सिन्धुली – सिन्धुलीमा खाद्यान्न र तरकारी आयातमा रोक लगाइएको छ। रौतहटमा एकजनामा कोरोना संक्रमण पुष्टि भएसँगै खाद्यान्न र तरकारी ढुवानी गर्दा कोरोनाको जोखिम हुने भन्दै यो कदम चालिएको हो। जिल्लामा कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि तराईका जिल्लाबाट फलफूल, माछामासु, अण्डा, कुखुरा र हरियो तरकारी ढुवानी सात दिनका लागि रोक लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले जानकारी दिए।
उनले जिल्लालाई आवश्यक पर्ने खाद्यान्न तत्कालका लागि स्टक भएको बताए। ‘मंगलबार राति १२ः०० बजेदेखि वैशाख ९ गते राति १२ः०० बजेसम्म बाहिरी जिल्लाबाट यस जिल्लाको प्रयोजनका लागि सामग्री ढुवानी बन्द गरिएको छ,’ जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी उपेन्द्र न्यौपानेले भने, ‘ढुवानी तथा ओसारपसार नगर्न जिल्लाका सबै खाद्यान्न व्यवसायीलाई समेत आग्रह गरेका छौं।’ कोरोनाको त्रासकै कारण जिल्लाभित्र सञ्चालित खाद्यान्न, फलफूल, दूध तथा तरकारीका पसलसमेत बिहान ६ः०० देखि ९ः०० बजेसम्म दिनको एकपटक मात्रै सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ।
विश्वभर फैलिएको कोरोना भाइरस पछिल्लो समय नेपालका विभिन्न स्थानमा देखिन थालेपछि त्यसबाट सिन्धुलीका स्थानीय त्रसित बनेका छन्। उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष अमरेशचन्द्र बैदारले जिल्लामा तत्कालका लागि खाद्यान्न स्टक भएकाले एक साता बन्द गर्दैमा समस्या नपर्ने बताए। उनले सामाजिक सञ्जालमार्फत ढुवानी रोक्न सुझाव मागेका थिए। अधिकांशले बन्द गर्नुपर्ने सुझाएपछि तत्कालै जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठक बसी तराईसहित बाहिरी जिल्लाबाट आयात बन्द गरिएको हो।
प्रकाशित: ३ वैशाख २०७७ ०६:३२ बुधबार