दोलखा- केही दिनदेखि लकडाउन खुकुलो बनाएको स्थानीय प्रशासनले वागमती प्रदेशका डिआईजी बसन्तकुमार लामाको निरीक्षण भ्रमण हुँदा बुधबार दिउँसोदेखि दोलखामा कडाई गरेको छ ।
वागमती प्रदेशका प्रहरी प्रमुख डिआईजी लामा मातहतका जिल्लाहरुको निरीक्षण भ्रमणका क्रममा सिन्धुली, रामेछाप हुँदै बुधबार साँझ दोलखा आईपुगेका छन् । लकडाउन खुकुलो हुँदै गएको भन्दै दिउँसोसम्म खुलम खुल्ला र निर्वाध आउजाउ भईरहेको चरिकोट बजार साँझबाट प्रहरीले ठप्प प्राय बनायो । प्रदेश प्रहरी प्रमुख लामा जिल्ला भित्रिनु अघि बजारमा उपभोग्य सामान र मेडिकल बाहेक खुल्ला रहेका पसलहरु प्रहरीले बन्द गराउदै हिडेको थियो ।
लामा आएलगतै चरिकोटमा हिडेका केही मोटरसाईकलहरुलाई प्रहरीले सातदोबाटो चोकमा नियन्त्रणमा लिएको छ । ग्रिन जोनमा परेका कारण केही दिनदेखि खुकुलो रहेको दोलखा डिआईजी आउनुपूर्व कडाई पारिएको भन्दै स्थानीय आश्चर्यमा परेका छन् । जिल्लाका प्रहरी प्रमुख डिएसपी रेवतीरमण पोखरेलले डिआईजी लामाको निरीक्षण भ्रमण नभई केन्द्रको निर्देशन अनुसार लकडाउनमा कडाई गरिएको दाबी गरे ।
‘डिआईजी साप, नियमित निरीक्षण भ्रमणमा आउनुभएको हो तर उहाँ आउनु अघि दिउसो मन्त्रीपरिषदबाट लकडाउन थपिने निर्णय भए लगतै जिल्लामा कडाई तुल्याईसकेका थियौंं’ डिएसपी पोखरेलले भने – ‘यो संयोग परेको मात्र हो’ ।
चौकीहरुमा सास्ती
पास बोकेका साधनहरुले समेत जिल्लाका केही चौकीहरुमा सास्ती ब्यहोर्ने गरेका छन् । जिल्ला भित्रिने प्रमुख नाका खरिढुङगा प्रहरी चौकी, जिल्लाको ईलाका प्रहरी कार्यालय जिरी र तामाकोसी बेसिनबाट गिट्टी बालुवा बोकेर सदरमुकाम भित्रिने प्रमुख नाका किरातीछाप प्रहरी चौकी पार गर्ने ट्रक, ट्रिपर र हलुका सवारी साधनले समेत सास्ती व्यहो्र्नु परेको गुनासो बढेको छ ।
किरातीछाप प्रहरी चौकीमा प्रहरीले गैरकानुनी रुपमा ढाट नै राखेर गाडीहरु रोक्ने र चेकजाँचमा क्रममा दुःख दिने गरेको गुनासो बढेको छ । यो चौकी हुँदै तामाकोसी नदी आसपासबाट दैनिक ठुलो मात्रामा गिट्टी र बालुवा बोकेका ट्रिपर र ट्रकहरु भित्रिने गर्छन् ।
यस्तै पास बोकेर आएका गाडीहरुले समेत बिभिन्न नाममा दुःख पाउने गरेको एक व्यवसायीले सुनाए । खरिढुंगा प्रहरी चौकी र ईलाका प्रहरी कार्यालय जिरीमा समेत चेकजाँचका नाममा खाद्यन्न, निर्माण सामग्री लगायत बोकेर आउने गाडीहरुले सास्ती ब्यहोर्ने गरेको व्यवसायीको गुनासो छ ।
प्रकाशित: २४ वैशाख २०७७ १५:४४ बुधबार