उदयपुर- सोमबार साँझदेखि त्रियुगा नगरपालिका ११ गाईघाटकी २९ वर्षीया सरस्वति गुप्तालाई सुत्केरी व्यथा लाग्यो । सुरुमा स्थानीय डा. लाई देखाउँदा ‘केस कम्प्लिकेटेड’ देखिएको भन्दै सुविधासम्पन्न अस्पताल जान सुझाव आयो । लामो समयदेखिको लकडाउन, त्यसमाथि कोरोना संक्रमित धेरै देखिएकाले स्थानीय अस्पतालमा उपचार गर्न परिवारलाई डर लाग्यो, संक्रमित पाइएकैले स्थानीय अस्पतालहरु पनि जो कोही विरामीको खुलेर उपचार गर्ने मनस्थितिमा छैनन् ।
व्यथाले च्याप्दै लगेपछि मंगलबार विहान प्रकाशले श्रीमती सरस्वतिलाई लिएर एम्बुलेन्समार्फत विराटनगरस्थित नोबेल मेडिकल अस्पताल पुगे । सहजै भर्ना लिएको अस्पतलाले उनको पेटमा बच्चाको अवस्था अप्ठेरो रहेको पाइएको भन्दै अप्रेसन गर्न सुझायो । सोही अनुसार अस्पतालमा तयारी भयो, बुधबार जव उनलाई अप्रेसन थिएटर (ओटी) छिराइयो, डा.ले पुर्जीमा विरामीको ठेगाना ‘उदयपुर’ देख्नेबित्तिकै अप्रेसन ‘क्यान्सिल’ गरेको भन्दै विरामीलाई बाहिर निकालियो । र, उनलाई कोसी अस्पताल रिफर गरेको पत्र थमाइयो ।
कतिखेर अप्रेसन सकिएला, आमा र नवजात शिशुको अनुहार हेर्न पाउला भनेर ओटीबाहिर कुरिबसेका प्रकाश त्यसबेला अचम्ममा परे, जव सरस्वतिको अप्रेसन होईन, कोसी अस्पताल लानुपर्ने ‘रिपर पत्र’ नर्सले थमाए । सुरुमा उनी अक्क न बक्क परे । तर, सोधखोज गर्दा कोरोना प्रभावित उदयपुरबाट आएको विरामी भएकाले संक्रमणको आशंकामा उनको अप्रेसन गर्न डा. हच्किएर कोसी रिफर गरिएको रहेछ भन्ने पत्ता लाग्यो । उनलाई हाकाहाकी त भनिएन तर, पुर्जीमा प्रष्टरुपमा लेखिएको थियो ‘रिफर टु कोसी जोनल हस्पीटल विकज प्यारिएन्ट फ्रम उदयपुर ।’
सरस्वतिलाई व्यथाले थप च्याप्दै लगेको थियो, केही ढिला मात्र गरे उनको अवस्था थप गम्भीर हुने निश्चित थियो त्यसैले हतार हतार कोसी अस्पताल लानुको विकल्प उनीसँग थिएन । श्रीमती लिएर प्रकाश कोसी पुगे । त्यहाँ पनि केहीबेर सोधपुछपछि भर्ना लिइयो, बुधबार राति नै सफल अप्रेसन भएको सरस्वतिलाई पुत्रलाभ भयो । यो समाचार तयार पार्दासम्म आमा शिशु दुवैको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेकाले गुप्ता परिवार खुसी नै छ ।
तर, नोबल अस्पतालले उदयपुरबाट ल्याएको भएकै कारण विरामीप्रति गरेका व्यवहारले गुप्ता परिवार मात्र होईन, सिंगो उदयपुरबासी अहिले आक्रोसित भएका छन् । पछिल्लो ४८ घण्टा यो विषयमा उदयपुरका सांसददेखि स्थानीयतहका जनप्रतिनिधि हुँदै राजनीतिक दल, नागरिक समाज, अधिकारकर्मी, कर्मचारी, पत्रकार, व्यापारी सबै पेशा व्यवसायी रन्थनिएको अवस्था छ ।
सरस्वतिमाथि मात्र होईन, नोबलले शुक्रबार अर्को यस्तै घट्ना दोहोर्याएको छ । घाँस काट्ने क्रममा लडेर भाँचिएको हातको उपचार गर्न लगिएका त्रियुगा नगरपालिका ६ घनचक्रेका १६ वर्षीय भिमबहादुर खत्रीलाई पनि नोबलले अप्रेसन गर्न इन्कार गरेको गुनासो परिवारजनले गरेका छन् । तोकिएको ३२ हजार शूल्क बुझाईसकेर ओटी छिराईसकेका खत्रीको शुक्रबार विहान ९ बजे अप्रेसन गर्ने बेला पुर्जीमा ठेगाना उदयपुर देखेपछि उनको पनि अप्रेसन भएन । उनलाई पनि कोसी रिफर गरिएको काका सम्शेर खत्रीले बताए । उनका अनुसार एक्सरे, एमआरआई सबै गरे अस्पतालले भने अनुसार पैसासमेत तिरेर ओटी छिराईसकेपछि ठेगाना सोधेको र उदयपुर बताउनेबित्तिकै डा. तर्सेर ‘यहाँ हुँदैन’ भन्दै रिफर गरेको सम्शेरले बताए ।
