७ वैशाख २०८१ शुक्रबार
समाज

एउटै ट्याबलेट नखाई कोरोनामाथि जित

पोखरा/बागलुङ - कोरोना भाइरसबाट आफू पनि संक्रमित भएको थाहा पाउँदा अंशु सापकोटा (१९) र  मनकुमारी पौडेल (६५) को सुरुमा त होसहवास उड्यो। विश्वभर दैनिक हजारौं मानिसको यही रोगले ज्यान लिइरहेको अवस्थामा सापकोटा र पौडेलले आफू पनि संक्रमित भएको थाहा पाउँदा आत्तिनु स्वाभाविक पनि थियो। तर उच्च मनोबल बनाएका दुवैजना सकुशल घर फिर्न पाएका छन्। त्यसमा पनि १५ वर्षदेखि दमको समस्या भोगिरहेकी पौडेललाई निको हुँदा त झन् सबैतिर खुसीयाली छाएको छ। 

विश्वभरमै कोरोनाका कारण ज्यान गुमाउनेमा दम, उच्च रक्तचापजस्ता दीर्घरोगी बढी भएको विवरण बाहिरिएका छन्। दमकी दीर्घरोगी पौडेललाई पछि उच्च रक्तचाप पनि देखिएको थियो। दुवैजनाले कोरोनाका लागि भनेर कुनै पनि औषधि सेवन गर्नुनपरेको चिकित्सकले बताएका छन्। सापकोटा र पौडेलमात्र नभई नेपालका अरु पनि कोरोना संक्रमित उपचारपछि सहजै घर फर्किन सकेका छन्। बागलुङका यी दुई महिला निको भएसँगै गण्डकी प्रदेश कोरोनाका बिरामीबाट हाललाई मुक्त भएको छ। 

बागलुङमा भेटिएका यी दुई बिरामी गत चैत ४ गते कतार एयरवेजको एउटै जहाजबाट नेपाल आएका थिए। बेल्जियमबाट नेपाल आएका उनीहरुलाई परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो। एकै जहाजमा आएका बागलुङका चारजनामध्ये सापकोटा र पौडेलमात्र संक्रमित भएका थिए। 

पौडेलले अस्पतालमा भर्ना भएपछि दमसँगै उच्च रक्तचापको औषधि सेवन गर्न थालेकी थिइन्। सापकोटा भने एक ट्याबलेट औषधि पनि नखाई निको भएर घर फर्किन सकिन्।
 

पहिले बागलुङ नगरपालिका—४ कुँडुलेकी सापकोटामा संक्रमण पुष्टि भयो। उनको यात्रा विवरण खोज्ने क्रममा गौंडाकोटकी पौडेलमा पनि संक्रमण पुष्टि भयो। त्यसपछि दुवैजनालाई बागलुङको धौलागिरि अञ्चल अस्पतालमा उपचारार्थ भर्ना गरियो। पौडेलले अस्पतालमा भर्ना भएपछि दमसँगै उच्च रक्तचापको पनि औषधि सेवन गर्न थालेकी थिइन्। सापकोटा भने अस्पताल भर्ना भएदेखि एक ट्याबलेट औषधि पनि नखाई निको भएर घर फर्किन सकिन्। शुक्रबार राति अस्पतालबाट डिस्चार्ज भएर निस्कँदै गर्दा उनको अनुहारमा खुसीको चमक देखिन्थ्यो। बन्द कोठाभित्रको अत्यासलाग्दो २८ दिनको बसाइपछि उनी घर फर्कंदै थिइन्।

भर जान रेडक्रसको एम्बुलेन्स चढ्नुअघि उनले भनिन्, ‘सबैको हौसला र आत्मविश्वासले गर्दा म निको भएँ। सबैभन्दा ठूलो कुरा आत्मविश्वास नै रहेछ। चिकित्सकको सुझाव र आफन्तको ढाडस अनि व्यक्तिगत आत्मविश्वासले नै म निको भएँ।’

सापकोटा स्थानीय कुँडुले माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययरत छिन्। गत वर्ष उनले कुँडुलेकै कोरोना एकेडेमीबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएकी थिइन्। अस्पताल गेटबाट उनी बाहिरिँदै गर्दा कानेखुसी चल्दैथियो, ‘कोरोना त यिनले अघिल्लै वर्ष पार गरिसकेकी रहिछन्।’

