७ वैशाख २०८१ शुक्रबार
समाज

नमुना संकलन गर्न सेनासहितको टोली

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश २ का ८ जिल्लामा कोरोना संक्रमण परीक्षणका लागि स्वाब संकलन गर्ननेपाली सेनासहितको प्रविधिक टोली पठाएको छ। शुक्रबार १२ जनाको टोली त्यसतर्फ गएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। 

उदयपुरमा जमाती समूहमा कोरोना संक्रमण फैलिएको र यस्ता समूह प्रदेश २ का आठ जिल्लामा पनि रहेका हुनाले नमुना संकलनलाई जोड दिइएको देवकोटाले बताए।१५ सयजनाको नमुना संकलन गर्ने टोलीको लक्ष्य छ। ती नमुनाको पिसिआर विधिबाट परीक्षण गर्ने मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यसअघि वीरगन्ज,जनकपुर र उदयपुरमा गरी भेटिएका २८ जना संक्रमित जमाती समूहका हुन्। ‘भारतबाट आएका जमाती प्रदेश २ का जिल्लामा पनि रहेका हुनाले खोजी गरी स्वाब संकलन गर्न लागिएको होे’, देवकोटाले भने। 

मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमण भएका ४८ जनामध्येमा १० जना निको भएर घर फर्केका छन्। बाँकी सबैको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।

उदयपुरमा जमाती समूहमा कोरोना संक्रमण फैलिएको र यस्ता समूह प्रदेश २ का आठ जिल्लामा पनि रहेका हुनाले ती जिल्लामा नमुना संकलनमा जोड दिइएको छ। 
 

पछिल्लोपटक बिहीबार कोरोना संक्रमण पुष्टि भएका भोजपुरका २६ वर्षीय युवक फागुन ३० गते साउदी अरबबाट हिमालयन एयरवेजमार्फत नेपाल आएका थिए। नेपाल आएपछि उदयपुरमा बसेर उनी भोजपुर गएका थिए। भोजपुरमा आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि उनको पिसिआर परीक्षण गरिएको थियो। उनलाई उपचारका लागि विराटनगरको कोसी अस्पताल पु¥याइँदैछ। 

सरकारले हालसम्म ४७ हजार ४ सय ९६ जनाको नमुना परीक्षण गरिसकेको छ। तीमध्ये ९ हजार ४ सय ७जनाको पिसिआर र बाँकीको आरडिटी विधिबाट परीक्षण गरिएको हो। सबैभन्दा बढी परीक्षण सुदूरपश्चिम प्रदेशमा भएको छ।

हालसम्म उक्त प्रदेशमा ९ हजार ५ सय १३ जनाको नमुना परीक्षण भएको छ। त्यस्तै प्रदेश ३ मा ७ हजार १ सय ४३  जना र प्रदेश २ मा ४ हजार ९ सय ७१ जनाको परीक्षण भएको छ। सबैभन्दा कम प्रदेश ५ मा २ हजार ८ सय ७४ जनाको परीक्षण भएको छ। शुक्रबार उदयपुरको चौदण्डीगढी र त्रियुगामा ७८ जनाको स्वाब नमुना संकलन गरी परीक्षणमा पठाइएको मन्त्रालयले जनाएको छ। 

काठमाडौंबाट बस चढेर गाउँ फर्केपछि विभिन्न जिल्लामा क्वारेनटाइनमा बस्नेहरुको संख्या पुनः बढेको मन्त्रालयले जनाएको छ। हाल देशभरमा १२ हजार ९ सय ८५ जना क्वारेनटाइनमा रहेका छन्। त्यसैगरी ९९ जना आइसोलेसन वार्डमा छन्। पछिल्लो २४ घण्टामा मोबाइल एप्स र मन्त्रालयको वेबसाइटमार्फत सम्पर्कमा आएका ९ जना कोरोना संक्रमणको रातो सूचीमा परेका छन्। 

मन्त्रालयले कोरोना संक्रमित व्यक्तिको खोजी तथा नमुना संकलनका लागि हरेक स्थानीय तहमा स्वास्थ्यकर्मीको समूह बनाएर परिचालन गर्ने निर्णय गरेको छ। स्थानीय तहमै रहेका स्वास्थ्यकर्मीलाई परिचालन गरिने र अपुग भएका स्थानमा जिल्ला तथा प्रदेश स्तरबाट पठाइनेछ। गाउँपालिका र नगरपालिकामा दुईदुईजना,उपमहानगरपालिकामा तीन र महानगरपालिकामा पाँचजनाको समूह बनाइ परिचालन गरिँदैछ।

 

प्रकाशित: १३ वैशाख २०७७ ०७:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App