४ वैशाख २०८१ मंगलबार
समाज

देशभर प्रि–मनसुन सुरु, प्रदूषणको मात्रा १० मा झर्‍यो

काठमाडौ, - देशभर प्रि–मनुसन सुरु भएको छ, जसबाट दिनहुँजसो हावाहुरी, बदली तथा मध्यम तथा हल्का वर्षा हुने मौसमविद्हरूले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून–चापीय रेखाको सामान्य प्रभाव, स्थानीय वायु, पूर्वी भुभागनजिक बनेको न्यून–चापीय क्षेत्र तथा बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायु नेपालमाप्रवेश गरिरहेको छ । यसबाट देशभर वर्षा, बदली, हावा हुरी तथा चटयागंको सम्भावना छ । 
‘अहिले देशभर प्रि–मनसुनको अवस्था छ । प्रि–मनसुनको अवस्थामा मौसम यस्तै हुन्छ,’ मौसमविद् सजिना शाक्यले भनिन, ‘शनिबार काठमाडौंमा मौसममा हल्का सुधार हुने स्थिति देखिएको छ ।’

शुक्रबार र शनिबार हल्का सुधार भए पनि अन्य ठाउँमा मौसममा पूर्ण सुधार नहुने उनको भनाइ छ । विभागका अनुसार शुक्रबार देशका मध्य र पूर्वका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली हुने सम्भावना छ । मध्य र पूर्वका पहाडी भूभागका थोरै स्थानहरू र तराईका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । 

यसैगरी, शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थान तथा तराईका एक–दुई स्थानमा मेघ गर्जन, चट्याङ, असिना र हावाहुरीसहित  वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यता, डेढ महिनाभन्दा लामो लकडाउन र केही दिनदेखि सुरु भएको वर्षाका कारण देशभर प्रदूषणको मात्रा ह्वात्तै घटेको छ । वातावरण विभागका अनुसार बिहीबार सबैभन्दा कम प्रदूषण नेपालगन्ज देखिएको छ । जहाँ हावामा प्रदूषणको मात्रा दुई दशमलव पाँच माइक्रोनभन्दा साना कणहरू प्रतिघनमिटर तीन छ । यो भनेको अत्यन्त कम हो ।

जबकि हावामा प्रदूषणको मात्रा दुई दशमलव पाँच माइक्रोनभन्दा साना कणहरू प्रतिघनमिटर ५० भन्दा कम देखिएमा त्यस क्षेत्रलाई ग्रिनजोन अर्थात् हरियो चिह्न मान्ने गरिएको छ । वातावरण विभागको वेबसाइटमा बिहीबार काठमाडौंको रत्नपार्कमा हावामा प्रदूषणको मात्रा १० देखाइएको छ । भक्तपुर र दाङमा १४÷१४ र सिमरामा आठ देखाइएको छ । 

विश्व स्वास्थ्य संगठनले हावामा प्रदूषणको मात्रा दुई दशमलव पाँच माइक्रोनभन्दा साना कणहरू प्रतिघनमिटर ४० भन्दा कम देखिएमा ग्रिनजोन मान्ने गरेको छ तर नेपालले ५० सम्म देखिएमा त्यस क्षेत्रलाई ग्रिनजोन मान्ने गरेको छ । 

विभागका अनुसार रत्नपार्कमा सबैभन्दा बढी प्रदूषण एक सय ८० पुगेको छ । गतवर्ष शिवरात्रिको दिन रत्नपार्कमा प्रदूषणको मात्रा ह्वात्तै बढेर एक सय ८० सम्म पुगेको विभागले जनाएको छ ।

वातावरणविद्का अनुसार प्रदूषणको मात्रा एक सयसम्म देखाएमा त्यसलाई एलो जोन अर्थात् पहेलो रङ मान्ने गरिएको छ । प्रदूषण मापन गर्न राखिएका स्टेसनहरूले सयभन्दा कम देखिएमा त्यस क्षेत्रलाई बस्नका लागि लागि ‘ठिकै अवस्था’ मान्ने गरिन्छ । तर प्रदूषणको मात्रा एक सय ५० र त्योभन्दा माथि देखिएमा रेड जोन अर्थात् रातो चिन्ह मान्ने गरिएको छ । रेड जोन देखिएमा त्यसले बस्नका लागि जोखिमपूर्ण रहेको संकेत गर्छ । वन तथा वातावारण मन्त्रालयका अनुसार नेपालमा प्रदूषणको मात्रा बढ्नुमा गाडीबाट निक्कने धुवाँ ३५ प्रतिशत जिम्मेवार छ ।

यसैगरी, उद्योग तथा कलकारखानाहरूले २५ प्रतिशत र इँटाभट्टाहरूले २५ प्रतिशत प्रदूषण बढाउने गरेका छन् । बाँकी १५ प्रतिशत अन्य क्षेत्र जिम्मेवार हुने ढुंगानाले बताए । लकडाउनपछि देशभर यातायात, कलकारखाना तथा इँटाभट्टा ठप्प भएका छन् ।

प्रकाशित: २६ वैशाख २०७७ ०३:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App