coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

क्वारेन्टाइनमा ‘हप्कीदप्की’को गुनासो

इलाम- सदरमुकामस्थित जिल्ला समन्वय समितिको नयाँ भवनको क्वारेन्टाइनमा राखिएका व्यक्तिले आफूहरूलाई अभद्र व्यवहार गरिएको गुनासो गरेका छन् । आफूहरूलाई दिइने लुगाफाटो, सरसफाइ लगायतबारे गुनासो राख्दासमेत हप्कीदप्की गर्ने गरिएको उनीहरूको दुखेसो छ ।

सरसफाइ र अन्य अत्यावश्यक पक्षमा समेत व्यवस्थापनले ध्यान नदिँदा आफूहरूमै रोगको संक्रमण बढ्ने हो कि भन्ने डर लाग्न थालेको उनीहरूको भनाइ छ । ‘खाना ल्याएर दिन्छन् अनि खाए खाऊ, नखाए नखाऊ भनेजस्तो गर्छन्,’ एक व्यक्तिले भने, ‘क्वारेन्टाइनमा बस्नेहरू चाहिँ अपराधी हुन्जसो गरिन्छ यहाँ ।’ कुनै नयाँ व्यक्ति आउँदा उसलाई पहिला बसेको व्यक्तिकै ओढ्ने–ओछ्याउने लुगाफाटो दिइने गरेको उनले सुनाए । ‘फोहोर कपडा दुर्गन्धित पनि हुन्छ तर त्यही प्रयोग गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘सरसफाइको कुरा गर्‍यो भने त हप्काउँछन् पो ।’ यो क्वारेन्टाइनमा रहेका १६ जनाका लागि अहिले शौचालय–स्नानगृह सीमितमात्रै छन् । भएकामध्ये केही फोहोर भएर पस्नै नसकिने अवस्थाका रहेको उनीहरू सुनाउँछन् । ‘हामी आफूले गरेको फोहोर त सफा गर्नेथियौं तर हामी आउँदै चर्पी जाम भएको अहिलेसम्म सफा गरिएको छैन,’ एक महिलाले सुनाइन्, ‘यो क्वारेन्टाइन हो कि यातनागृह  ?’

क्वारेन्टाइनमा रहेका व्यक्तिलाई दिनमा २/२ पटक खाजा र खाना दिइन्छ । खानाको गुणस्तर पनि नराम्रो छैन । तर, सरसफाइको अवस्था, आफूहरूलाई दिइने लुगाफाटो अनि खप्नुपर्ने व्यवहार चाहिँ सन्तोषजनक नभएको उनीहरू बताउँछन् । ‘यहाँ हामीलाई समस्या छ भनेर सामाजिक सञ्जालमा व्यक्त गर्न, मिडियामा खबर गर्न, तस्बिर खिचेर बाहिर सार्वजनिक गर्नसमेत रोक लगाइएको छ,’ एक महिलाले भनिन्, ‘क्वारेन्टाइनको मापदण्डअनुसार सुविधा पनि नदिने अनि हामीले यो पीडा अरूलाई सुनाउन पनि नपाइने ?’

क्वारेन्टाइनमा मुटुका बिरामीलगायत दीर्घरोगीसमेत छन् । र, महिलाका लागि छुट्टै शौचालय पनि छैन । पुरुष–महिला सबैले उही शौचालय प्रयोग गर्नुपर्दा ज्यादै समस्या भइरहेको उनले सुनाइन् । ‘क्वारेन्टाइनमा बसेका कारण चाहिँ बिरामी परिएला भन्ने डर लाग्न थालेको छ,’ उनले भनिन्, ‘कम्तीमा आधारभूत पक्षमा त ख्याल गर्नुपर्ने हो । हामीलाई यहाँ मान्छेलाई जस्तो व्यवहार नै गरिँदैन ।’ महिलाहरूलाई मासिक श्राव हुँदा प्रयोग गरिने सेनिटरी प्याड मगाउनसमेत समस्या भइरहेको छ । ‘प्याड ल्याइदिन कसैलाई अनुरोध गर्ने त वातावरण नै छैन यहाँ,’ केही दिनदेखि क्वारेन्टाइनमा रहेकी महिलाले सुनाइन्, ‘हाम्रो कुरा सुनाएको कुनै अर्थ पनि छैन यहाँ ।’

सरकारले ‘कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड–२०७६’ अनुसार क्वारेन्टाइनहरूको सञ्चालन र व्यवस्थापन हुनुपर्ने हो । तर, मापदण्डमा भएको व्यवस्थाअनुसारको सुविधा जिल्लाका कुनैपनि क्वारेन्टाइनमा छैन । सदरमुकामको आलिसान भवनको क्वारेन्टाइनकै यो अवस्था भएपछि जिल्लाका सबैजसो विद्यालय भवन, स्वास्थ्य चौकीलगायतमा राखिएका क्वारेन्टाइनमा बस्नेको अवस्था अझ दयनीय छ । तर, आफूप्रति गरिने व्यवहार, सरसफाइ, लुगाफाटोजस्ता सामान्य पक्षमा समेत आफूहरू सन्तुष्ट हुन नसकेको यहाँ राखिएका व्यक्तिले बताइरहेका छन् ।

सदरमुकामको क्वारेन्टाइन व्यवस्थापन गरेको इलाम नगरपालिकाले मापदण्डअनुसार क्वारेन्टाइनमा सबै सेवा–सुविधा व्यवस्थापन हुन नसकेको स्वीकारेको छ । ‘नगरले क्वारेन्टाइनको मापदण्डअनुसार सकेसम्म सुविधा दिने नै प्रयास गरिरहेको छ,’ नगरका सूचना अधिकारी रामकुमार शाहले भने, ‘क्वारेन्टाइनमा अवस्था के छ भन्ने अध्ययन गरेर सुधार्नुपर्ने ठाउँमा सुधार्छाैं ।’

प्रकाशित: १९ वैशाख २०७७ १३:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App