coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

मेडिकलबाट लागुऔषध बिक्री आरोपमा आमा र २ छोरा पक्राउ

तानसेन नगरपालिका–७, मा रहेको सरस्वती मेडिकल हल । तस्बिरः नागरिक

पाल्पा- पाल्पामा मेडिकल हलबाट लागुऔषध बिक्री वितरण गरेको आरोपमा प्रहरीले एकै परिवारका तीन जनालाई पक्राउ गरेको छ । तानसेन नगरपालिका–७ बर्तुङमा रहेको सरस्वती मेडिकल हलबाट सञ्चालक सरस्वती खनाल र उनका छोराहरू प्रकाश र विवेक कार्कीलाई पक्राउ गरिएको हो ।

लकडाउनको समयमा सरस्वती मेडिकल हलबाट गाँजा र ‘ट्रामाडोल’ नामक लागुऔषध बिक्री गरेको पाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । विशेष सूचनाका आधारमा प्रहरीले खनालको मेडिकल हल र घरमा खानतलासी गरेको थियो । सोही क्रममा मेडिकल हलमा रहेको भान्सा कोठाबाट तीन सय ग्राम गाँजा र खनालको घरमा रहेको विवेक सुत्ने कोठाबाट ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल आईपी ट्रामोल–५० एघार प्याकेटभित्र ३ हजार २ सय ९५ क्याप्सुल बरामद गरिएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दिपेन्द्र जिसीले मेडिकल सञ्चालक सरस्वतीलाई लागुऔषध ऐन अनुसार म्याद थप गरिएको बताए । उनी भन्छन्, ‘अर्को क्याप्सुल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको सिफारिसमा मात्र बिक्री गर्न पाइने भएकोले औषधी व्यवस्था विभाग आवश्यक कारवाहीका लागि प्रकाश र विवेकलाई पठाउन लागेका छौं ।’

पाल्पाका प्रहरी निरीक्षक नेतृत्वमा तानसेन नगरपालिकाका प्रतिनिधिसहितको टोलीले सरस्वती मेडिकल हलमा खानतलासी गरेको थियो । मेडिकल सञ्चालक सरस्वती सिएमए हुन, भने छोरा विवेक फार्मेसी अध्ययनरत विद्यार्थी हुन् । उनीहरू दुवै जना तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा समेत कार्यरत स्वास्थ्यकर्मी समेत भएको बताईएको छ । प्रकाश भने गाडी चालक हुन् ।

प्रहरीले यस अगाडी पक्राउ गरेका सेवनकर्ताले नै दिएको बयानका आधारमा सरस्वती मेडिकलमा खानतलासी गरिएको थियो । राइसकुकर राख्ने प्याकेटभित्र सेतो बट्टामा लुकाएर राखेको अवस्थामा गाँजा भेटिएको र विवेक सुत्ने कोठामा रहेको बाकसभित्र कपडाले छोपेर लुकाइ राखेको अवस्थामा ट्रामाडोलका क्याप्सुल फेला परेको थियो । ट्रामाडोल अवैधानिक औषधि हो । यसलाई अधिकारप्राप्त अस्पताल र त्यहाँ कार्यरत चिकित्सकले दिएको सिफारिसबिना बिक्री वितरण गर्न पाइदैन ।

 

प्रकाशित: १४ वैशाख २०७७ १४:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App