७ वैशाख २०८१ शुक्रबार
समाज

परदेशमा थुनिएका नेपालीको जानकारी लिँदै बडीकेदार गाउँपालिका

डोटी- लकडाउनले परदेशमा थुनिएका नेपालीहरुको यतिबेला राज्यले वास्ता नगरेको गुनासो तीव्र छ। यसमा पनि भारतमा रहेका नेपालीहरुले नेपाल सरकारबाट आफ्नो जानकारीसम्म लिने काम नभएको भन्दै ठूलो असन्तुष्टी जनाइरहेका छन्।

कठिन समयमा देशभित्रै भित्र्याएर सुरक्षित अवस्थाको प्रत्याभूति दिनुको साँटो सीमामा अपहेलित गरिनु, राज्यका तर्फबाट दुई देशबीचमा आधिकारिक सम्वाद नहुनुले आफ्नो सरकारले भारतमा रहेका नेपालीहरुको अपमान गरेको उनीहरुको आरोप छ।

यस्तोमा डोटीको बडीकेदार गाउँपालिकाले भने भारत लगायत अन्य मुलूकमा थुनिएका आफ्ना नागरिकको जानकारी लिन सुरु गरेको छ। भविष्यमा निम्तन सक्ने चुनौती र नागरिकप्रति राज्यको दायित्व वहन गर्न परदेशमा रहेका नागरिकहरुको विवरण लिन सुरु गरिएको गाउँपालिका अध्यक्ष कृष्णबहादुर चन्दले बताए। ‘हामी दायित्व वहन र पूर्वतयारी दुबै गर्दैछौ,’ उनले भने,‘यदि भोली ति देशहरुले हाम्रा नागरिक पठाइदिए के गर्ने ? वा प्रावासमा रहदा उनीहरुले भोग्ने समस्याको सम्बोधन कसरी गर्न सकिन्छ ? यी यावत कुराको विश्लेषण गर्न यो विवरणले काम गर्नेछ।’

भारतमा ठूलो संख्यामा गाउँपालिका भित्रका नागरिकहरु रहेको अध्यक्ष चन्दले बताए। उनले भने,‘संकलित विवरणले हामीलाई आवश्यक पूर्वतयारी गर्न र उनीहरुबाट आउने संक्रमणको जोखिम व्यवस्थापनमा सघाउ पुर्‍याउनेछ।’

गाउँपालिकाले ढिलोचाडो आफ्ना नागरिक भित्र्याउनुपर्ने बुझाई राखेको उपाध्यक्ष ईन्द्रा भाट(बोहरा)ले बताइन्। ‘ढिलोचाडो हो। त्यसका लागि आवश्यक सतर्कतामा यो विवरण काम लाग्नेछ,’ उनले भनिन्,‘प्रवासमै रहदा भोगिरहेका समस्या सम्बोधनमा पनि गाउँपालिकाले केही गर्न सक्छ की, छलफल गर्न सजिलो हुन्छ।’

विवरण संकलनमा वडा कार्यालयलाई जिम्मेवारी दिएको छ। वडा कार्यालयले स्वास्थ्य संस्थाहरुसंग सहजीकरण गरेर महिला स्वास्थ्य स्वयम् सेविकामार्फत घरदैलोमा गएर तथ्याङ्क संकलन गर्ने गाउँपालिकाले जनाएको छ।  

प्रवासमा रहेका नेपाली नागरिकहरुकोे सुरक्षित स्वदेश आगमन र जोखिम न्युनीकरणमा संघ र प्रदेश सरकारसंग हातेमालो गर्न तयार रहेको गाउँपालिका अध्यक्ष चन्दले बताए। ‘सीमा नजिकै सुविधासम्पन्न क्वारेन्टाइन बसाइपछि अगाडी बढ्न दिए थप संक्रमणको जोखिम हट्छ। नागरिकप्रतिको दायित्व वहन पनि हुन्छ,’ उनले भने,‘यसमा गाउँपालिकाका नागरिकको खानालगायतको प्रवन्ध मिलाउन हामी तयार छौ।’

 

 

प्रकाशित: ६ वैशाख २०७७ ०६:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App