coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कोरोना मार्ने नाममा विषादी छर्कियो मान्छेलाई

काठमाडौं - कोरोना भाइरस निःसंक्रमण गर्ने नाममा एक सफाइ कम्पनीले मान्छेलाई छर्किन नमिल्ने विषादी छर्केको पाइएको छ। काठमाडौं स्युचाटारस्थित अनमोल फ्यासिलिटी क्लिनर्सले राजधानीका विभिन्न स्थानमा रहेका चोक, सवारीसाधन, मालबाहक गाडीसहित सयौं मानिसलाई त्यस्तो विषादी घोल छर्केको हो। कोरोना भाइरस संक्रमण फैलिएसँगै कम्पनीले तीन सातायता राजधानीका कलंकी, बालाजु, कालीमाटी, न्युरोड, बल्खु, त्रिुपरेश्वर, माइतीघरलगायत स्थानमा नियमितजसो यस्तो निःसंक्रमण विषादी छर्केको थियो। 

कम्पनीले निःसंक्रमणसम्बन्धी जानकारी आफ्नो फेसबुक पेजमार्फत राख्दै हातमात्र धोएर कोरोना भाइरस नमर्ने भएकाले सवारीसाधन तथा सतहमा समेत निःसंक्रमण गर्न स्यानिटाइजर छर्किने अभियान चलाएको जनाएको छ। पेजमा पोस्ट भएका तस्बिरहरू हेर्दा त्यो रसायन छर्किने काम सवारीसाधनमा मात्र सीमित गरिएको छैन। चोकमा पुगेका मानिस तथा राजधानीबाट घर हिँडेका यात्रुलाई समेत छर्किरहेको भिडियो र तस्बिर छन्। 

लामो समयदेखि विभिन्न सफाइ सेवा उपलब्ध गराउँदै आएको सो कम्पनीले कोभिड–१९ संक्रमण त्रासका बेला सामाजिक उत्तरदायित्व स्वरूप मानिसको बढी आवातजावात हुने स्थान र सवारीसाधनको निःसंक्रमण गर्ने अभियान चलाएको जनाएको छ। ‘हामीले सामाजिक सेवास्वरूप यो काम गरेका हौं, हामीले प्रयोग गरेको विषादी कोभिड–१९ भाइरस मार्ने रसायन हो,’ अनमोल फ्यासिलिटी सञ्चालक जितेन्द्र देउलाका भाइ राजन देउलाले नागरिकसित भने। 

सोही कम्पनीका कर्मचारी अर्जुन देउलाका अनुसार कम्पनीले भक्तपुर चाँगुनायारणस्थित एमडिएच फार्माक्युलिट्सबाट उत्पादित ‘भिकोन’ नामक रसायन प्रयोग गरेको छ। उनले मानिसमा रहेको पसिनामा हुने भाइरस हटाउने क्रममा सो विषादी छर्केको बताए। तथापि उनले त्यो रसायन कडा नभएको र स्यानिटाइजरका रूपमा छर्केको दाबी गरे। ‘त्यो रसायन तरकारी पखालेर खान मिल्ने हो तर सरकारले नगर्नु भनेपछि हामीले रोकेका छौं,’ उनले भने। औषधि बिक्रेता तथा उत्पादककै सुझावमा कोभिड–१९ निःसंक्रमण गर्ने स्यानिटाइजरका रूपमा त्यसलाई लिएको देउलाले बताए। 

कोभिड–१९ निःसंक्रमण गर्ने मानिएको सो रसायन विभिन्न सतह, गाडी तथा ठाउँहरूमा प्रयोग गर्न मिल्ने तर मानिसमा प्रयोग गर्ने उद्देश्यले बिक्री–वितरण नगरिएको एमडिएच फर्माक्युलिटिस्का सञ्चालक तथा केमिस्ट माधवन दाहालले बताए। ‘मानिसमा प्रयोग गर्न नहुने भनेर त्यसको प्रयोग निर्देशन विवरणमै लेखिएको छ र हामीले मानिसमा छर्किनु भनेका पनि छैनौं,’ उनले भने। 

सञ्चालक दाहालका अनुसार अनमोल फ्यासिलिटी क्लिनर्सलाई बिक्री गरिएको रसायन ‘भाइरोक’ नामको हो। यो विषादीले भाइरस तथा जीवाणु मार्छ, जसमा सोडियम क्लोराइड र परोमिक्सिमोन गरी दुईवटा रसायन मिसाइएको छ। यी रसायनको बढी प्रयोग स्विमिङ पुल निःसंक्रमण गर्न, अस्पतालको भित्ता, अपरेसन थिएटर, गाडीको सतहमा छर्किनका लागि प्रयोग हुन्छ। तर मानिसको शरीर र आँखामा भने छर्किन नहुने केमिस्ट दाहालले बताए। 

घटनाका बारेमा जानकारी पाएपछि सोमबार नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै पनि निःसंक्रमणका रसायन मानिसको शरीरमा छर्किन नहुने भएकोले यस्तो गतिविधि रोक्न अनुरोध गरेको छ। कोरोना भाइरस मार्ने रसायन शरीरबाहिर छर्केर भित्रको भाइरस नमर्ने मन्त्रालयका अधिकारीहरूको भनाइ छ। ‘रसायन छर्केर मानिसभित्रको कोरोना भाइरस मर्दैन, बरु माक्सको प्रयोग, एक मानिसदेखि अर्को मानिसबीच एक मिटर टाढा बसेमा र लकडाउनको पूर्ण पालना गरेमा कोरोना भाइरस सर्दैन,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले भने।

सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बास्तोलाले कोभिड–१९ नियन्त्रण गर्न यस्तो निःसंक्रमण रसायन मानिसमा छर्किने निर्देशन नरहेको र मानिसको शरीरभित्रको भाइरस नमर्ने बताए। विश्व स्वास्थ्य संगठन नेपालका डाक्टर राजन विक्रम रायमाझीका अनुसार कुनै पनि निःसंक्रमणका रसायनहरू छर्केर मानिसको आँखा, नाक तथा कानमा परेमा विभिन्न रोग लाग्नसक्छ। तत्कालै रूपमा आँखामा परेमा आँखामा समस्या आउने र नाक तथा मुखमा परेमा श्वास–प्रश्वासका अन्य रोग समेत लाग्न सक्न सक्छ।

प्रकाशित: २३ वैशाख २०७७ ०३:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App