७ वैशाख २०८१ शुक्रबार
समाज

डेटिङ एपबाट आत्मीयताको खोजी

आफ्नो स्मार्टफोनको स्क्रिनमा रव (परिवर्तित नाम) सुन्दर देखिन्छन्। २४ वर्षका उनी संसारको वित्तीय केन्द्र मानिएको वाल स्टिञटमा काम गर्छन्। डेटिङ एपमा उनको आकर्षक सम्भावना छ। कुनै पनि महिलालाई आफूतिर आकर्षित गर्न उनलाई कुनै कठिनाइ छैन। तर मार्चमा न्युयोर्कमा कोभिड १९ को महामारी सुरु भएपछि एकल व्यक्तिका लागि समय पनि निराशाजनक बन्न थाल्यो। 

सामाजिक दूरीका कारण शारीरिक भेटघाटमा कठिनाई हुने नै भयो तर कतिपयले अझै पनि प्रयास गरिरहेका छन्। सामाजिक रुपमा बढी कट्टर मानिने बंगलादेशमा सहवास बिरलै हुन्छ तर त्यहाँका जोडीहरु लकडाउनअघि नै विवाह सम्बन्धमा बाँधिन हतारिएका थिए। इटालीमा प्रेमी जोडीले सुपरमार्केटको लाइनमा एकअर्कालाई भेटे। तर धेरैले प्रेमको खोजी इन्टरनेटमा गरे।

लाओसमा जोडी नभएकाका लागि भर्चुअल गेम खेल्ने व्यवस्था गरियो। चीनमा मानिसहरु व्यक्तिगत रुपमा म्यासेज बोर्डमा गोप्य सन्देश पठाउनुअघि रातभर इन्टरनेट डिस्कोमा नाचे। कतिपयले भर्चुअल डेटिङजस्तो नयाँ अवधारणालाई आत्मसात गरे। लकडाउनको एकांकीपनले उनीहरुलाई रोमान्टिक सम्बन्धबाट के आशा गर्ने भन्ने विषयमा पुनर्विचार गर्न उद्वेलित बनायो। 

हाल विश्वका २४ करोड मानिस डेटिङ एप र वेबसाइट प्रयोग गर्छन्। त्यसो त कोरोना महामारी सुरु हुनुअघि पनि अमेरिकी जोडीहरु व्यक्तिगत भेटघाटभन्दा अनलाइन डेटिङ सेवामार्फत नै एकअर्कासँग सम्पर्क गर्थे भन्ने स्टानफोर्ड विश्वविद्यालय र युनिभर्सिटी अफ न्यु मेक्सिकोले गरेको  एक अध्ययनले देखाएको छ। धनी देशमा मात्र होइन, यस्ता एपहरु गरिब देशमा पनि उत्तिकै लोकप्रिय छन्। खासगरी भौतिक डेटिङलाई नराम्रो मानिने देशहरुमा पनि यस्ता एपको प्रयोग बढी छ।

हाल विश्वका २४ करोड मानिस डेटिङ एप र वेबसाइट प्रयोग गर्छन्। कोभिड १९ संक्रमण सुरु भएपछि यस्ता एप र वेबसाइटको प्रयोगकर्ता ह्वात्तै बढेका छन्।
 

बंगलादेश र इजिप्टका बेजोडीहरु टिन्डर नाम गरेको एपमा झुम्मिन्छन्। एप एनी नामक मार्केट अनुसन्धान फर्मका अनुसार विश्वका सबैभन्दा वढी लोकप्रिय ५ वटा डेटिङ सेवाको प्रयोग कोभिड १९ संक्रमण सुरु भएपछि ह्वात्तै बढेको छ। फेब्रुअरीका तुलनामा ओकेक्युपिड, प्लेन्टीअफफिस, टिन्डर, हिग र म्याचडटकमजस्ता साइटको प्रयोग अप्रिलमा २७ प्रतिशतले बढेको थियो। महामारीले अत्यधिक प्रभाव पारेको फेब्रुअरीमा टानटान भन्ने चिनियाँ एपमा प्रयोगकर्ताले सामान्यभन्दा ३० प्रतिशत बढी समय बिताएका थिए। 

महामारीपूर्व अनलाइन डेटिङ गर्नेहरुले आफ्नो साथीको चञ्चलताका बारेमा गुनासो गर्थे। कपी मिट्स वेगल नामक एपका अनुसार कतिपयले आपसी वार्तालाप अगाडि बढ्नुुअघि सम्भावित साथी हराउने गरेको गुनासो गर्ने गरेका थिए। पिउ नामक रिसर्च एजेन्सीले गत अक्टुबरमा गरेको सर्भेअनुसार अमेरिकीले अनलाइन डेटिङ त्यति सुखद नभएको अनुभव सुनाएका थिए। तर कोभिड सुरु भएपछि डेटिङका प्रयोगकर्ता लामो समयसम्म आपसी वार्तालापमा जोडिएको देखिएको छ। टिन्डरको प्रयोग फेब्रुअरीदेखि मार्चसम्ममा २५ प्रतिशतले बढेको छ। ‘मानिसहरु अहिले एकअर्कालाई चिन्न समय दिने गरेका छन्’, कफी मिट्स वेगलकी क्याङ भन्छिन्। 

बंगलादेशकी सेहनाजले आफ्नो केटा साथीसँग अहिले घण्टौं गफ गर्छिन्। उनले टिन्डरमा ती केटा साथीलाई ५ महिनाअघि भेटेकी थिइन्। उनी लकडाउनका बेला नयाँ साथी पाउन गाह्रो हुनेहुँदा हालको सम्बन्धप्रति निष्ठावान् बनेकी छन्। त्यसो त व्राक नाम गरेको गैरसरकारी संस्थाकी सेदा वानीका अनुसार गरिब परिवारका पुरुषले अपरिचितसँग कुरा गर्लान् भन्ने डर र खर्चका कारण पनि महिलालाई मोबाइल फोन प्रयोग गर्न समेत दिँदैनन्।

