coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सायल गाउँपालिकाले एकल महिलालाई दिएको राहत फिर्ता लियोे

गाउँपालिकाले राहत फिर्ता लिएका सायल गाउँपालिका–२ का एकल महिला आफ्ना सन्तानसहित । तस्बिरः नागरिक

डोटी- लाउलाउ–खाउँखाउँको उमेरमा ‘विधवा’ बनेकी सायल गाउँपालिका–२ ओखट्टेकी ३० वर्षिया कृष्णादेवी ओझा राहत पाउदा औधी खुशी थिईन् । सडक मर्मत समूह(आरएमजी)मा मजदुरी गरेर नौ वर्षको छोरा र सासुलाई पालिरहेकी उनलाई लकडाउनले धेरै सास्ती थपेको थियो ।

जसमा मल्हम बनेको थियो त्यो राहत । ‘वडासदस्य(मोहन ओली)ले चारपोका तेल, दुईपोका नुन, दुई साबुन र दुईकिलो चिनी ल्याईदिनुभएको थियो,’ उनले भनिन्,‘चामल र दाल पछि ल्याईदिन्छु भन्नुभएको थियो ।’

चामल र दाल पुग्नुअगावै वडाकार्यालयबाट फोन आयो ‘त्यो राहत तपाईलाई होईन्, अर्कोलाई दिनुस् ।’ फोन कसले गरेको हो, उनलाई केही थाहा भएन् । छर–छिमेकको कुरो, नाईनास्ती गर्नसकिनन् । उनले त्यो राहत छिमेकी कलुदेवी ओझालाई हस्तान्तरण गरिन् । कलुदेवीको अवस्था कृष्णाको भन्दा राम्रो छ । श्रीमान र छोरा भारतमा कमाउछन् । अर्को छोरा, तीन छोरी छन् ।

उनको जस्तै सोही ठाउँकी अर्की एकल महिला ३१ वर्षिया हरिनादेवी ओझाले पनि  पाएको राहत फिर्ता गर्नुपर्‍यो । उनीपनि सडकमै मजदुरी गरेर जीविका चलाउछिन् ।

‘वडासदस्य(ओली) आएर दिएर गए, वडाकार्यालयबाट अर्कोलाई दिन भन्यो,’ उनले भनिन्, ‘नदिउ भने केही गर्लान् भन्ने डर ! आफ्नो हक नभएको चिज के गर्नु ?’ उनको सो राहत पनि छिमेकी अर्कैलाई दिन लगाईएको छ । ‘कुनैदिन खाएर कुनैदिन भोकै बसेर दुई सन्ताल पालेकै छु । अर्काले दिएको कति चल्ला भनेर दिए,’ उनले दुखेसो पोखिन् ।

वडासदस्य ओलीले आफ्नो र नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वडाअध्यक्ष हर्कबहादुर सिँहले दिएको नाम बाँझ्दा यसो भएको बताए । ‘उहाँले अरु दुईजनाको दिनुभएको रहेछ । त्यसैले भयो,’ उनले भने,‘तैपनी मैले त फिर्ता नदिनुस मिलाउला भनेको हुँ । खै के भयो ?’

वडाध्यक्ष भिम बोहराले राहत वितरण समितिका सदस्यहरु बिचमा समन्वय नमिलेर त्यसो भएको बताए । उनले भने,‘एकजनाले उहाँहरुको र अर्कोले अर्कैको नाम दिएपछि यसो भएको हो ।’ उनीहरुलाई पनि राहत दिने तयारी रहेको उनले बताए । ‘उहाँ लगायत त्यहीँ पाँचजना अरुलाई पनि दिने तयारी छ,’ उनले बताए ।

गाउँपालिका अध्यक्ष तेजबहादुर डुम्रेलले दुबै एकल महिला राहत पाउने वर्गमै नपर्ने प्रतिक्रिया दिए । ‘दुबै महिला सडकमा काम गरेर मासिक ६ हजार बुझ्छन,’ उनले भने,‘थप भनेको खेतीपाती भएका महिला हुन् ।’

राजनीतिक पूर्वाग्रहले राहत फिर्ता लिएको प्रतिपक्षी नेपाली कांग्रेसले आरोप लगाएको छ । वडाध्यक्ष र गाउँपालिका अध्यक्ष दुबै तत्कालिन नेकपा एमालेबाट निर्वाचित भएका हुन् । ‘राजनीतिक पूर्वाग्रहले नै उहाँहरुबाट राहत फिर्ता लिईएको हो,’ कांग्रेस नेता धर्मराज जोशीले भने,‘उहाँहरुबाट त फिर्ता लिईयो । बाँकीलाई छानीछानी आफूलाई भोट नदिनेलाई राहतमा नै समावेश गरिएको छैन् ।’

गाउँपालिका अध्यक्ष डुम्रेलले सबै दलको संयन्त्र बनाएर नै राहत वितरण गरिएको दाबी गरे । ‘सबै ठाउँमा नेपाली कांग्रेसका मानिस राखेका छौ । स्थानीय बुद्धिजिवी पनि राखेका छौ,’ उनले भने,‘आवश्यकताका आधारमा नै राहत वितरण भएको छ ।’ उनका अनुसार गाउँपालिकाभर हालसम्म एकहजार पाँचसय बढीलाई राहत वितरण गरिएको छ ।

 

 

प्रकाशित: २२ वैशाख २०७७ ०९:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App