coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कल्भर्टमा बसेकाहरुको उद्वार

बैतडी- चार दिनदेखि सीमावर्ती झुलाघाटमा सडकको कल्भर्टमा बस्दै आएका आठ जना नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ । भारतीय प्रशासनले कल्भर्टबाट उद्वार गरी मोनाकोट क्वारेन्टाइनमा राखेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए । कल्भर्टमा बस्दै आएको जानकारी पाएपछि भारतीय प्रशासनलाई उद्धारको लागि आग्रह गरिएपछि क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको प्रजिअ पौडेलले बताए ।

सीमानाका खुलेको सूचना पाएपछि झुलाघाट पुगेका बाजुराका उनीहरु सीमा क्षेत्रमा अलपत्र परेका थिए । भारतको लुहाघाटमा मजदुरी गर्दे आएका वैशाख १८ गते सीमानाका खुलेको सूचना पाएपछि ७० किलोमिटर पैदल हिडेरै झुलाघाट पुगेका  हुन् । खाने बस्ने व्यवस्था नहुँदा चार दिनदेखि कल्भर्टमा बस्दै आएका थिए । बाजुराको बुढीनन्दा नगरपालिका–९ का मनबहादुर बोहरा, काशी बोहरा, शिव रोकाया, एकेन्द्र बोहरा, रमेश रोकाया, चन्द्र बोहरा, भीम बोहरा र बुढीनन्द नगरपालिका ८ का धनबहादुर बोहरा चार दिनदेखि सडकको कल्भर्टमा बस्दै आएका थिए । गत पुसमा कामको खोजीमा उनीहरु भारत पसेका हुन् ।

भारतमा समेत लकडाउन भएको र आफूहरुसँग पैसा नभएकाले सडकको कल्भर्टमा बसेर दिनरात बिताउनु परेको मनबहादुर बोहराले बताए । ‘हामी सीमा नाका खुला हुन्छ भनेर आयौं । हिडेरै आउँदा ढिलो भयो ।’ मनबहादुरले भने । यहाँ पुग्दा नेपाल छिर्ने नाका बन्द भइसकेको र कतै ठाउँ नपाएपछि सडकको कल्भर्टमा बास बसेको उनले बताए । उद्धार गरिएपछि उनीहरु खुसी भएका छन् । ‘घर फर्कन त पाएनौ,’ शिव रोकायाले भने, ‘कल्भर्टभन्दा यहाँकै क्वारेन्टाइनमा खाना बस्न पाउँदा सजिलो भएको छ ।’

प्रकाशित: २४ वैशाख २०७७ ०६:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App