coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

दिर्घ रोगीलाई घरमै औषधि

दुलेगौँडा (तनहुँ) -  लकडाउन सुरु भएपछि स्वास्थ्य संस्थामा अत्यावश्यक बाहेकका सेवा बन्द छ। कोरोना कहरले रोगले नच्याप्दासम्म दबाएर बस्नुपर्ने बाध्यता छ सर्वसाधरणमा।

नियमित औषधि सेवन गर्ने  दिर्घ रागका बिरामी लकडाउनका कारण सार्वजनिक सवारी नचल्दा मारमा छन्। औषधि खरिद गर्न सकस छ। त्यस्ता बिरामीलाई लक्षित गर्दै तनहुँका केही निजी र सरकारी स्वास्थ्य संस्थाले घर गाउँमै पुगेर औषधि उपचार सेवा दिइरहेका छन्। समाजिक संघसंस्थाले पनि दीर्घ रोगीलाई औषधि सहयोग गरेका छन्। 

भिमाद रत्नचोकस्थित थापा मेडिकल हलले बिरामीले अर्डर गरेका औषधि घरमै पु-याइदिने व्यवस्था मिलाएको छ। नियमित औषधि सेवन गर्ने बिरामीलाई प्राथमिकतामा राखेर सेवा दिएको सञ्चालक सुर्य थापाले बताए। उनी भन्छन्, ‘फोनबाट आवश्यक परेको औषधि अर्डर आउँछ। यहाँ नपाइने औँषधि पनि अन्तबाट मगाएर लैदिने गरेका छौँ।’ 

भिमादमा उपलब्ध नभएका औषधि पोखरा, काठमाडौँ र भरतपुरबाट मगाउने उनले जानकारी दिए।  स्वास्थ्य संस्थाको पहुँचमा नहुदाँ दिर्घ रोगीले जोखिम मोल्नुपर्ने भएकाले त्यस्ता बिरामीलाई मध्यनजर गर्दै सेवा दिएको थापा बताउँछन्। उनले भिमाद नगरपालिकासंगै जिल्लाको म्याग्दे, ऋषिङ र घिरिङ गाउँपालिकाको विभिन्न स्थानमा बिरामीको माग अनुसारको औषधि लिएर पुग्ने गरेको जनाए। उनले छिमेकी जिल्ला स्याङजाको हरिनास गाउँपालिकामा पनि सेवा दिने गर्दछन्।

दुलेगौँडाको तनहुँ सेवा हस्पिटलले पनि अर्डर भएका औषधी घरमै पु¥याईरहेको छ। अस्पतालका प्रमुख प्रशासकिय अधिकृत बिष्णु अर्यालले सम्भव भएसम्म घरदैलोमा औषधी पु¥याएको बताउँछन्। अस्पतालले औषधी पु¥याउनलाई एक जना कर्मचारी खटाएको छ। जिल्लाको थर्पु, साँखे, राईपुर, दुलेगौँडा, खैरेनीटार, ढोरफिर्दी, थप्रेकसम्म औषधि लिएर जानेको गरेको अस्पतालले जानएको छ। 

यहाँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ ले पनि यस्तै सुविधा दिएको छ। दिर्घ रोगी र नियमित सेवन गरिने औषधि सकिन चार दिन अगावै वडा कार्यालयमा औषधीको विवरण र रकमसहित सम्पर्क गर्नसञ्चार माध्यममा सुचना प्रसारण गर्दै आह्वान गरिएको छ।  संकटको बेलामा वडाबासीलाई वडामै औषधिको व्यवस्था गरेको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले बताए। 

शुक्लागण्डकी जेसिजले पनि दिर्घरोगीलाई औषधि सहयोग गरेको छ। शुक्लागण्डकी नगरपालिका–९ घारीस्थित सुकुम्बासी बस्तीका ४० जना विपन्न वर्गका दिर्घ रोगीलाई एक महिनालाई पुग्ने औषधि सहयोग गरेको अध्यक्ष मदन श्रेष्ठले बताए। ‘लकडाउनले गर्दा विपन्न वर्गका दिर्घ रोगीले नियमित सेवन गर्नुपर्ने औषधी पाएका छैनन्।  नियमित औषधी सेवन नगर्दा ज्यानै जोखिममा पर्न सक्छ। खाद्यन्नसंगै औषधि पनि आवश्यक हुन्छ। खाद्यन्न त सबैले सहयोग गरेका छन्। हामी चाहीँ औषधि आवश्यक ठानेर सहयोग गरेका हौँ’, उनले भने।  

कोरोना भाईरसको संक्रमण रोक्न महिना दिनदेखि भएको लकडाउनले औषधि खरिद गर्न समस्यामा परेका एचआइभी संक्रमितलाई कम्युनिटी सपोर्ट ग्रुप तनहुँले घरघरमै औषधि वितरण गरेको छ। संस्थाले एचआइभी संक्रमितको अधिकारका लागि काम गर्दै आईरहेको छ। ‘संक्रमितले नियमित औषधि सेवन गर्नुपर्छ। 

त्यसैले लकडाउनको बेला औषधि सकिएका संक्रमितको सहजतका लागी घरमै पुगेर औषधि वितरण गरिएको छ’,  गु्रपका अध्यक्ष श्रीराम कंडेलले बताए।  संस्थाले दिएको जानकारी अनुसार जिल्लामा तीन सय १३ जना एचआइभी सङ्क्रमित छन्।  दुई सय जनाले दुई महिनालाई पुग्ने औषधी लकडाउन अगावै लिएका थिए। बाँकी एक सय १३ जनालाई औषधी घरमै उपलब्ध गराएको कंडेलले बताए। ‘लकडाउन लम्बिएपछि पहिलो चरणमा वितरण गरेको औषधीले पुगेन।  दोस्रो चरणमा पुन ः औषधि उपलब्ध गराएका छौँ’, उनले भने। 

यसैबिच मनोसामाजिक अपांगता भएका ब्यक्तिहरुलाई कोशिस नेपालले तनहुँका दुई स्थानिय तहमा निशुल्क औषधी उपलब्ध गराएको छ। शुक्लागण्डकी नगरपालिकामा १८ जना  र बन्दीपुर गाउँपालिकामा १२ जनालाई दुई महिनालाई पुग्ने गरी स्वास्थ्य शाखालाई औषधि उपलब्ध गराईएको संस्थाले जनाएको छ।

प्रकाशित: २१ वैशाख २०७७ १२:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App