coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

किसानलाई लकडाउनमा भ्याई नभ्याई

खेतबारीमा गहुँ काट्दै किसान। तस्विरः योगेश रावल


टीकापुर-  मुलुक विगत २३ दिनदेखि कोरोना रोकथामका लागि लकडाउनमा छ। अधिकांश मानिसहरु घरभित्रै बसेका छन्। सरकारले नै सबैलाई घरभित्र बस्न भन्दै आएको छ। 

तर कतिपय किसान भने यतिबेला घरबाहिर खेतमा छन्। उनीहरु खेतमा नगएर सुख्खै छैन। यतिबेला किसानका खेतमा गहुँ पाकेको छ। समयमा गहुँ स्याहार्न नसके किसानलाई भोकमरीको डर छ। त्यसैले पनि किसान लकडाउनको उल्लंघन गर्दै खेतमा पुग्न वाध्य छन्। 

टीकापुर नगरपालिकामा अहिलेसम्म झण्डै ३० प्रतिशत गहुँ काटिएको छ। किसानलाई गहुँ काट्न निकै ढिलो भैसकेको छ। उनीहरु धमाधम हातैले गहुँ काट्न थालेका छन। हातले गहुँ काटेका किसान थ्रेसरका माध्यमबाट दाउन थालेका छन्। 

कतिपय किसानले भने गहुँ काट्नमा कम्पाइनको प्रयोग गर्ने गरेका छन्। यहाँ एक मात्रै कम्पाइन छ। जसले एक दिनमा करिव १६ विगाह क्षेत्रफलमा मात्रै गहुँ काट्न सक्छ। कम्पाइन मालिक धनसिँह साउँद गहुँ काट्न भ्याई नभ्याई भैरहेको बताउँछन। ‘एउटा मात्रै कम्पाइन छ। किसानको डिमाण्ड धेरै छ’ उनले भने –‘गहुँ काट्न ढिलो भैसकेकाले किसान निकै आत्तिएका छन्।’

उनले अरुकै गहुँ काट्ने धपेडीमा आफ्नो गहुँ काट्न नपाएको बताए। उनले ३० विगाह क्षेत्रफलमा गहुँ खेती गरेका छन।  देशभर लकडाउन भएपनि किसानलाई गहुँ काट्नका लागि स्थानीय सरकारले छुट दिएको छ। गृह मन्त्रालयले किसानलाई बाली स्याहार्न दिने भन्ने निर्देशन दिएपछि स्थानीय सरकारले सहजिकरण गरेको हो। 

टीकापुर नगरपालिकाले भिडभाड नहुने गरी गहुँ काट्न भनेको छ। सबै वडाध्यक्षहरु किसानको समस्यालाई लिएर चिन्तित छन। उनीहरुले नै किसानलाई सहजिकरण गरिरहेका छन्। कैलालीको दक्षिण पूर्वी क्षेत्र गहुँ खेतीका लागि निकै महत्वपूर्ण मानिन्छ। यहाँका अधिकांश किसान गहुँ खेती गर्दै आएका छन्। 

किसानलाई श्रीलंका प्रवेशमा रोक
तर टीकापुर नगरपालिका–८ श्रीलंकाका किसानले भने गहुँ खेती स्याहार्न पाएका छैनन्। उनीहरुलाई बर्दिया प्रहरीले सत्तीघाट पुल तर्न नदिएपछि गहुँ स्याहार्न नपाएका हुन। 

श्रीलंकामा झण्डै एक सय विगाह क्षेत्रफलमा गहुँ खेती गरिएको छ। कर्णाली नदीले चारैतिरबाट कटान गरेपछि बचेको ठाउँलाई श्रीलंका भनिन्छ। त्यहाँका बासिन्दा टीकापुर नगरपालिकाका अन्य वडामा बसोबास गर्छन। उनीहरु मध्ये थोरै परिवार मात्रै श्रीलंकामा बस्छन्।  

यतिबेला अन्य ठाउँमा बस्दै आएका किसानहरु श्रीलंकामा रहेको गहुँ बाली स्याहार्न नपाएपछि चिन्तामा छन्। टीकापुर नगरपालिका–८, वनगाउँका धर्मबहादुर चौधरीले प्रहरीले हारगुहार गर्दा पनि जान नदिएको बताए। उनले डेढ विगाहमा गहुँ खेती गरेका छन्। 

उनीहरुले सत्तीघाटको पुल तरेर श्रीलंका जानुपर्ने वाध्यता छ। सत्तीघाटको पुल तरेर श्रीलंका जाँदा बर्दियाको कुनैपनि बस्ती पर्दैन। तैपनि प्रहरीले माथिको निर्देशन भन्दै पुल तर्न नदिएको वडाध्यक्ष दीर्घ ठकुल्लाले जानकारी दिए। 

उनले सीमित व्यक्तिहरुलाई पहिचान खुल्ने कागजातका आधारमा श्रीलंकातर्फ जान दिन गरेको आग्रह प्रहरीले अस्विकार गरेको बताए। उनले पटक पटक गरेको आग्रह वेवास्ता गरिएको गुनासो गरे। 

कैलालीमा एकपछि अर्को गर्दै कोरोना संक्रमित भेटिएपछि बर्दिया प्रशासनले कुनैपनि व्यक्तिलाई प्रवेश गर्न नदिन निर्देशन दिएको छ। प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले नै कैलालीतर्फबाट मान्छे प्रवेश गर्न नदिन निर्देशन दिएको बताईएको छ।

टीकापुर नगरपालिकाका मेयर तपेन्द्रबहादुर रावलले मुख्यमन्त्री स्तरबाटै समन्वय हुन जरुरी रहेको बताउँछन्। उनले आफ्नो स्तरबाट भएको पहल कार्यान्वयन नभएको बताए। स्रोतका अनुसार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसँग यस बारेमा कुरा गरिएको थियो। उनले यस बारेमा कुनै पहल गर्न नसकेको स्रोतको भनाई छ।

प्रकाशित: ३ वैशाख २०७७ ०७:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App