४ वैशाख २०८१ मंगलबार
समाज

धेरै वर्षपछि सेतीमा कञ्चन पानी

तनहुँ, - हिउँद–बर्खा जहिल्यै धमिलो लेदो बगिरहने सेती नदी पाँच सातादेखि कञ्चन देखिएको छ । अरू बेला छुनसमेत घिनाउनुपर्ने नदीको पानी यतिबेला सङ्लिएको छ । पानी यति सफा देखिन्छ कि सीधै अँजुलीमा लिएर पिउँपिउँजस्तो लाग्छ ।  

नदीको पानी सफा हुनुको कारण हो, कास्की र तनहुँका विभिन्न स्थानमा सेती किनारमा सञ्चालन गरिएका क्रसर उद्योग बन्द हुनु । कोरोना भाइरस संक्रमण रोक्न मुलुक चार सातादेखि लकडाउनमा छ । लकडाउन सुरु भएपछि तनहुँका दर्जनभन्दा बढी क्रसर उद्योगहरू बन्द छन् । क्रसर बन्द हुदाँ वर्षौपछि तनहुँवासीले पुरानै अवस्थाको कञ्चन सेती देख्न पाएका हुन् । सेतीको असली रूप देख्न लकडाउन सार्थक बनेको उनीहरूको भनाइ छ । 

एक दशकपछि नदीको पानी यति धेरै सङ्लो देखिएको नदी किनारमा बसोबास गर्नेहरू बताउँछन् । हरिबोधनी एकादशीको दिन सेती किनारमा थुप्रै स्थानमा मेला लाग्ने र स्नान गर्न भक्तजन आउने कारण मुस्किलले त्यो दिन सेती सङ्लिन्थ्यो । नत्र सङ्लो सेती देख्नलाई चाडपर्वको बेला कामदार नभएर क्रसर उद्योग बन्द भएको दिन कुर्नुपथ्र्यो ।

२०६६ सालपछि पहिलो पटक सेती नदीलाई यतिधेरै सङ्लो देखेको मुलपानीका ६० वर्षीय बाबुराम सुवेदीले बताए । ‘दिनरात लेदो बग्ने नदी लकडाउन भएपछि सङ्लो भएको हो,’ उनी भन्छन्, ‘क्रसर बन्द भएर होला नदीमा निलो पानी बगेको देखिन्छ ।’ उनका अनुसार पहिला नदीको पानी छुनलायक थिएन । नदीमा नुहाउन घिनाउनुपर्ने अवस्था थियो । क्रसरको लेदो मिसिएको धमिलो पानीमा अझ फोहोरको डंगुर बग्ने गरेको सुवेदीले सुनाए । ‘नदीमा फोहोर गर्न हुँदैन भन्ने चेतना नभएर यस्तो भयो । आफ्नो स्वार्थ पूरा गर्दा कसैले प्रकृतिको ख्याल गरेनन्,’ उनले भने, ‘लकडाउन सकिनेबित्तिकै नदीको पानी फेरि यस्तै सङ्लो रहला र ?’

कास्की र तनहुँमा सेती नदी वरपर बस्ती बढ्दै गएपछि बिस्तारै नदी धमिलो हुन थालेको थियो । किनकि नदीलाई बस्तीबाट निस्कने फोहोर बिसर्जन–स्थल (डम्पिङ–साइट) सरह प्रयोग गर्ने गरिएको छ । 

पाँच वर्षयता त झन् क्रसरको लापरबाहीले सेती नदी हेर्न लायक हुँदैन । ढुंगा, गिट्टी, बालुवा जस्ता नदी पैदावर प्रशोधन गरेको फोहोर पानी क्रसर उद्योगले सीधै सेतीमा मिसाउँदा नदीमा लेदो बगिरहन्छ । 

कास्कीमा पोखरेलीले दैनिक फालेको फोहोरको डुंगुरले पनि संग्लो देखिने नदीको पानी तनहुँ खण्ड प्रवेश गरेलगत्तै धमिलो हुन्थ्यो । मापदण्डअनुसार क्रसर उद्योगमा तीन तहको पोखरीमा पानी थिग्र्याएर सङ्लो भएपछि बल्ल नदीमा मिसाउन पाइन्छ । तर यहाँ त उद्योगले सीधै लेदोयुक्त धमिलो पानी नदीमा मिसाउने गरेका छन् ।

