८ वैशाख २०८१ शनिबार
समाज

नगरपालिकालाई काँग्रेसको राहत

राहत हस्तान्तरण गरिदै। तस्विरः योगेश रावल

टीकापुर - कोरोना नियन्त्रणका लागि भैरहेको लकडाउनका कारण विपन्न परिवारमा परेको समस्यालाई  मध्यनजर गर्दै विभिन्न संघसंस्थाहरुले टीकापुर नगरपालिकालाई खाद्यान्न सहयोग गरेका छन्। नेपाली काँग्रेस कैलाली क्षेत्र नं. १ प्रदेश समिति ख र टीकापुर नगर समितिले २ लाख ५० हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको छ। पार्टीका स्थानीय नेता कार्यकर्ताहरुबाट आर्थिक संकलन गरेर खरिद गरिएको खाद्यान्न आजै नगरपालिकालाई हस्तान्तरण गरिएको छ। 

सुदूरपश्चिम प्रदेश प्रतिपक्षी दलका नेता डा. रणबहादुर रावल र पूर्व स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरीले संयुक्त रुपमा मेयर तपेन्द्रबहादुर रावल र उपमेयर केशरी बिष्टलाई खाद्यान्न हस्तान्तरण गरेका छन्। 

प्रदेश समिति सभापति प्रकाश शाहले ५० क्विन्टल चामल र ४ क्विन्टल दाल हस्तान्तरण गरिएको जानकारी दिए। उनले विपन्न परिवारलाई राहत वितरणका लागि खाद्यान्न सहयोग गरेको बताए। उनले नागरिकलाई परेको समस्यामा नेपाली काँग्रेस सदैव समाधानका रुपमा प्रस्तुत हुने प्रतिवद्धता व्यक्त गरे। 

त्यस्तै प्रदेश समिति र नगर समितिले टीकापुरमा कार्यरत पत्रकारहरुलाई मास्क र सेनिटाइजर वितरण गरेको छ। विभिन्न १५ जनालाई मास्क र सेनिटाइजर वितरण गरिएको छ। 

टीकापुरस्थित श्री रावल प्रतिष्ठानले समेत नगरपालिकालाई १ लाख १३ हजार ४५० रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको छ। प्रतिष्ठानका अध्यक्ष डा. रणबहादुर रावलले २७ क्विन्टल चामल, १ क्विन्टल दाल र १ सय किलो नून प्रदान गरेका छन्। 

सुदूरपश्चिम प्रदेश प्रमुख प्रतिपक्षी दलका नेता तथा यस क्षेत्रका साँसद समेत रहेका डा. रावलले आफ्ना बुबा श्री रावलको नाममा गठन गरिएको प्रतिष्ठान मार्फत खाद्य सामाग्री प्रदान गरेका हुन। उनले आफ्नो जन्मदिनको अवसर पारेर नगर क्षेत्रमा रहेका विपन्न परिवारका लागि खाद्य सामाग्री हस्तान्तरण गरेका हुन। 

राहत सामाग्री बुझ्दै मेयर रावलले कोरोना विरुद्धको अभियानमा साथ दिएकोमा धन्यवाद व्यक्त गरे। उनले सबै मिलेर कोरोनाबाट हुनसक्ने महामारीको सामना गर्न आग्रह गरेका छन्। 

नगरपालिकालाई राहत दिने संघसंस्थाको संख्या दिनप्रति दिन बढ्दै गएको छ। हालसम्म नगरपालिकालाई विभिन्न संघसंस्थाहरुले १० लाख ६५ हजार ७७३ रुपैयाँ नगद सहयोग गरेका छन्। 

त्यस्तै ५१ हजार ६४२ किलो चामल, १ हजार ७५१ किलो दाल, १ हजार ८३५ किलो नून, ६३७ लिटर तेल, ४ हजार ६८८ पिस साबुन र २५ किलो पिठो समेत सहयोग प्राप्त भएको मेयरका स्वकिय सचिव निर्मला चौधरीले जानकारी दिइन्।

प्रकाशित: २० वैशाख २०७७ ०८:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App