coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

वीरगञ्जमा यसरी फैलियो संक्रमण

लहान - बैशाख १ गत्ते वीरगंज महानगरपालिका–३ छपकैया मुस्लिम बस्तीका ३६ वर्षीय पुरुषमा कोभिड–१९ पोजेटिभ पुष्टि भयो। उनलाई तत्काल नारायणी अस्पताल वीरगंजको आइसोलेसन कक्षमा भर्ना गरेर निगरानीमा राखियो। तर, उनको नजिकको सम्पर्क व्यक्ति अर्थात परिवारलाई तत्काल परीक्षणको दायरामा ल्याइएन।

बैशाख २२ गते अर्थात २२ दिनपछि उनको परिवारका ३२ जना सदस्यको स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो। जसको परीणाम बधबार पोजेटिभ आयो। ३६ वर्षीय पुरुषका १७ जना परिवारिक सदस्य पनि कोभिड–१९ पोजेटिभ भेटिए। १० जना पुरुष र ७ जना महिलाहरु छन्। 

जसमा २ महिने शिशु, ६ महिने बालिका, ३ वर्षीय बालक, ९ वर्षीय बालक, १२ वर्षीय बालक, १४ वर्षीय किशोर, १६ वर्षीय किशोर, २९ वर्षिया महिला, ३२ वर्षिया महिला, ३५ वर्षिया महिला, ४० वर्षीय पुरुष, ६२ वर्षिया महिला र ६६ वर्षीय पुरुष छन। 

३६ वर्षीय कोरोना संक्रमित पुरुष संक्रमण पुष्टि भएको तीन दिनअघिसम्म वडामा राहत बाड्न सक्रिय रहेको खुलेको छ। उनका परिवारका सदस्य बस्तीभरी हिँडडुल गरेको र धेरै मानिसको सम्पर्कमा आएको खुलेको छ। 

बस्तीमै रहेको दुई वटा तरकारी पसल र एउटा किराना पसलमा समेत उनीहरु गएको खुलेको छ। बस्तीको एक मात्र चापाकलकै पानी उपभोग गरेको पाइएको छ। सो चापाकलको पानी बस्तीका १८ घरघुरीका मानिस उपभोग गर्दै आएका छन्। 

यस बस्तीका मात्र नभइ संक्रमितहरुको सम्पर्कमा कति मानिस आए, पहिल्याउन सकस भैरहेको छ। बस्तीको तरकारी पसल संचालक र उनको सम्पर्कमा कति जना मानिस आए ? किराना पसल संचालक र उनको सम्पर्कमा आएका मासिनहरुको पहिचान चुनौतीपूर्ण बनेको छ। 

संघीय सरकारले प्रदेश २ लाई कोरोना भाइरस(कोभिड–१९) संक्रमणको उच्च जोखिम ‘रेड जोन’ मा राखेको भोलिपल्टै एउटै बस्तीका १७ जना मानिस कोरोना संंक्रमित भेटिएपछि हलचल पैदा भएको छ।

संक्रमित बस्तीलाई सिल गरेर कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि, प्रदेश २, सामाजिक विकास मन्त्रालयका प्रतिनिधि, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि परिचालित रहेको सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताए। 

 उनले भने,‘संक्रमित व्यक्तिहरुको सम्पर्कमा आएका व्यतिmहरुको पहिचान भएको छ, हुँदैछ। बिहिबार साँझसम्म एक सय १८ जनाको पहिचान गरी स्वाब संकलन कार्य गरिएको छ।’ चापाकल प्रयोग गर्ने, तरकारी पसल, किराना पसल संचालक र आउने जाने मानिस, छिमेकी सबैलाई कन्ट्याक्ट ट्रेसिङको दायरामा ल्याइएको घिमिरेले बताए। 

संक्रमितको ‘क्लोज कन्ट्याक्ट’मा आएका व्यतिmहरु पहिचान भएका छन भने सम्पर्कमा आएकाहरुको पहिचान गर्न संयन्त्र सक्रिय रहेको उनले बताए। 
 
हतार हतारमा कोभिड अस्पताल
कोराना संक्रमितको संख्या थपिँदै गएपछि प्रदेश सरकारले  जनकपुरमा कोभिड अस्पताल संचालनमा ल्याउन हतारिएका छन्।  प्रादेशिक अस्पताल जनकपुरको स्वामित्वमा रहने नजिकैको  नर्सिङ क्याम्पस भवनमा ४० शयया आइसोलेसन कक्षसहितको कोभिड अस्पताल उपचारका लागि तयार पारिँदै छ।

दुई महिनादेखि तयारी थालिए पनि अस्पताल अझै उपचारका लागि तयार भैसकेको छैन। यसअघि प्रादेशिक अस्पतालभित्रै आइसोलेसन कक्ष बनाएर कोरोना शंकास्पद विरामीलाई कोभिड–१९ पुष्टि नहुँदासम्म राख्दै आएको थियो। 

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले भने,‘ ४० शययाको कोभिड अस्पताल उपचारका लागि तयार भैसकेको छ। उपकरणहरु खरिदका लागि टेन्डर भैसकेको छ। तबसम्म आइसोलेसनमा राखेर विरामीको उपचार गर्न सकिन्छ।’ प्रादेशिक अस्प्ताल जनकपुरमा जेनरल विरामीको उपचार हुनछ। कोरोना संक्रमित र शंकास्पदहरूलाई  कोभिड अस्पतालमा राखेर उपचार गरिने उनले बताए।

कोभिड अस्पतालमा बेडहरू राखि सकिएको छ।   आइसीयू कक्षहरु समेत बनाइसकिएको छ। उपकरणहरू जडान गर्ने काम चाहिँ अझै बाँकी छ। आइसीयू सञ्चालन गर्न आवश्यक उपकरणहरू जडान गर्न अझै बाँकी छ। आइसीयू सञ्चालन गर्न मोनिटर, भेन्टीलेटरलगायतका सामग्री उपलब्ध हुन सकेको छैन। 

‘लकडाउनका कारण आवश्यक उपकरणहरू पाउनपनि कठिनाई भोग्नु परिरहेको छ’, मन्त्री यादवले भने ‘ भेन्डरसँग सम्पर्कमा रहेर निरन्तर ताकेदा गरिरहेका छौं, छिट्टै उपलब्ध गराउने आश्वासन दिएको छ।’ 

प्रकाशित: २६ वैशाख २०७७ ०७:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App