३० असार २०७७ मंगलबार
समाज

बस्तीमाथिको सडकले ५० घरधुरी जोखिममा

सडकमाथिबाट खस्ने तयारीमा रहेको ठूलो चट्टान । तस्बिर सौजन्य : ठाकुर सुबेदी ।

म्याग्दी- बस्ती माथिबाट अव्यवस्थित सडक निर्माण हुँदा म्याग्दीको मंगला गाउँपालिका–५ अर्मन गाउँ उच्च जोखिममा परेको छ । गत वर्षदेखि निर्माण सुरु गरेको किमचौर–कमिरे हुँदै धारा जोड्ने सडक तलको अर्मन पहिरोको जोखिम बढाएको हो ।

अर्मन बस्तीको सिरानीबाट स्थानीयको सहमति बिना सडक विस्तार गरेपछि तत्काल १२ घरधुरी उच्च जोखिममा रहेको धनश्याम सुबेदीले बताए । ‘ठूल्ठूला ढुंगा बस्नी नजिक आइपुगेको छ, लकडाउनमै विस्थापित हुनुपर्ने खतरा बढ्यो’ सुबेदीले भने । उनका अनुसार सिंगो अर्मन बस्ती नै पहिरोको चपेटामा पर्ने खतरा बढेको भन्दै तत्काल सडक निर्माणकार्य रोक्न माग गरिएको छ । केहीदिन यता लगातारको बर्षाले कुनैपनि बेला विस्थापित हुनुपर्ने अवस्था आएको भन्दै स्थानीय त्रसित भएका छन् ।

तत्काल ब्यवस्थापन नगरे स्थानीय तुलसी सुबेदी,डण्डपानी सुबेदी, लक्ष्मी सुबेदी, बुद्धिप्रसाद कँडेल लगायत १२ परिवार विस्थापितको खतरा रहेको भन्दै स्थानीयले शनिबार जनप्रतिनिधिलाई ध्यानार्कषण गराएका छन् । सडक विस्तारले शिशु कल्याण मावि नै जोखिममा परेको भन्दै लगातारको बर्षाले कुनैपनि बेला असर गर्नेतर्फ वडा अध्यक्ष भुपेन्द्रबहादुर खत्रीको समेत ध्यानार्कषण गराइएको छ ।

‘गाउँ नै विस्तापित गर्ने अवस्थामा चुप लागेर बस्न सक्दैनौ, बस्तीलाई विस्थापित गरी सडक चाहिदैन’ प्रेम बहादुर रोकाले भने । भिरालो जमिनमा बस्तीमाथिबाट डोजरले सडक खनिएकाले पनि जमिन हल्लिएर पानी पर्नासाथ पहिरो खस्न थालेको उनको भनाइ छ ।

करिब ८० लाख लागत अनुमान गरिएको सडक विस्तारको क्रममा कडा चट्टान पन्छाउनुपर्ने भएकाले समेत तत्काल ब्यवस्थापन नगरे अर्मन गाउँका करिब ५० घरधुरी बाढीपहिरोको जोखिममा बस्नुपरेको स्थानीय यूवा ठाकुर सुबेदीले बताए ।

भौगोलिक र वातावरणीय मूल्यांकनबिना नै धमाधम बस्तीमाथिबाट सडक निर्माण गरेको भन्दै जनप्रतिनिधिलाई समेत तत्काल रोक्न माग गरेका छन् । डोजरले खनिएको कच्ची सडकमा स्थानीयले तत्काल रोक्नुपर्ने माग गरेका छन् । गाउँमाथिबाट ठूला ढुंगा खस्ने थालेको अवस्थामा बस्तीलाई सुरक्षित बनाउन ढुंगा फुटाउन समेत स्थानीयले माग गरेका छन् ।

यता वडाअध्यक्ष खत्रीले निर्माणको कामलाई ब्यवस्थित अगाडि बनाउने आश्वासन दिए । ‘उचित ब्यवस्थापनका लागि सक्रिय छु,‘पहिरोको जोखिम न्यूनिकरण गर्नुपर्छ’ उनले भने । लकडाउनको समयमा गाउँपालिकाबाट गएका प्राविधिक सहितको टोलीले सडक विस्तारमा सघाएको भन्दै स्थानीयले शनिबार अवरोध गरेका थिए ।

 

 

 

 

प्रकाशित: २८ वैशाख २०७७ १३:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App