coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सीमापारिबाट वारि, व्यवस्थापन गर्न नसक्दा जोखिम

बैतडी/दार्चुला  - झुलाघाट नाकाबाट बिहीबार एक हजार दुई सय ९९ जना भित्रिए। भारतको पिथौरागढ जिल्ला प्रशासनले ८ सय ३७ जना नेपाली क्वारेन्टाइनमा रहेको जानकारी बैतडी जिल्ला प्रशासनलाई गराएको थियो। तर भारतीय पक्षले उपलब्ध गराएको तथ्यांकभन्दा डेढी बढी आएकाले व्यवस्थापनमा समस्या भएको छ।

‘हामीले करिब नौ सयजना आउने अनुमान गरेका थियौं,’ बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले भने, ‘तर धेरैजना आएपछि व्यवस्थापनमा समस्या भयो।’

उताबाट आएकालाई सोही दिन सीमानाकामा स्वास्थ्य जाँच गरी सम्बन्धित जिल्ला वा स्थानीय तहमा पठाउने तयारी भए पनि दुई सय ७४ जनालाई दशरथचन्द नगरपालिकाको ज्ञानेश्वर माविमा एक रात राख्नुप¥यो। उनीहरुले त्यो रात खाना खान पनि पाएनन्। चिउराकै भरमा रात कटाए। 

बैतडी र दार्चुलाका सीमानाकाबाट बिहीबार भित्रिएका सबै क्वारेन्टाइनमा बसेका छैनन् 

भारतीय प्रशासनले दिएको तथ्यांक अनुसार गाडीको व्यवस्था गरिएको थियो। तर अनुमान गरेभन्दा बढी भित्रिएपछि व्यवस्थापनको मात्र होइन कोरोना संक्रमणको पनि जोखिम बढेको छ। उताबाट आएकालाई  १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न भनिए पनि सबै बसेका छैनन्। 

भारतबाट बिहीबार आएका ती सबैजना त्यहाँको क्वारेन्टाइनमा बसेका भने होइनन्। केही भारतीय गाउँबाट सीधै आएका छन्। सीमानाका अझै नखुल्ने सुनेपछि क्वारेन्टाइनमा नबसेका पनि आएको हुनसक्ने बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले बताए बिहीबार भित्रिएका मध्ये आधाजति सीमापारि एक महिनादेखि क्वारेन्टाइनमा थिए। उनीहरुमा संक्रमण नभए पनि क्वारेन्टाइनमा नबसी आएकाबाट जोखिम बढेको छ।

भारतीय क्वारेन्टाइनमा बसेकाभन्दा बढी भित्रिएपछि व्यवस्थापन गर्न समस्या भएको छ। पुर्चौडी नगरपालिकामा अनुमान गरेभन्दा बढी भित्रिएपछि समस्या भएको छ। नगरपालिकाले पाँच सय जनासम्म बस्न मिल्ने क्वारेन्टाइन बनाएको थियो तर साढे आठ सयभन्दा बढी आएकाले व्यवस्थापन गर्न चुनौती भएको नगरप्रवक्ता दले धामीले बताए। जिल्ला प्रशासनले भारतीय क्वारेन्टाइनमा बसेकालाई मात्र ल्याउने भन्दै एक दिन सीमानाका खोले पनि क्वारेन्टाइनमा नबसेका पनि आएपछि समस्या भएको हो।

यसैगरी दार्चुुलाको सीमानाकाबाट पनि भारतीय क्वारेन्टाइनमा बसेका भनिएभन्दा बढी भित्रिए। सीमापारि धार्चुलाका विभिन्न पाँच क्वारेन्टाइनमा ८ सय २३ जना नेपाली बसेको जानकारी त्यहाँका अधिकारीले नेपाल पक्षलाई गराएका थिए। तर दत्तु र खलंगाका नाकाबाट एक हजार दुई सय ९६ जना आएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए। सीमापारिबाट आएका सबैलाई क्वारेन्टाइनमा राख्न सम्बन्धित स्थानीय तहलाई भनिएको प्रजिअ पौडेलले बताए।  

