१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

नगरप्रमुखलाई कारबाही माग

इटहरी- इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई लक्षित गरी सामाजिक सञ्जालमा आएका विभिन्न टीकाटिप्पणी छानबिन तथा सत्य तथ्य सार्वजनिक गर्न नेपाली कांग्रेस इटहरीले माग गरेको छ ।

कांग्रेसका इटहरी नगरका सभापति हेमकर्ण पौडेलद्वारा मंगलबार जारी विज्ञप्तिमा मेयर चौधरीले राहत वितरणको काम गर्नुपर्ने बेलामा त्यसबाट अलग रही बालग्रामस्थित कुनै व्यक्तिको घरमा गई खानपिन गरेको विषयमा सत्यतथ्य सार्वजनिक तथा कारबाहीको माग गरिएको हो । सोमबार साँझ इटहरीकी उपमेयर लक्ष्मी गौतमसहित केही स्थानीयले मेयर चौधरी संलग्न भनिएको अनपेक्षित घटनाबारे सार्वजनिक चासो राख्दै सामाजिक सञ्जालमा पोस्ट गरेपछि इटहरी तरंगित भएको थियो ।

‘इटहरीवासी आम नागरिकको जीउधनको सुरक्षामा गम्भीर भई घटनाको यथार्थ विवरण सार्वजनिक गर्न नेपाल सरकार, एक नम्बर प्रदेश सरकार र प्रहरी–प्रशासनसँग जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘यदि सरकारले छानबिन र सार्वजनिक नगरे उक्त घटनाको छानबिन गरी जनतामाझ सार्वजनिक गर्न कांग्रेस बाध्य हुनेछ ।’

यसैबीच, मेयर चौधरीले सोमबार साँझ बालग्रामको एक घरमा गएर खानपिन गरेको स्वीकार गरेका छन् । ‘त्यहाँ मेरा साथीहरूसँग लिमेर प्लटिङ गरेको हुँदा सात दिनअघि एक कठ्ठा जग्गा बिक्री भएको थियो । त्यही सन्दर्भमा हिजो साँझ डुल्दै गइयो,’ उनले मंगलबार नागरिकसँग भने, ‘मसँग जानेले नास्ता खाउँ भनेपछि त्यहाँनजिकै घर भएको बहिनीकोमा खानपिन गरेर दुई हजार रुपैयाँ दिएर हिँडेको हो ।’

उनका अनुसार त्यहाँ खानपान गर्दा साँझ भएकाले बहिनीले र साथमा रहेका भाइहरूले पनि अप्ठेरो फिल गरेपछि छिटछिटो गरेर टोली घर फर्किएको थियो । ‘त्यो बहिनीलाई गाउँघरमा त्यति राम्रो मान्दो रहेनछन् । मलाई अप्ठेरो पर्छ, छोरामान्छे नभएको घर भनेर बहिनीले भनेपछि हामी खानपान गरेर हिँडिहाल्यौ,’ उनले भने । त्यहाँ ती बहिनीले बोलाएर गएको उनको भनाइ छ ।

‘मेरो उपस्थितिले त्यहाँ अलिकति हतास मनस्थिति देखें । मेयर आएपछि केही विकास–निर्माणका कुराहरू पनि हुन सक्छ, केही राजनीतिक प्रभाव पनि बढ्छ कि भन्ने पूर्वाग्रह पनि देख्छु, त्यो राख्न केही जरुरी छैन,’ उनले भने, ‘पार्टीको प्रभाव बढाउने हो भने त जनसम्पर्क त बढाउनुपर्छ ।’ उनले आफू मेयर भएपछि जनतासँग सुख–दुःखका कुरा सोध्न पनि पाउने हुँदा कुनै गाउँ हिँड्न, कसैकोमा चिया खान, पानी खान समस्या हुन्छ र ? भनेर प्रतिप्रश्न गर्दै उनले भने, ‘खाना खाएर सुतेपछि धेरैतिरबाट फोन आएपछि अतिरञ्जित प्रचार गरिएको थाहा पाएँ ।’

प्रकाशित: २३ वैशाख २०७७ १४:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App