वैशाख ६ गतै नै घर फर्किएकी पौडेल अहिले पनि होम क्वारेनटाइनमा छिन्। ‘१४ दिन अरुसँग हेलमेल नगर्नू भनेका छन्। म एक्लै बसेकी छु,’ उनले भनिन्, ‘अस्पतालमा बस्दा सानो नातिको अत्यार लाउँथ्यो। घर फर्के पनि अहिले अँगालो मार्न पाएकी छैन। नातिले तलबाट हेर्छ, म माथिबाट हेर्छु।’

‘दमको रोगीलाई कोरोनाले गाह्रो बनाउँछ भन्ने टिभीमा सुनेकी थिएँ, मलाई त केही न भएन बाबु,’ उनले अनुभव सुनाइन्। आत्मविश्वास बलियो बनाए रोगसँग लड्न सकिने रहेछ भन्ने उनलाई लागेको छ। ‘मलाई त निको हुन्छ भन्ने आत्मविश्वास थियो,’ पौडेलले भनिन्, ‘आफन्त र डाक्टरले पनि हौसला दिए। म ठीक भएँ। एउटै धोको छ, यो कोरोना महामारीका बीचमा मर्न नपरोस्।’

कोरोनाविरुद्ध कुनै पनि औषधि तयार नभएकाले बिरामीको हौसला नै मुख्य हतियार हुने धौलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोख्रेल बताउँछन्। ‘कोरोनाको संक्रमण पुष्टि भएपछि जे खालको स्वास्थ्य समस्या देखिन्छ त्यसैको औषधि दिने हो,’ उनले भने, ‘यो भाइरसको औषधि छैन। बिरामीमा आत्मबल र प्रतिरोधात्मक शक्ति बलियो भयो भने निको हुन्छ।’ पौडेललाई उच्च रक्तचाप थपिने बाहेक स्वास्थ्यमा कुनै समस्या नदेखिएको पोख्रेलले बताए। ‘दम त उहाँको पुरानै समस्या रहेछ, उच्च रक्तचापबाहेक अरु समस्या भएन। सापकोटा भने औषधि खान नपरी घर फर्किन सकिन्,’ उनले भने। 

गण्डकी प्रदेशमै पहिलो संक्रमित बनेकी सापकोटालाई सुरुमा थप उपचारका लागि काठमाडौं लैजानेबारे सल्लाह भएको थियो। पौडेललाई रातारात पोखरा ल्याउने योजना बनेको थियो। कोरोना संक्रमितलाई दमले थप अप्ठेरो पार्ने भएकोले भेन्टिलेटर चाहिने अनुमान गरेर पोखरा ल्याउने योजना बनेको चिकित्सक बताउँछन्। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिसमेत रहेका वरिष्ठ फिजिसियन डा.  बुद्धिबहादुर थापा भन्छन्, ‘सापकोटालाई काठमाडौं र पौडेललाई पोखरा ल्याउने योजना पनि बनेको हो। पछि बागलुङमै उपचार गरेर हेरौं भन्ने निर्णय भयो।’

पौडेललाई दमको समस्या भएकाले भेन्टिलेटर आवश्यक पर्ने अनुमान भएको पनि उनले बताए। ‘तर ती दुवैजना बिरामी कुनै समस्याबिना नै निको भएर गएका छन्। यो नै खुसीको कुरा हो,’ थापाले भने, ‘यसले अरु बिरामीलाई पनि हौसला मिलेको छ।’

बिरामीले पनि उच्च मनोबल देखाएकाले निको भएको उनले बताए। ‘कुनै पनि रोगमा मनोबल उच्च भयो भने छिटो निको हुन्छ। भाइरसलाई जित्नै नसकिने भन्ने होइन,’ थापाले भने, ‘तर पनि मान्छेको मनोविज्ञानले फरक पार्छ।’ 

बिरामी निको भएर गए पनि लक्षण नदेखिँदा रोग लुक्ने हो की भन्ने त्रास रहेको उनले बताए। ‘लक्षण नहुनु बिरामीलाई राम्रो हो। तर समाजलाई नराम्रो हो। सबैलाई परीक्षण गर्न नसकेको अवस्थामा लक्षण नहुँदा रोग लुक्ने डर छ,’ थापाले भने।

 

प्रकाशित: १४ वैशाख २०७७ ०२:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App