६ वैशाख २०८१ बिहीबार
समाज

अलपत्र परेकालाई घरसम्म पु‍र्‍याउँदै वडाध्यक्ष

पानी र चाउचाउ बाँड्दै वडाध्यक्ष। तस्विर:योगेश रावल

टीकापुर - चिसापानी पुगेका सुदूरपश्चिमेलीहरुलाई घरसम्म पु¥याउने काममा सकृय लम्कीचुहा नगरपालिका–३ का वडाध्यक्ष भक्त चलाउने भने विगत केही दिन यता आफै घर जान पाएका छैनन्।

उनी विगत चैत २७ गतेदेखि चिसापानीसम्म पुगेका व्यक्तिहरुलाई घरसम्म पठाउने व्यवस्था गर्दै आएका छन्। उनी पैदल वा कुनै सवारी साधन चढेर आएका व्यक्तिहरुको लगत संकलन गर्छन्। यस कार्यमा इलाका प्रहरी कार्यालय चिसापानी र सशस्त्र वेस क्याम्प डुँडेझारीका सुरक्षाकर्मीले साथ दिएका छन्।

उनी नजिकका पालिकाहरु टीकापुर, भजनी, घोडाघोडी, गौरीगंगा, जानकी, जोशीपुर लगायतका प्रमुखलाई टेलिफोनबाट मान्छेको संख्याका बारेमा जानकारी दिन्छन्। सोही अनुसार चिसापानी पुगेकाहरुलाई लैजान सम्बन्धित पालिकाले गाडीको व्यवस्था गर्छ।

नजिकको पालिकाले आफ्ना मान्छे ओसार्न थालेपछि कैलालीका टाढाका पालिका र अन्य आठ जिल्लाका मानिसहरु भने अलपत्र पर्न थाले। उनीहरु कैयौं दिनदेखी हिँडेर चिसापानी पुगे। यो अवस्था देखेर वडाध्यक्ष चलाउने उनीहरुलाई घरसम्म पु¥याउने कार्यमा जुटे।

‘उनीहरुले भोगेको पीडा भनेर साध्य छैन’ उनले भने–‘त्यो पीडामा थोरै भएपनि मल्हम लगाउने प्रयत्न गरेको हुँ।’

उनले चिसापानीमा थुप्रै मानिसहरु अलपत्र परेको फोटो राखेर घरसम्म पु¥याउने व्यवस्थाका लागि सहयोग मागे। पानस बोर्डिङ स्कुल, लम्की बहुमुखी क्याम्पस लगायतले बस उपलब्ध गराए। उनले तिनै बसमा राखेर सुदूरपश्चिमका पहाडी जिल्ला जानेहरुलाई ९० किलोमिटर टाढाको अत्तरीयासम्म पु-याउने व्यवस्था गरे। अहिलेसम्म सुदूरपश्चिममा करिव ३ हजार बढी मानिस भित्रिएका छन। ती मध्ये धेरै जसोलाई घरसम्म पु¥याउने व्यवस्था गरिएको छ।

‘पैदल आएका सबैलाई गाडी खोजेर घरसम्मै जाने वातावरण बनाए’ उनले भने–‘अहिले सुदूरपश्चिमका पहाडी जिल्ला जानेहरु आफै गाडी रिजर्ब गरेर आएपछि केही सहज भएको छ।’

सुरुका केही दिन थुप्रै मानिसहरु पैदल हिँडेर चिसापानी पुगेका थिए। अहिले भने धेरैजसो मानिसहरु कुनै न कुनै सवारी साधन प्रयोग गरेर आउन थालेका छन। मानिसहरु पैदलै आउने क्रम घटेपछि गाडीको व्यवस्थापन गर्न सहज भएको छ।

सुरक्षाकर्मी नै जोखिममा

चिसापानी हुँदै दैनिक सयौं मानिसहरु सुदूरपश्चिम भित्रिएका छन। उनीहरु देशका विभिन्न जिल्लाबाट फर्र्किएका हुन्। प्रहरीका अनुसार उनीहरु काठमाण्डौं, ललितपुर, भक्तपुर, सोलुखुम्बु, गोरखा, धादिङ, तनहुँ, सिन्धुपाल्चोक, कास्की, काभ्रे, दोलखा, नुवाकोटबाट फर्किएका हुन। उनीहरु मध्ये धेरैजसो मजदुरी गर्न गएकाहरु छन्।

