३० असार २०७७ मंगलबार
समाज

अव्यवस्थित सडकले गाउँ नै जोखिममा

म्याग्दी- बस्ती माथिबाट अव्यवस्थित सडक निर्माण हुँदा म्याग्दीको मंगला गाउँपालिका–५ अर्मन गाउँ उच्च जोखिममा परेको छ।  गत वर्षदेखि निर्माण सुरु गरेको किमचौर–कमिरे हुँदै धारा जोड्ने सडक तलको अर्मन पहिरोको जोखिम बढाएको हो । अर्मन बस्तीको सिरानीबाट स्थानीयको सहमति बिना सडक विस्तार गरेपछि तत्काल १२ घरधुरी उच्च जोखिममा रहेको धनश्याम सुवेदीले बताए।  ‘ठूल्ठूला ढुंगा बस्नी नजिक आइपुगेको छ, लकडाउनमै विस्थापित हुनुपर्ने खतरा बढ्यो’ सुबेदीले भने।  उनका अनुसार सिंगो अर्मन बस्ती नै पहिरोको चपेटामा पर्ने खतरा बढेको भन्दै तत्काल सडक निर्माणकार्य रोक्न माग गरिएको छ।  केहीदिन यता लगातारको बर्षाले कुनैपनि बेला विस्थापित हुनुपर्ने अवस्था आएको भन्दै स्थानीय त्रसित भएका छन्।  

तत्काल ब्यवस्थापन नगरे स्थानीय तुलसी सुवेदी,डण्डपानी सुवेदी, लक्ष्मी सुवेदी, बुद्धिप्रसाद कँडेल लगायत १२ परिवार विस्थापितको खतरा रहेको भन्दै स्थानीयले शनिबार जनप्रतिनिधिलाई ध्यानार्कषण गराएका छन्।  सडक विस्तारले शिशु कल्याण मावि नै जोखिममा परेको भन्दै लगातारको बर्षाले कुनैपनि बेला असर गर्नेतर्फ वडा अध्यक्ष भुपेन्द्र बहादुर खत्रीको समेत ध्यानार्कषण गराइएको छ।  ‘गाउँ नै विस्तापित गर्ने अवस्थामा चुप लागेर बस्न सक्दैनौ, बस्तीलाई विस्थापित गरी सडक चाहिदैन’ प्रेम बहादुर रोकाले भने। भिरालो जमिनमा बस्तीमाथिबाट डोजरले सडक खनिएकाले पनि जमिन हल्लिएर पानी पर्नासाथ पहिरो खस्न थालेको उनको भनाइ छ।  करिब ८० लाख लागत अनुमान गरिएको सडक विस्तारको क्रममा कडा चट्टान पन्छाउनुपर्ने भएकाले समेत तत्काल ब्यवस्थापन नगरे अर्मन गाउँका करिब ५० घरधुरी बाढीपहिरोको जोखिममा बस्नुपरेको स्थानीय यूवा ठाकुर सुवेदीले बताए।  

भौगोलिक र वातावरणीय मूल्यांकनबिना नै धमाधम बस्तीमाथिबाट सडक निर्माण गरेको भन्दै जनप्रतिनिधिलाई समेत तत्काल रोक्न माग गरेका छन्।  डोजरले खनिएको कच्ची सडकमा स्थानीयले तत्काल रोक्नुपर्ने माग गरेका छन्।  गाउँमाथिबाट ठूला ढुंगा खस्ने थालेको अवस्थामा बस्तीलाई सुरक्षित बनाउन ढुंगा फुटाउन समेत स्थानीयले माग गरेका छन्।  यता वडाअध्यक्ष खत्रीले निर्माणको कामलाई ब्यवस्थित अगाडि बनाउने आश्वासन दिए।   ‘उचित ब्यवस्थापनका लागि सक्रिय छु,‘पहिरोको जोखिम न्यूनिकरण गर्नुपर्छ’ उनले भने।  लकडाउनको समयमा गाउँपालिकाबाट गएका प्राविधिक सहितको टोलीले सडक विस्तारमा सघाएको भन्दै स्थानीयले शनिबार अवरोध गरेका थिए।  

 

प्रकाशित: २८ वैशाख २०७७ ०९:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App