८ वैशाख २०८१ शनिबार
समाज

अब सीमामा सैनिक गस्ती

काठमाडौं -  सीमा क्षेत्रबाट लुकीछिपी भारतीय नागरिक नेपाल प्रवेश गर्न थालेपछि सरकारलेसेना परिचालनको रणनीति बनाएको छ। गृहमन्त्रालयले मंगलबार जिल्ला प्रशासन कार्यालयहरुलाई लेखेको पत्रअनुसार जिल्ला सुरक्षा समितिको बैठक राखी सेना परिचालन गरेर भएपनि भारतबाट आउनेलाई कडाइका साथ रोक्ने नीति अख्तियार गर्न लागिएको हो।

गृहमन्त्री रामबहादुर थापाले हस्ताक्षर गरी जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्रमा सीमा क्षेत्रको ५ किलोमिटर दूरीमा नेपाली सेना खटाउने उल्लेख छ।  ‘जिल्ला सुरक्षा समितिको बैठक बसी सबै सुरक्षा निकायबीच सूचना आदानप्रदान, एकापसमा सहयोग र सहजीकरणको वातावरण निर्माण गर्ने।

विशेषगरी सीमा नाका जोडिएका जिल्लाहरुले सीमा नाकाभन्दा नेपालतर्फको ५ किमि भन्दाभित्र आवश्यकताअनुसार नेपाली सेनाको गस्ती बढाएर भए पनि एरिया डोमिनेसन गरी लुकीछिपी नेपाल प्रवेश गर्ने कार्य निरुत्साहित हुने वातावरण मिलाउने’, पत्रमा उल्लेख छ। 

चोर बाटो हुँदै भारतबाट नेपाली र भारतीय नागरिकसमेत नेपाल छिर्न थालेपछि प्रमुख जिल्ला अधिकारीहरुलाई सबै सीमा नाकामा सेनाको उपस्थिति देखाउन निर्देशन दिइएको छ।
 

सेना परिचालनको निर्णय राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा मन्त्रिपरिषद्ले गर्ने भएपनि गृहमन्त्रालयले जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय गरी सेनाको सहयोग मागेको हो। सीमा नाकाको चोरबाटोबाट नेपाली र भारतीय दुवै नागरिक नेपाल छिर्न थालेपछि प्रमुख जिल्ला अधिकारीहरुलाई सबै सीमा नाकामा सेनाको उपस्थिति देखाउन निर्देशन दिएको मन्त्रालय स्रोतले बतायो।

भारतमा कोरोना संक्रमण फैलिँदै गएको र नेपालमा पनि जोखिम बढिरहेका कारण सीमा क्षेत्रमा अझ बढी कडाइ गर्न निर्देशन दिएको मन्त्रालय स्रोतले जनाएको छ। झापामा भारतीय नागरिक जबर्जस्ती नेपाल प्रवेश गरेपछि सशस्त्र प्रहरीले हवाई फायर गर्नुपरेको थियो। प्रदेश २, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा लुकीछिपी नेपाली र भारतीय नागरिक प्रवेश गर्न थालेको समाचार आएपछि गृहमन्त्रालयले सेनाको गस्ती बढाउन निर्देशन दिएको हो। 

यसअघि नै मन्त्रालयले सशस्त्र प्रहरीको चेकपोस्ट बढाउने निर्णय गरिसकेको छ। त्यसैगरी मन्त्रालयले स्वयंसेवक दस्ता परिचालन गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। 

कोरोना भाइरस (कोभिड१९)को जोखिम हुन नदिन सरकारले सीमा नाकामा कडाइ गरेपनि चोरबाटो रोक्न हम्मेहम्मे परेको छ। चोरबाटो हुँदै नेपाल प्रवेशको क्रम अहिले पनि रोकिएको छैन। भारतसँग सीमा जोडिएका जिल्लाका सबै नाकामा प्रहरीको उपस्थिति छ। घोषित नाका बन्द भएपछि लुकेर अघोषित नाकाबाट मानिस नेपाल प्रवेश गर्ने क्रम बढेको छ। यसलाई रोक्न सम्बन्धित जिल्लाले कडाइ गरेपनि पर्याप्त सुरक्षाकर्मी परिचालन हुननसक्दा रातिराति नेपाल प्रवेश नरोकिएको स्थानीयले बताएका छन्।

नेपालमा भेटिएका कोरोना संक्रमितमध्ये भारतीय नागरिक पनि छन्। उनीहरु भारतमा संक्रमण फैलिन थालेपछि नेपाल प्रवेश गरेका थिए। प्रहरीका अनुसार उनीहरु आफन्त भेट्ने बहानाबाजी गर्दै नेपाल आएका थिए।

 

प्रकाशित: २४ वैशाख २०७७ ०२:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App