coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

स्वर्ग जस्तै वारेकोटमा पनि पुग्यो गाडी

वारेकोटमा पुगेका गाडीहरु । तस्बिर : नागरिक

जाजरकोट- जाजरकोट जिल्लामा सबै भन्दा बढी प्राकृतिक श्रोत साधन र सुन्दरता एवम सम्पदा भएको वारेकोट गाउँपालिकामा गाडी पुगेको छ । जिल्लाका सात स्थानीय तहहरु मध्य सबै भन्दापछि सडक सन्जालसंग जोडिएको वारेकोट विकास र समृद्धिका लागि निकै सम्भावना भएको गाउँपालिका हो । गत चैत्र ११ गते मालवाहक टयाक्टर र यात्रु वोकेको जीप वारेकोटको केन्द्र लिम्सामा पुगेपछि वारेकोट सडक सन्जालसंग जोडिएको हो ।  

केहि समयअघि मात्र वारेकोट पुग्न पैदल तीन दिन हिड्नु पर्ने वारेकोटमा मंगलबार जिल्लाका जनप्रतिनिधिहरु पत्रकार, र स्थानीय सरोकारवालाहरु गाडी चढेर कोरोना संक्रमण रोक्न वारेकोट गाउँपालिकाले गरेको तयारीबारे अनुगमन गर्न वारेकोटको केन्द्र लिम्सामा पुगेपछि स्थानीयहरु रमाए । दुई तीन दिनको पैदल हिडेर सदरमुकाम खलंगा पुग्नु पर्ने बाध्यता भएका वारेकोटवासीहरु गाडी चढ्न पाउने भएपछि दंग परेको स्थानीय शिक्षक कालीप्रसाद थापाले बताए ।

जिल्लाको सुन्दर अनि रमणीय क्षेत्रको रुपमा रहेको वारेकोट गाउँपालिकाको केन्द्र लिम्सासम्म गाडी पुगेपछि जाजरकोट जिल्ला भित्रका सबै स्थानीय तहहरु सडक सन्जाल जोडिएका हुन् । भौगोलिक विकटता, गरिवी र सधैं खाद्य संकट बेहोरिरहेको वारेकोट गाउँपालिकामा सडक पहुँच पुग्नु विकास र समृद्धिमा एउटा अवसर भएको यहाँका वासिन्दाहरुको प्रतिक्रिया छ । २०६४ साल असोज ३० गते सरदरमुकाम खलंगामा गाडी पुगेको १३ वर्षपछि सुन्दर वारेकोटमा पनि गाडीको पहुँच पुगेको छ । विश्वकै जैविक विविधताको उत्कृष्ट अवस्था रहेको वारेकोट हरियाली सुन्दरता र हिमालहरुका कारणले मात्र नभइ विभिन्न बहुमूल्य खानी, सामाजिक तथा साँस्कृतिक विविधता र विस्वकैद दुर्लभ जन्तु अनि चराहरुको वासस्थान भएका कारण महत्वपुर्ण छ ।

सदरमुकाम खलंगाबाट उत्तरी भेगमा ७५ किलोमिटरको दुरीमा रहेको वारेकोट गाउँपालिका सडक सन्जालसंग जोडिएपछि यहाँको समग्र विकास र समृद्धिका लागि अवसरको ढोका खुलेको जिल्ला समन्व्य समितिका प्रमुख मनवहादुर रावलले बताए । वारेकोटी जनताको निकै लामो पर्खाइ तथा ठूलो त्याग र संघर्षका कारण सडकको पहुँच वारेकोटमा पुगेको भन्दै प्रमुख रावले अब त्यसलाई वारेकोटको भव्य विकास र समृद्धिका लागि सदुपयोग गर्न आवश्यक रहेको बताए ।

यस्तै वारेकोटमा सडक सुविधा पुगेको कुरा खुसी र हर्षको विषय भएपनि यो अस्थायी हुन नहुने वीरेन्द्र ऐस्वर्य मावि लिम्साका प्रधानाध्यापक गोरखवहादुर सिंहले बताए । उनले वारेकोटको पर्यटन, विद्युत, स्वास्थ्य सेवा, व्यापार  क्षेत्रको विकास र प्रवद्र्धनमा सहयोग पुग्नुका साथै महंगी नियन्त्रणमा  सडक पहुँचले ठूलो सहयोग गर्ने सम्भावना रहेको बताए । यस्तै वारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रवहादुर शाहले आफ्नो २०७४ जेठदेखि आफ्नो कार्यकाल सुरु भएदेखि किलो मिटर सडक निर्माण गरिएको र वारेकोटमा सडक पुर्‍याउन हालसम्म साढे चार करोड बढी रकम खर्च भएको बताए । उनले वारेकोट जिल्लाको मात्र नभइ देशकै महत्वपूर्ण क्षेत्र भएकोले सडकको पहुँचले विकास र सम्वृद्धिका केहि अवसर र सम्भावनाहरुलाई सतहमा ल्याउन सहयोग गर्ने बताए ।

वारेकोटमा रहेको विश्वकै दुर्लभ रेडपान्डा, बहुमूल्य जडीवुटीहरु, फलाम खानी, विश्वकै दुर्लभ चरा चिरकालीज, सुन गिद्ध, सेतो गिद्ध लगाएतका चराहरुको संरक्षण र प्रचार प्रसार गर्ने, स्थानीय कृषि उत्पादनमा नयाँ प्रविधिको प्रयोग गर्ने साइक्वारी, ठाकुरजी च्याखुरे पाटन सिर्पाचौर उपत्यकाका प्रचार प्रसार गर्ने लगाएतका विषयहरु अब सडक पहुँचसंगै विशेष रुपमा उठ्ने उनले बताए । विगतमा तीन दिनको पैदल यात्रा गरेर पुगिने वारेकोट अब एकै दिनमा आराम पुग्न सकिने अवस्था आएको स्थानीयवासीको भनाइ छ ।
 

प्रकाशित: १८ वैशाख २०७७ १३:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App