coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मदन भण्डारी राजमार्गको निर्माण सुरु, ७५ प्रतिशत काम सम्पन्न

निर्माणधिन धरान—चतरा—सिन्धुली—हेटौँडा सडकको पश्चिम खण्डमा काम हुँदै । तस्बिर : अनिल भण्डारी

सिन्धुली- कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको बन्दाबन्दीका कारण चैत १० गतेदेखि रोकिएको निर्माणाधिन मदनभण्डारी राजमार्गको काम सुरु भएको छ । राष्ट्रिय गौरबको आयोजना धरान—चतरा—सिन्धुली—हेटौँडा सडकको निर्माण कार्य उच्च सतर्कता अपनाएर सुरु भएको आयोजनाले जनाएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसको रोकथामका लागि सरकारले मुलुक लक डाउन गरेसँगै रोकिएको निर्माणधिन मदनभण्डारी राजमार्गको काम पूर्व र पश्चिम दुबै खण्डमा सुरु भएको आयोजनाले जनाएको छ । निर्माण कार्यमा संलग्न मजदुर सहितको स्वास्थ्यलाई ख्याल गरि सर्तकता अपनाएर काम सुरु भएको पश्चिमखण्ड आयोजना प्रमुख अर्जुन अर्यालले जानकारी दिए ।

सडकको कालोपत्रे तथा पुलको काम सुरु भएको छ, तर पहिलेको जस्तो रफ्तारमा गर्न सकिएको छैन, उनले नागरिकसँग भने, थोरै मजदुर सहभागी भएर काम सुरु भएको छ, लगातार बर्षाका कारण मौसमले पनि काम गर्न साथ दिएको छैन । उनले हालसम्म सडकतर्फ ७५ प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिए । हाम्रो सडकतर्फ ७५ प्रतिशत बढी काम सम्पन्न भइसकेको छ, उनले भने, पुलको ९० प्रतिशत भन्दा बढी निर्माण सम्पन्न भइसक्यो । उनले बाग्मती पुलको ढलान कार्य सुरु भएको जानकारी दिए ।

यस्तै राजमार्गको पूर्व खण्डमा समेत काम सुरु भएको आयोजनाका पुर्वी खण्ड प्रमुख बेलबहादुर भुजेलले जानकारी दिए । सिन्धुली र उदयपुर दुबै जिल्लाबाट काम सुरु गरेका छौ, उनले भने, तर काम गर्ने मजदुर थोरै छन्, आइतबार देखि मात्रै काम सुरु भएको हो । यस खण्डमा पनि ७० प्रतिशत भन्दा बढी सडक तर्फको काम भइसकेको उनले जनाए । सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यकाहरू जोड्दै पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गको रूपमा हेरिएको सडकको दुबै खण्डको कामलाई कोरोना भाइरसले महिनौदेखि प्रभाव पारेको थियो ।

राजमार्गको पूर्व र पश्चिम गरि दुई खण्डमा विभाजन गरि तीव्र गतिमा भएको कामलाई कोरोना भाइरसले प्रभाव पारेको हो । दुबै खण्डमा सडक संरचना निर्माण, पुल निर्माण, कजवे, ह्युम पाइप, बक्स कल्भर्ट र स्ल्याब कल्भर्ट लगायतको संरचना निर्माणको काम धमाधम निर्माण भइरहेको आयोजनाले जनाएको छ । राजमार्गको पुर्वी खण्ड अन्र्तगत सिन्धुलीको कमलामाई नगरपालिकाको भीमानदेखि मकवानपुरको हेडौँडा महानगरपालिका–६ चौगडासम्मको कुल ११५ किलोमिटर सडकमा काम भइरहेको आयोजनाले जनाएको छ ।  

यस्तै पुर्वी खण्डमा उदयपुरको बसाहादेखि सिन्धुलीको भीमानसम्मको १३४ किलोमिटर सडक पर्छ । उक्त १ सय ३४ किलोमिटर सडकमा काम भइरहेको आयोजनाले जनाएको छ । पुर्वी खण्डमा कमला नदीमा पुल निर्माण झुगाामा सडक कालोपत्रे र डकाहामा रिटेनिङ वालको निर्माण गर्ने काम सुरु भएको आयोजनाले जनाएको छ । कामदार अभावले पहिलेको जस्तो रफ्तारमा काम हुन सकेको छैन, आयोजना प्रमुख भुजेलले भने । २०७३ कार्तिकमा सम्झौता भई निर्माण सुरु गरिएको उक्त राजमार्गको काम ०७७ भदौमा सम्पन्न गर्नुपर्ने समयअवधि तोकिएकोमा कोरोना भाइरसका कारण तोकिएको समयमा सम्पन्न गर्न मुस्किल हुने आयोजनाले जनाएका छन् ।

प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले निर्माणको काम सुचारु भएको जानकारी दिए । सामाजिक दुरी, स्वास्थ्य सर्तकता सबै पक्षलाई ध्यानमा राखेर काम निर्माणका काम सुरु भएको प्रजिअ पाण्डेले बताए । निर्माण सामाग्री ओसारपसारका लागि जिल्ला प्रशासन कार्यालयबाट पास लिएर सामाग्री फिल्डमा पुर्‍याउने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

 


                                            

प्रकाशित: २२ वैशाख २०७७ ११:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App