नोबलको यो व्यवहारले उदयपुरबासीलाई मर्माहत बनाएको प्रदेश सांसद अम्बिका थापा बताउँछिन् । उनले मानवको स्वास्थ्य अधिकार र महिलाको प्रजनन अधिकारमाथि अस्पतालले ठाडो प्रहार गरेको भन्दै यस्ता अस्पताल र चिकित्सकमाथि हदैसम्मको कारबाही हुनुपर्ने माग गरेकी छिन् । यो घट्नाले २००४ सालदेखि महिला अधिकारका लागि आन्दोलनरत तमाम नेपाली महिलाको धज्जी उडाएको भन्दै सांसद थापाले ०७२ को संविधानको भाग ३ को धारा ३८ (५) मा उल्लेखित स्वास्थ्यसम्बन्धी हकको व्यवस्थामाथि ठाडो प्रहार भएकाले नोबल अस्पताल सजायको भागीदार हुनुपर्ने माग गरेकी छिन् ।
महिला अधिकारकर्मी महेश्वरी राई, अधिकारकर्मी भरत खड्का, गैसस महासंघ अध्यक्ष सुमन परियार, अधिकारकर्मी सिर्जना दनुवार, मुस्लिम अधिकारकर्मी नजवुल खानलगायत दर्जन बढी अधिकारक्षेत्रमा क्रियासिलहरुले अस्पतालको व्यवहार अमानवीय भएको भन्दै सख्त कारबाहीको माग गरेका छन् । जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्ग परियार, त्रियुगा नगरप्रमुख बलदेव चौधरी, ११ नं. वडाध्यक्ष विश्वराज भट्टराईलगायत जनप्रतिनिधिहरुले पनि घट्ना अमानवीय भएको भन्दै स्वास्थ्य अधिकारको हनन् भएकोमा चिन्ता गर्दे कारबाहीको माग गरेका छन् ।
यो अवस्थाको अन्त्य गर्न उदयपुरमै सुविधासम्पन्न अस्पतालको निर्माण गर्नुपर्नेमा पनि सरोकारवालाहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद थापाले उदयपुर अस्पताललाई तत्काल आईसियुसमेत व्यवस्था हुनेगरी स्तरोन्नति गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । समन्वय प्रमुख तथा जिल्ला अस्पतालका अध्यक्ष परियारले ५० शैय्याको अस्पतालमा भौतिक भवन र जमिनजस्ता आवश्यक पूर्वाधार भएकाले मेसिन उपकरण र केही दक्ष जनशक्ति व्यवस्था गर्न सके उदयपुर अस्पतालमा सबैखाले सेवा दिन सकिने बताए ।
त्रियुगा नगरप्रमुख चौधरीले उदयपुरका जनताको स्वास्थ्य उपचारका लागि विराटनगर र काठमाडौंको मुख ताक्नु नपर्ने वातावरण बनाउन जिल्ला अस्पताललाई तत्काल स्तरोन्नति गर्नुपर्ने माग गरे । दुईदर्जन बढी कोरोना संक्रमितहरु भेटिएपछि आफुले सातादिनअघि नै उदयपुर अस्पताललाई विशेष अस्पताल बनाउन प्रदेश र संघीय सकारसमक्ष माग गरेको भन्दै आप्mनै जिल्लामा स्वास्थ्योपचारको व्यवस्था मिलाउन पुनः प्रदेश र संघीय सरकारसँग माग दोहो¥याए ।
प्रतिनिधिसभाका सांसद सुरेशकुमार राई (हिमाल)ले दक्ष चिकित्सकसहतिको ५० शैय्याको उदयपुर अस्पताललाई तत्काल कार्यान्वयनमा ल्याउन आवश्यक बजेट र जनशक्तिको माग गरे । अर्की प्रनिनिधिसभा सांसद प्रमिला राईले स्वीकृति भएको दशक बित्दासम्म दरबन्दी अनुसार डा. र मेसिन, औजार उपकरण नहुदा जिल्लाबासीको स्वास्थ्यमा समस्या आएको भन्दै यसबारे संघीय सरकारको ध्यानाकर्षण गराउनने बताईन् ।
प्रदेश सांसदहरु हिमाल कार्की, सञ्जा दनुवार, विमल कार्की, नारायण बुर्जा, कला घले र सुनिता चौधरीले पनि उदयपुर अस्पताललाई तत्काल दरबन्दी अनुसार दक्ष चिकित्सक खटाएर जिल्लामै उपचारको व्यवस्था गर्न माग गरेका छन् ।
प्रकाशित: २० वैशाख २०७७ १४:२१ शनिबार