यसरी सुदूरपश्चिम फर्किएकाहरुको चिसापानीमा कुनै स्वास्थ्य जाँच हुँदैन। उनीहरुलाई प्रहरीले टाढैबाट नाम ठेगाना सोधेर टिप्ने गरेको छ। प्रहरीले समेत असुरक्षित तवरले काम गरिरहेको छ। त्यहाँ कार्यरत प्रहरीसँग आफ्नो सुरक्षाका लागि कुनै भरपर्दो व्यवस्था छैन। उनीहरु मध्ये कतिपय मास्क र पञ्जा बिनै काम गरिरहेका छन। जसका कारण कोरोना संक्रमणको त्रास झन धेरै छ।

‘निर्देशन अनुसार काम गर्नै प¥यो तर हामी आफै सुरक्षित छैनौं’ एक सुरक्षाकर्मीले भने–‘ एउटै मास्क चार दिनदेखी मुखमा झुण्ड्याएको छुँ।’

सुदूरपश्चिम प्रदेश प्रमुख प्रतिपक्षी दलका नेता डा. रणबहादुर रावलले चिसापानीको अवस्थाका बारेमा स्थलगत जानकारी लिएका छन्। उनले सुदूरपश्चिम प्रवेश गरिरहेकाहरुको स्वास्थ्य जाँच नहुनु र सुरक्षाकर्मीलाई सुरक्षाको व्यवस्था नहुनु दुःखद भएको बताए। उनले सरकारले चिसापानीमा स्वास्थ्य जाँच डेस्क र सुरक्षाकर्मीका लागि स्वास्थ्य सामाग्रीको माग गरेका छन्। ‘यो निकै त्रुटीपूर्ण काम भैरहेको छ’ उनले भने–‘यसले मानव स्वास्थ्य संकटमा पर्नुका साथै अहिलेसम्मको उपलब्धी समेत गुम्ने खतरा छ।’

भोकभोकै घर फकिैदै

जोशीपुर गाउँपालिका–२ मुद्दीका अनिष डगौराको नौ जनाको परिवार काठमाण्डौैंदेखी भोकभोकै चिसापानी पुगेको छ। एक मार्बल कम्पनीमा काम गर्दै आएका डगौराले खाद्यान्न सकिएपछि घर फर्किएको बताए। ‘साता दिनसम्म भए ठिकै छ भनेर बस्यौं’ उनले भने–‘यो त कति दिनसम्म चल्ने हो थाहा छैन। भोकै मर्नु भन्दा घर फर्कियौं।’

सोलुस्थित हाईड्रो कम्पनीमा काम गर्ने कैलारी गाउँपालिका रानामौराका चन्द्रबहादुर चौधरी लगायत ७ जनाको टोली चार दिन पछि चिसापानी पुगेको छ। उनीहरुले हाइड्रोको काम बन्द भएर भोकै बस्नुपर्ने अवस्था आएपछि घर फर्किएको बताए। उनीहरु दुई दिन पैदल हिँडेका थिए। त्यसपछिका दुई दिन विभिन्न सवारी साधन चढेर चिसापानी पुगेका छन्।

डोटीको शिखर नगरपालिकाका ४४ जना काठमाण्डौंबाट यात्रुबाहक बस रिजर्भ गरेर आएका छन। उनीहरु मध्ये सबै अध्ययनरत विद्यार्थी हुन्। उनीहरुले समेत खाद्यान्न समस्या भएपछि घर फर्किएको बताए। यसरी बस रिजर्भ गरेर आउनेको संख्या बढ्दै गएको छ।

लकडाउनका बेला समेत मान्छेहरु सवारी साधन रिजर्भ गरेर एक ठाउँबाट अर्को ठाउँमा जान थालेपछि कोरोना फैलिने त्रास झन बढ्दै गएको छ। सरकारले एक जिल्लाबाट अर्को जिल्ला गैरहेकाहरुलाई सम्बन्धित पालिकाले क्वारेन्टाइनमा राख्नुपर्ने भनेपनि कतिपय व्यक्तिहरु क्वारेन्टाइनमा बस्न मानेका छैनन्। जसका कारण कोरोना नियन्त्रणमा निकै समस्या भैरहेको छ।

प्रकाशित: १२ वैशाख २०७७ १०:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App