उद्योगको लापरबाहीसँगै नदी प्रदूषणबारे स्थानीय सरकार पनि मौन छ । बेलाबखतमा सेतीमा क्रसरबाट निस्कने फोहोर सीधै नमिसाउन उद्योगीलाई निर्देशन दिइन्छ । तर अनुगमन हुँदैन । अनुगमन भइहाले कारबाही गरिँदैन । तसर्थ उद्योगको लापरबाही निरन्तर चलिरहेको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकामा सञ्चालित क्रसर उद्योगको चरम लापरबाही छ । पोखरा, कोत्रे, दुलेगौंडा, खैरेनीटार, भिमाद बजारबाट निस्कने फोहोर फ्याँक्ने डम्पिङ साइट सेतीको किनार हो । लकडाउन सुरु भएपछि क्रसर बन्द भए । बजार सुनसान हुँदा पहिलाको जस्तो फोहोर फ्याँकिएको छैन । त्यसको प्रतिबिम्ब सेतीको बगेको पानीमा देखिन थालेको छ ।

लकडाउन सुरु भएपछि प्रदूषणको मात्रा ह्वात्तै घटेको बताइन्छ । प्रदूषण घट्नुको प्रभाव सेती नदीको पानीमा देखिएको वातावरणविद् एकराज सिग्देलले बताए । ‘लकडाउनले मानव समुदायमा नोक्सानी पु-याए पनि प्रकृतिलाई राहत मिलेको अवस्था छ,’ उनले भने । नदीमा हुने अनियन्त्रित दोहन रोक्नुपर्ने उनको सुझाव छ । तनहुँ र कास्कीमा सेती नदी किनारमा सञ्चालित क्रसर उद्योगको उचित स्थानमा स्थानान्तरण र दैनिक नदीमा फोहोर फ्याँक्न बन्द गरे सेती सधैं सङ्लिएर बग्ने उनी बताउँछन् ।  

‘विकास हुँदै गर्दा प्रकृतिलाई असर पुग्न हुँदैन,’ सिग्देलले भने, ‘प्रकृति मानव समुदायको स्वास्थ्य र जीवनसँग प्रत्यक्ष जोडिएको छ । त्यसैले प्रकृतिलाई असर गर्ने गतिविधि कम गर्दै लैजानुपर्छ ।’

प्राकृतिक स्रोत र साधनको संरक्षणमा आफूहरू प्रतिबद्ध रहेको शुक्लागण्डकीकी उपमेयर सविता रसाइली बताउँछिन् । ‘बारम्बार सेतीमा लेदो नमिसाउन क्रसर उद्योगलाई निर्देशन गरेका छौं । अटेरी गरेको छन्,’ उनले भनिन् । प्राकृतिक स्रोत र साधनको विषयमा प्रदेश सरकारको नीति–निर्देशनमा रहेर स्थानीय तहले काम गर्नुपर्ने उनले बताइन् । ‘क्रसर बन्द गराउँदा पनि विकास निर्माणको काम प्रभावित हुन्छ,’ उनले भनिन्, ‘त्यसैले नगरपालिकाले उचित स्थानमा स्थानान्तरणको सोच बनाएको छ ।’ लकडाउनमा देखिएको सेतीको रूपलाई निरन्तरता दिन नगरपालिका लाग्ने उपमेयर रसाइलीले बताइन् । 

माछापुच्छ्रे फेदीबाट बग्ने सेती कास्की, तनहुँ हुँदै चितवन पुगेर नारायणीमा मिसिएको छ । २०६९ वैशाख २३ गते सेतीमा भीषण बाढी आएको थियो । त्यही समयदेखि नदीमा रहेको जलचरको अस्तित्व संकटमा परेको स्थानीय बताउँछन् । सेतीको पानी प्राकृतिक रूपमा मात्रै होइन, धार्मिक दृष्टिले पनि महŒवपूर्ण मानिन्छ ।

प्रकाशित: २६ वैशाख २०७७ ०५:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App