७ वैशाख २०८१ शुक्रबार
समाज

भेरी नगरपालिकाद्वारा लकडाउन पीडितलाई खाद्य सहयोग

भेरी नगरपालिका वडा नम्वर १ का वडाध्यक्ष दिपक राना शुक्रबार विपन्न महिलालाई खाद्य सहयोग दिँदै । तस्बिर : जनक/नागरिक

जाजरकोट- जिल्लाको भेरी नगरपालिकाले लकडाउनको ४५ औ दिनदेखि विपन्न परिवारहरुलाई विभिन्न खाद्य सामग्रीहरु वितरण गर्न सुरु गरेको छ । पहिलो चरणमा १५ दिनको प्याकेज बनाएर नगरपालिकाले शुक्रबारदेखि वडा नम्वर १, ५ र ६ का विपन्न सर्वसाधारणहरुलाई चामल, दाल, नुन, तेल लगाएतका सामग्रीहरु वितरण सुरु गरेको हो ।

लकडाउनका कारण मज्दुरी तथा ज्यालादारी काम गरेर आयआर्जन गर्न नपाइ समस्यामा परेका परिवारहरुका लागि नगरपालिकाले १५ दिनको लागि उमेर अनुसार खाद्य सामग्रीको मात्रा तोक्दै  राहत स्वरुप खाद्य सामग्रीहरु वितरण सुरु गरेको हो । भेरी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलवहादुर घर्तीले शुक्रबारदेखि समय तालिका बनाएर तोकिएको खाद्य सामाग्री वितरण सुरु गरिएको बताए ।

उनले १५ दिनको राहत प्याकेज अन्तरगत परिवारमा भएका सदस्यहरु मध्य २ वर्षसम्मको बालक या बालिकाका लागि प्रति व्यक्ति २ केजी चामल, १२ वर्षसम्मको  व्यक्तिका लागि प्रति व्यक्ति ५ केजी चामल र १२ वर्ष माथिकोलाई प्रति व्यक्ति ८ केजी चामल तथा १ लिटर तेल, १ केजी नुन ५ केजी दाल, २ वटा सावुन उपलव्ध गराउन सुरु गरिएको बताए ।

उनका अनुसार शुक्रबारदेखि वैशाखको अन्तिमसम्म वितरण गर्ने कार्यक्रम राखिएको छ । खाद्य सामाग्री वितरणबाट वडा नम्वर ३, ४, ८ र ११ बाहेक १ हजार १ सय ६ जना विपन्न सर्वसाधारणहरु लाभान्वीत हुनेछन् । वडा नम्वर ३, ४  ८ र ११मा संकलन भएको नामावलीबारे थप अध्ययन गर्नुपर्ने भएकोले उपमेयर भावना भन्डारीको संयोजकत्वमा गठिन समितिले  प्रतिवेदन पेस गरेपछि त्यहाँ कति जनाले राहत सामाग्री पाउने भनेर एकिन हुने पनि प्रमुख प्रशासकीय अधिकृत घर्तीले बताए ।

घर्तीले दिएको जानकारी अनुसार १ देखि २ वर्षसम्मका ५० जना, १२ वर्षसम्मका २ सय ८९ जना र १२ वर्ष भन्दा माथिका ७ सय ६८ जनाले यो खाद्य सहयोग पाउने छन् । खाद्य सामाग्री वितरणबाट भेरी नगरपालिकाको वडा नम्वर १ मा ३७ परिवार, २ मा ४३ परिवार, ५ मा १७ परिवार, ६ मा १३ परिवार, ७ मा ३५ परिवार, ९ मा २९ परिवार १० मा २९ परिवार, १२ मा २७ परिवार, र १३ मा ३५ परिवार लाभान्वीत हुने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले राहत सहयोग स्वरुप वितरण गर्ने खाद्य सामाग्रीका लागि वडाबाट आएको सिफारीसमा परेका नामहरु विवादित भएपछि खाद्य सामाग्री वितरणमा ढिलाइ भएको बुझिएको छ । जनप्रतिनिधिहरुले आवश्यकता परेका भन्दा पनि आफन्तहरु र आफ्नो नजिककाहरुको नाम पनि समेटेका कारण समस्या परेको बताइएको छ । लकडाउनको अवस्था हेरेर यो राहत वितरण कार्यक्रमलाई निरन्तरता दिइने नगरपालिकाले जनाएको छ ।

 

प्रकाशित: २६ वैशाख २०७७ १५:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App