यो महामारीमा एकल व्यक्ति आफ्नो अनुहार देखाउन उद्यत् देखिएका छन् जब कि उनीहरु यसअघि वेबक्याममा आफ्नो अनुहार देखाउन चाहँदैनथे। ‘भिडियो कन्फरेन्स व्यापार व्यवसायसँग सम्बन्धित विषय हो’, अस्ट्रेलियाको पर्थका २८ वर्षीय माइक भन्छन्। उनी डेटिङमा भिडियो डरलाग्दो हुने बताउँछन्। त्यसो त महामारीअघि अमेरिकाका ६ प्रतिशत एकल व्यक्तिले भिडियोमार्फत अन्य मानिससँग कुराकारी गर्ने गरेको अप्रिलमा गरिएको एक सर्भेले देखाएको थियो। 

महामारीपछि भने जुममार्फत साथी तथा परिवारजनसँग कुराकानी गर्नु नियमितजस्तै भएको छ। म्याचले गरेको अर्काे सर्भेले ७० प्रतिशत अमेरिकी एकलहरुले अहिले भिडियो प्रयोग गर्न थालेका छन्। गत जुलाईमा मात्र भिडियो च्याट सुरु गरेको बम्वलका अनुसार मार्चको तेस्रो र चौथो सातामा भिडियो कल गर्नेहरुको संख्यामा ८४ प्रतिशतले वृद्धि भएको छ। हिंग, द लिग र म्याचले गत महिनादेखि भिडियो च्याट सेवा सुरु गरेका छन्। फेसबुक डेटिङ र टिन्डर पनि छिटै यो सेवा सुरु गर्ने तयारीमा छन्। 

अचम्म त के छ भने मानिसहरु आफ्नो मनका कुरा भिडियो डेटिङमा सेयर गर्न लालायित देखिएका छन्। घरमै बसेर यस्तो गफ गर्दा डिस्टर्ब पनि नहुने उनीहरु बताउँछन्। पर्थका माइकको विचारमा यस्तो भिडियो डेटिङमा गफ गर्दा हुने रोकावटलाई निस्तेज पार्न एकअर्कालाई ध्यानपूर्वक सुन्न आवश्यक छ र वार्तालापको गहिराइमा जान आवश्यक पर्छ। ‘त्यसो गर्न नसक्दा एकअर्कालाई बुझ्न कठिन हुन्छ र समयको लगानी बेकार हुन्छ’, नैरोवीका पत्रकार अबिगाली अरुंगा भन्छन्।

मेनहटनकी मनोचिकित्सक मेरभ गरका अनुसार कोभिड महामारीपूर्व रोमान्समा गरिने हतारले अप्ठेरो र असहज स्थिति सिर्जना गर्ने गरेकोमा हाल मानिसहरु असल साथीको चाहना गर्ने गरेका छन्। मेरभका अनुसार महामारीपूर्व उनका युवा बिरामी आकस्मिक यौन सम्बन्ध राख्न दबाब महसुस गर्थे। यस्तो चिन्ताले डेटिङलाई प्रभावित गथ्र्याे। तर रवजस्ता आत्मविश्वास भएका युवा बंैकरको फरकफरक केटी साथीसँग संसर्ग हुने गरे पनि अन्ततः उनीहरुलाई असन्तोष हात लाग्थ्यो।

‘आइसोलेसनले उनीहरुको भावानात्मक सम्बन्धलाई सुधार गरेको छ’, मनोचिकित्सक मेरभ भन्छिन्। कोभिड माहामारीअघि डेटिङ एपका आकस्मिकताले पिरोल्ने गरेको बताउनेहरु हाल आएर मानिसहरु बढी दयालु र उत्तरदायी भएको बताउन लागेका छन्। मार्चमा इन्डियाना विश्वविद्यालयले गरेको एक अध्ययनअनुसार डेटिङ एपका प्रयोगकर्ता अहिले मित्रवत् छन, भिडियो च्याट गर्न इच्छुक र गहन वार्तालाप गर्न तत्पर देखिएका छन्।

त्यसो त लकडाउन खुला भएका स्थानमा पुरानै तरिकाको पुनरावृत्ति हुन थालेको छ। बिस्तारै खुल्दै गरेको चीनको बेइजिङका पार्क र रेस्टुरेन्टमा जोडीहरु भरिन थालेका छन्। इरानका एक शिक्षकले कार राइड सेयरिङ एपमा ड्राइभरका रुपमा आफूलाई जोडेका छन्। उनको उद्देश्य कुनै महिला यात्री भेट्न पाइन्छ कि भन्ने हो। 

म्याचकी सम्बन्ध विज्ञ रासेल डिअल्टोका अनुसार कोभिड १९ को चिन्ताबाट मुक्त भएपश्चात् एकलहरुलाई सम्भावित जोडीसँगको गाढा सम्बन्धका बारेमा चिन्ता हुनेछ। मार्चदेखि सर्भेमा सहभागी भएका ओकेक्युपिड प्रयोगकर्ताले आगामी दिनमा पनि भिडियो च्याट प्रयोग गर्ने बताएका छन्। भर्चुअल डेटिङ महामारीपश्चात् पनि निरन्तर रहने देखिएको छ।
(इकोनोमिस्ट पत्रिकामा प्रकाशित आलेखको भावानुवाद)

प्रकाशित: २८ वैशाख २०७७ ०२:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App