कुरा हामीबाट सम्भव छैन’ उनले भने–‘कुनै भरपर्दो उपायको खोजीमा छौं।’

स्थानीयका अनुसार एकसातादेखि नदी कटान तिब्र भएको हो। उनीहरुले अहिलेसम्म डेढ सय मिटर क्षेत्रफलमा नदीले कटान गरिरहेको छ। नदी कटान समयमै रोक्न नसक्ने हो भने ठूलो विपत्ती आउने स्थानीय बताउँछन्। ‘हामी ठूलो विपत्तीको सामुन्ने छौं’ स्थानीय जीतबहादुर चौधरीले भने–‘नदी गाउँ पसेपछिको अवस्था कल्पना समेत गर्न सकिदैन।’ नदी कटानको जोखिममा थुप्रै गाउँ रहेका छन।

स्थानीयका अनुसार वनगाउँ, फाँटा, बटनपुर, अर्नुवा, कालिमाटी, कर्मिडाँडा लगायतका गाउँ जोखिममा छन। नदी अहिले कटान भैरहेको ठाउँबाट भित्र पस्यो भने यी सबै गाउँ बगर बन्ने खतरा रहेको स्थानीयको भनाई छ। नदीले कैलाली र बर्दियालाई जोड्ने सत्तीघाटको पुललाई समेत क्षति पु¥याउने अवस्था रहेको स्थानीय धर्मसिँह बुढाले बताए। उनले नदी कटान तिब्र भएपछि थुप्रै घरपरिवार त्रासमा रहेको बताए। ‘हामी निदाउन सकेका छैनौ’ उनले भने–‘गाउँलेहरुमा कुन बेला नदीले एकै चिहान बनाउने हो भन्ने त्रास छ।’ 

रानी जमरा कुलरीया सिँचाई आयोजनाले यी गाउँलाई नदी कटानबाट जोगाउन प्रयास गरिरहेको छ। उसले बस्ती नजिक रहेको कर्णाली नदीको अधिकांश ठाउँमा तटबन्ध गरेको छ। यी गाउँलाई समेत नदी कटानबाट जोगाउन आयोजनाले पाँच वर्षअघि तटबन्धको ठेक्का दिएको थियो। 

आयोजनासँग आर्थिक वर्ष २०७२/०७३ मा ठेक्का सम्झौता गरेको सिद्धी साई कन्ट्रक्सनले अहिलेसम्म तटबन्धको काम राम्रोसँग सुरुवात समेत गरेको छैन। आयोजना र निर्माण पक्षबीच २०७४ जेठ मसान्तसम्म १ हजार छ सय मिटर तटबन्ध निर्माणको काम सम्पन्न गर्ने सम्झौता भएको थियो। उसले समयमा काम सम्पन्न गर्न नसकेको भन्दै आयोजनाले एक वर्ष म्याद थपेको थियो। 

निर्माण पक्षले थप भएको एक वर्षमा समेत तटबन्धको काम सन्तोषजनक ढंगले अघि बढाउन नसकेको भन्दै आयोजनाले सो कामलाई रुग्ण ठेक्कामा राखेको थियो। सरकारले एक पटक रुग्ण ठेक्कालाई समेत अन्तिम मौका दिने भन्दै २०७६ फागुन मसान्तमा निर्णय गरेपछि निर्माण पक्षले २०७७ असार मसान्तसम्मको समयसीमा पाएको छ। 

निर्माण पक्षले अन्तिम पटक पाएको समयसीमा सकिन झण्डै दुई महिना मात्रै बाँकी रहँदा समेत काम सुरु नगरेको आयोजनाले जानकारी दिएको छ। ‘अहिलेसम्म कुनै गतिविधि छैन’ सिँचाई आयोजनाका डिभिजन इन्जिनियर विराट ज्ञवालीले भने–‘अन्तिम पटकका लागि थपिएको समयमा समेत काम हुने देखिदैन।’

निर्माण पक्षले तटबन्ध निर्माण गर्ने भन्दै हरेक वर्ष सत्ती कर्णाली सामुदायिक वनमा खाल्डो खनेर रेखाङ्कन गर्ने गरेको छ। समयमा तटबन्ध निर्माण नभएपछि नदीले सोही खाल्डोमा कटान तिब्र पारेर क्षति पु¥याउने गरेको सामुदायिक वनका अध्यक्ष धनसिँह साउँदले बताए। ‘तटबन्ध निर्माण गर्ने भनेपछि मात्रै १० विगाह जमिन बगिसक्यो’ उनले भने–‘तटबन्धका लागि खनिएको खाल्डोले झन धेरै नदी कटान भैरहेको छ।’
नदी कटान भैरहेको ठाउँमा टीकापुर नगरपालिकाका मेयर तपेन्द्रबहादुर रावल लगायतको टोलीले स्थलगत निरिक्षण गरेको छ। स्थानीयले हरेक वर्ष नदी नियन्त्रणका लागि नगरपालिकामा आग्रह गर्दै आएका छन।

प्रकाशित: २८ वैशाख २०७७ १०:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App