८ वैशाख २०८१ शनिबार
समाज

तिब्बत सरकारले ताप्लेजुङको सीमावर्ती क्षेत्रमा पठायो खाद्य सामग्रीसहित पीपीई

ताप्लेजुङ- चीनको स्वसासित क्षेत्र तिब्बत सरकारले ताप्लेजुङको सीमावर्ती क्षेत्रका लागि खाद्यान्नसहित व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री(पीपीई) पठाएको छ । तिब्बतको रिउ मामलाका जानकार एवम् त्यहाँको प्रशासनिक निकायका बिश्वासपात्र ओलाङ्चुङगोला निवासी छेतेन वालुङले शुक्रवारै नेपाल–तिब्बत सीमावर्ती क्षेत्र टिपताला आई पुग्नु पर्ने सामग्री हिउँका कारण बाटोमा रोकिएको जानकारी दिए । ‘सामान आउँदै छ, शनिबारसम्ममा टिपताला आई पुग्ने छ’सीमावर्ती क्षेत्र फक्ताङ्लुङ गाउँपालिकाका प्रवक्ता समेत रहेका वालुङले भने ।

तिब्बत सरकारले पठाईदिएको सामग्री बुझ्न फक्ताङ्लुङ गाउँपालिका वडा नं ७ ओलाङ्चुङगोलाका वडाध्यक्ष छेतेन शेर्पाको नेतृत्वमा त्यहाँका जनप्रतिनिधि र सामाजिक अगुवाको टोली टिपताला पुगिसकेको छ । टिपतालासम्म तिब्बत सरकार आफैंले ल्याईदिने सामग्री त्यहाँबाट वितरण स्थलसम्म भने फक्ताङ्लुङ गाउँपालिकाले ल्याउनुपर्ने छ । टिपतालाबाट ओलाङ्चुङगोला ल्याई पुर्‍याउन मात्र करिव २५ किलोमिटर दुरी पार गर्नुपर्छ ।

चौंरी र मान्छेलाई बोकाएर गोला ल्याई पुर्‍याएपछि प्राप्त राहत सामग्री स्थानीयलाई वितरण गर्ने स्वास्थ्य सुरक्षाका सामग्री आवश्यकताको आधारमा गाउँपालिका भरीका स्वास्थ्य संस्थालाई वितरण गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष सरोज एभेङ लिम्बूले बताए ।

फक्ताङ्लुङ गाउँपालिकाका प्रवक्ता वालुङका अनुसार तिब्बत सरकारले प्रति बोरो २५–२५ किलोग्राम वजन भएको २ सय ५० बोरा चामल र उतिनै परिणामको मैदा, प्रति बोरा २५ किलो वजन भएका ६५ बोरा नुन, ३ सय ३० ग्राम प्रतिपोका वजन भएको र ३० पोका बराबर एक काटन रहने गरी ६५ काटन दुध पाउडर, प्रतिबोरा २० किलो वजन भएको ६५ बोरा चिनी र प्रतिजार ५ लिटर भरिएको १ सय जार तेलसहित एन–९५ मास्क, सर्जरी मास्क र थर्मगनसहितका सामग्री तिब्बत सरकारले उपलब्ध गराएको छ ।

प्रकाशित: २७ वैशाख २०७७ ०५:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App