खोटाङ– खोटाङको खोटेहाङ गाउँपालिकाले सुनकोसीको फोक्सिङटारमा लगाइएको बेलिब्रिज निकाल्न अगावै उपभोग्य बस्तु एबं निर्माण सामग्री ढुवानीको तयारी गरेको छ । खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित फोक्सिङटामा लगाइएको अस्थायी बेलिब्रज वर्षा सुरु भएसँगै निकाल्न लागिएको अवस्थामा खोटेहाङ गाउँपालिकाले आवश्यक खाद्यान्न, निर्माण सामग्री लगायत अत्यावश्यक वस्तु ढुवानी गर्ने र स्टक गर्ने तयारी थालेको हो ।
मंगलबार गाउँपालिकाको संयोजनमा बसेको राजनैतिक दल, कार्यालय, उद्योग बाणिज्य संघ, व्यवसायी लगायतको बैठकले लकडाउन केही अझै लम्बिने संकेत देखिएकाले फोक्सिङटारको बेलिब्रिज निकाल्न अगावै आवश्यक उपभोग्य सामग्री भित्र्याउने र स्टकमा राख्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता शिवप्रसाद फुयाँलले बताए ।
फोक्सिङटारस्थित बेलिब्रिज हिउँदमा राख्ने र वर्षामा झिक्ने गरिन्छ । खोटेहाङ, दिप्रुङ चुईचुम्मा गाउँपालिका, जन्तेढुंगा गाउँपालिका लगायतका स्थानीयलाई पूर्वी शहर आउजाउ गर्नका लागि फोक्सिङटारको बेलिब्रिजको बाटो सबैभन्दा छोटो दुरीको हो । त्यही भएर खोटेहाङ गाउँपालिकाले सो बेलिब्रिज निकाल्न अगाडि आवश्यक सामान भित्र्याएर स्टकमा राख्ने तयारी थालेको हो ।
फोक्सिङटारको बेलिब्रिज हटाइएपछि घुमाउरो बाटो उपयोग गरेर सामान ढुवानी गर्नुपर्ने अवास्था आउने भएकाले गाउँपालिकाले सो भन्दा अगावै उपभोग्य सामग्री ढुवानी गर्ने र स्टक गर्ने ढुवानीकर्ता, व्यवसायी एबं निर्माण व्यवसायीको तथ्यांक संकलन गरेर बुझाउनका लागि ९ वटै वडा कार्यालयलाई पत्राचार गरेको छ ।
यस्तै, लकडाउनका कारण बाह्य जिल्लामा रहेका यात्रु बाहक सवारी साधनको तथ्यांक संकलन गर्न र गाउँपालिकाभित्र ल्याउनुपर्ने भए पासको व्यवस्थाका लागि यातायात व्यवसायीलाई कार्यालयमा पठाउन वडा कार्यालयलाई भनिएको गाउँपालिकाले जनाएको छ ।
प्रकाशित: २४ वैशाख २०७७ ०७:२८ बुधबार