अनुमान गरेभन्दा बढी आए पनि सबैलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको शैल्यशिखर नगरपालिकाका प्रमुख अमरसिंह धामीले बताए। दार्चुला सदरमुकाम रहेको महाकाली नगरपालिकालाई सुरुमा उताबाट आएकालाई व्यवस्थापन गर्न हम्मे परेको थियो। तर गाडी व्यवस्था गरी सम्बन्धित जिल्ला र स्थानीय तहमा पठाएपछि सहज भएको नगरप्रमुख हंसराज भट्टले बताए।

कोरोना संक्रमण फैलिन नदिन उता भारतले लकडाउन गरेपछि त्यहाँ मजदुरी गर्दै आएका नेपाली घर फर्केका थिए। तर नेपालले पनि लडाउन गरेपछि उनीहरू करिब डेढ महिनादेखि सीमापारि भारतीय भूमिमै रोकिएका थिए। यता आउन नपाएर भारतको पिथौरागढ जिल्लाका विभिन्न स्थानमा क्वारेन्टाइमा बसेका नेपालीलाई स्वदेश ल्याउन लागिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए।

बैतडी, दार्चुला र भारतको पिथौरागढ जिल्लाका अधिकारीबीच सहमति भएपछि सीमापारि क्वारेन्टाइनमा बसेका नेपालीलाई यता ल्याइएको हो। ती सबैलाई अनिवार्य क्यारेन्टाइनमा राखेर स्वास्थ्य जाँच गरिने बताइएको छ ।

सीमानाकामा उनीहरूको स्वाथ्य परीक्षण गरिएको र त्यसपछि क्वारेन्टाइनमा बस्न सम्बन्धित स्थानीय तहमा पठाइएको प्रजिअ पौडेलले बताए। सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएका छन्। उनीहरुलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राखी ¥यापिड टेस्ट गरी रिपोर्ट नेगेटिभ आएमा  मात्रै घर पठाइने बताइएको छ।

बिहीबार बझाङ, बाजुरा, कैलाली, कञ्चनपुर, बर्दिया, सुर्खेत, मुगु, दैलेखलगायत जिल्लाका नागरिक भित्रिएका हुन्।
सीमावर्ती नेपाल र भारतीय जिल्लाका अधिकारीबीच भएको सहमतिअनुसार बिहीबार बैतडीको झुलाघाट र दार्चुलाका नाकाबाट सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लाका दुई हजार ६ सय ९५ जना भित्रिएका थिए। 

एकजनाको मृत्यु
सीमानाका झुलाघाटबाट बिहीबार भित्रिएका बैतडीका एकजनाको क्वारेन्टाइनमा जाँदै गर्दा मृत्यु भएको छ। पुर्चौडी नगरपालिका–६, भूमिराज, मनकालीका ६७ वर्षीय जुनी लुहारको शुक्रबार साँझ मृत्यु भएको प्रहरीले बताएको छ। भारतको पिथौरागढ जिल्लाबाट आएका उनी श्वासप्रश्वासका बिरामी थिए।

उपचारको लागि भारत गएका उनी सीमानाका बन्द भएकाले उतै बसेका थिए। सीमानाका खुलेपछि घर आएका उनको ढोल्यामोडबाट हिँडेर क्वारेन्टाइन जाँदा बाटोमै मृत्यु भएको पुर्चौडी नरपालिकाका स्वास्थ्य संयोजक विनोदकुमार कुँवरले बताए। मृतकको स्वाब संकलन गरी परीक्षणका लागि धनगढी पठाउने तयारी भइहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।

मलामी गएकालाई पनि छुट्टै क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

प्रकाशित: २१ वैशाख २०७७ ०१:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App