coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पर्याप्त सुरक्षा सतर्कता अपनाएर दुई सय आयोजनाको काम सुरु

काठमाडौं- लकडाउनकै बीचमा  सडक विभाग मातहतका करिव दुई सय भन्दा धेरै आयोजनाको काम थालेका छन् । कोरोना भाइरसको कारणले ठप्प भएका आयोजनालाई लक्षित गरेर सामाजिक दुरी कायम गरेर काम सुरु गरिएको हो ।

सडक विभागले जनशक्तिभन्दा धेरै मेसिनरी औजारबाट धेरै काम हुने आयोजना र समुदाय भन्दा टाढा रहेका आयोजनालाई लक्षित गरेर भौतिक निर्माण कार्य पर्याप्त सुरक्षा सावधानी अपनाएर सुरु गरेको हो । सडक विभागका उपमहानिर्देशक शिवहरि सापकोटाले पर्याप्त सुरक्षा सावधानी अपनाएर लकडाउनकै बीचमा करिव दुई सय भन्दा धेरै आयोजनाले काम थाल्ने प्रयास गरेको बताए । ‘लकडाउनकै बीचमा केही आयोजनाको काम सुरु गरेका छौं ।

्अहिलेको परिस्थितिमा केही अप्ठेरो पक्कै छ ,’ उनले भने, ‘पर्याप्त सुरक्षा सतर्कता अपनाएर विकासे आयोजनाको काम थालिएको छ ।’ सडक विभाग मातहत अहिले दुई हजारभन्दा धेरै आयोजना निर्माणाधिन अवस्थामा रहेका छन् । अहिले काठमाडौंको पुतली सडकमा ढल राख्ने, गौशला, चाबहिल चुच्चेपाटीमा सडक कालोपत्रे तथा भूमिगत विद्यूतीय प्रसारणलाइन निर्माण लगायतको काम भइरहेको छ । सडक विभागका  उपमहानिर्देशक सापकोटाले चालु आवभित्रै निर्माण गर्नुपर्ने करिव ६० भन्दा धेरै पुलको निर्माण कार्य थालिएको छ । ‘अहिले ६० भन्दा धेरै पुलको आवश्यक पूर्वाधार निर्माणको काम थालिएको छ,’ उनले भने, ‘वर्षात् अगावै काम नगर्ने हो भने यस अघि निर्माण गरेको पुलको संरचनाको सबै काम नलाग्ने अवस्था आउन सक्छ । त्यसैले काम सुरु गरेका हौं ।’

नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले व्यवसायीहरुले पुल निर्माणका लागि आफ्नो अरबौंको लगानी गरि निर्माण स्थलहरुमा आवश्यक निर्माण सामग्रीहरु गिट्टी, बालुवा, सिमेन्ट, रड, फर्मा लगायत ढुवानी गरिसकेका आवश्यक सुरक्षा अपनाएर पुल निर्माणको वातावारण बनाइदिन आग्रह गरे । ‘अहिले अधिकांश पुल निर्माणको लागि स्लाव ढलान गर्ने फर्मा राखि रड समेत बाँधि सकेको र प्रिस्टेज पुल निर्माणको लागि टेण्डम तार जडान कार्य भइसकेको छ,’ उनले भने, ‘यस्ता खालका निर्माण कार्य वर्षा शुरु हुनु भन्दा आगाडी नै गर्न अति आवश्यक हुन्छ । त्यो गर्न नसकेमा निर्माण व्यवसायीको अवौ लगानी डुब्ने जोखिम हुन्छ ।’

सडक विभागले स्थानीय तहबाट निर्माणजन्य सामग्रीको सहज ढंगले आपूर्ति नहुँदा काम थालेका केही आयोजनाको काम प्रभावित भएको जनाएको छ । ‘केही स्थानीय तहले निर्माण सामग्री ओसारपसार गर्न अवरोध गरिरहेका छन् । जसको कारणले केही अवरोध आएको छ । ’ उपमहानिर्देक सापकोटाले भने, ‘स्थानीय तहले अनुमति दिएपनि  समुदायको अवरोधको कारणले निर्माणजन्य सामग्री ल्याउन असहज भइरहेको छ । ’

सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपालीले लकडाउनकै अवधिमा जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिएर सडक निर्माणको कार्य तिव्र पारेको बताए । ‘गौशाला चाबहिल सडक खण्डको काम सुरु गरेका छौं,’ उनले भने, ‘लकडाउनकै अवधिभित्रै कालोपत्रे गर्ने लक्ष्य राखेका छौं ।’ प्रमुख नेपालीले गौशला–चाबहिल सडक मर्मतसम्भारले नटिक्ने भएकाले दीर्घकालीन समाधान गर्न लागिएको बताए ।

‘गौशाला–चाबहिल सडक मर्मतसम्भार गरेर टिक्दै टिक्दैन,’ उनले भने,‘टुटेफुटेका पाइप हटाउँदै नयाँ पाइप फेरेर कालोपत्रे गर्दैछौं । यसले दीर्घकालिन समाधान गर्नेछ ।’ कार्यालयले सडक कालोपत्रे गर्दाको लागि आवश्यक पर्ने निर्माण सामग्री ल्याउनको लागि १५ वटा टिपरलाई जिल्ला प्रशासन कार्यालयसँग अनुमति पनि दिइसकेको छ ।

गौशाला चावहिल चुच्चेपाटी,गोपीकृष्ण हलसडक खण्डको सडकको पाइप फेरेर सडक कालोपत्रे गर्ने ठेक्का कालिका कालिका कन्स्ट्रक्सन र वेदांशी कन्स्ट्रक्सन जेभीले पाएको हो । जेभीले करिव साढे दुई किलोमिटर सडकको ठेक्का २० करोड ८७ लाखमा पाएको हो । कार्यालयले जेभीसँग ६ महिनाभित्रै निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको हो। सम्झौता अनुसार साढे दुई किलोमिटर सडक उप्काएर फेरि पिच र खानेपानीको नयाँ पाइप जडान गर्नुपर्ने हुन्छ । प्रमुख नेपालीले चाबहिल गौशाला सडक सडकखण्डमा पाइप टेस्टिङको काम भइरहेकाले केही दिनभित्रै कालोपत्रेको काम सुरु हुने दावी गरे ।

गौशाला चाबहिल सडक खण्डमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडले खानेपानीको चुवाहट नियन्त्रणको काम गरिरहेकाले एकाध दिनभित्रै कालोपत्रे गर्ने दावी गरे । कार्यालयका अनुसार तिनकुने गौशाला साढे दुई किलोमिटर सडक ओभर लेको काम सम्पन्न भइसकेको जनायो । त्यसैगरी काठमाडौ जिल्लामा ४५ किलोमिटरमध्ये हालसम्म ३१ किलोमिटर ओभर लेको काम सम्पन्न भएको छ ।

 

 

 

 

प्रकाशित: २१ वैशाख २०७७ १३:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App