९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

कम संख्याको उपस्थितिमा साकेला र देवाली मनाइने

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको बैठकमा सहभागी । तस्बिर :दमन/नागरिक

खोटाङ– खोटाङमा सकेसम्म कम संख्याको उपस्थितिमा साकेला, देवाली लगायतका चाडवाड मनाउने निर्णय गरिएको छ । किरात राई समुदायको साकेला, हिन्दुधर्मावलम्बीको देवाली लगायतका चाडवाड नजिकिँदै गरेको अवस्थामा कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको मंगलबार बसेको बैठकले न्यूनतम कम संख्याको धार्मिक, सामाजिक, साँस्कृतिक चाडवाड मनाउन आग्रह गर्ने निर्णय गरेको हो ।

बढि भीडभाड हुँदा एकबाट अर्को जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिने खतरा देखिएकाले साकेला, देवाली लगायतका चाडवाडलाई विधिकारुपमा मात्र मनाउन आग्रह गर्ने निर्णय गरिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका संयोजक एबं जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले बताए । चाडवाड मनाउनेक्रममा नेपाल सरकारले तोकेको अधिकतम २५ जनाभन्दा बढिको उपस्थिति नगर्न/नगराउन तथा दुई व्यक्तिबीचमा अनिवार्य न्यूनतम १ मिटरको सामाजिक दुरी कायम गर्न आग्रह गरिएको छ ।

बैठकमा सहभागी विभिन्न जातीय संगठनका प्रतिनिधिले पनि बढिमा २५ जनाको उपस्थितिमा आफ्नो चाडवाड मनाउने निर्णयमा सहमती जनाएका छन् । लकडाउनका कारण कतिपय हिन्दुधर्मावलम्बी समुदायले आफ्नो देवालीलाई महिना दिनपछि सारेको बताएका छन् ।

यसैबीच, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित लाफेहँछा सेवा समाजले बढिमा १५ जनाको उपस्थितिमा मात्र साकेला मनाउने निर्णय गरेको छ । हरेक वर्षको पूर्णीमाको दोश्रो दिन लफ्याङमा सयौंको उपस्थितिमा साकेला मनाउने गरिएकामा यसपल्ट लकडाउनलाई मध्यनजर गर्दै बढिमा १५ जनाको उपस्थितिमा मात्र साकेला पुज्ने निर्णय गरिएको हो ।

लाफेहँछा सेवा समाजको बैठकले साकेला पुज्नेक्रममा अनिवार्य उपस्थित हुनुपर्ने धामी, सिलिमपा, सिलीममा, मुल ढोले तथा उनीहरुका एक/एक जना सहयोगीको उपस्थितिमा मात्र साकेला पुज्ने निर्णय गरिएको लाफेहँछा सेवा समाजका सदस्य राजेन्द्र राईले बताए । बैठकले लकडाउनका कारण यसपल्टको लफ्याङको साकेलामा नआउनका लागि आफन्त तथा पाहुनापाछालाइ आग्रह गर्ने निर्णय गरेको छ ।

 

प्रकाशित: २३ वैशाख २०७७ १४:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App